नेपाल-अस्ट्रेलिया सिधा हवाइसेवा जोड्ने पहल गरिरहेका छौं-लक्की शेर्पा

स्ट्रेलिया तथा न्युजिल्याण्डका लागि नेपालका राजदुत लक्की शेर्पाले कार्यभार सम्हालेको  शुक्रबार एक वर्ष पूरा भएको छ ।  गत वर्ष जुन ९ मा राजधानी क्यानबेरा आएकी राजदूत शेर्पाले अस्ट्रेलियन तथा नेपाली समाजको तर्फबाट सबै राज्यमा हार्दिकता पाइन । अस्ट्रेलियाको तास्मनिया बाहेक न्यू साउथ वेल्स , भिक्टोरिया, दक्षिण अस्ट्रेलिया,  पश्चिम अस्ट्रेलिया, कुइन्स्ल्यान्ड र उत्तरी राज्य तथा न्यूजिल्याण्डको भ्रमण गरेर त्यहाका अस्ट्रेलियन अधिकारीहरु तथा नेपाली समुदायसँग गाढा सम्बन्ध बनाएकी उनले आफ्नो चार वर्षे कार्यकालको पहिलो वर्ष कसरी सदुपयोग गरिन ? अनलाइनखबर अस्ट्रेलिया संस्करणले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत छ :

 

तपाई राजदूत भएर आएको एक वर्षलार्इ फर्केर हेर्दा कसरी मूल्यांकन गर्नुहुन्छ ?

नेपाल सरकारको निर्णय बमोजिम अष्ट्रेलियास्थित नेपाली दूतावासको नेतृत्व सम्हाल्न म जुन ९ तारिख २०१७ मा अष्ट्रेलिया आइपुगे । सर्बप्रथमत यहाँ रहेका नेपाली समुदाय र दूतावासका साथीहरुसँग विद्यमान समस्या र निराकरणका उपाय बारेमा बिचार बिमर्श गरियो ।

बिभिन्न प्राबिधिक कारणले यहाँ टेलिफोन सम्पर्कको समस्या लगायत दूतावासलाई चुस्तदुरुस्त बनाउने र सेवाग्राहिलाई सेवाप्रदान गर्ने  कार्यमा हामीले सामुहिक पहल र प्रयत्नबाट सफलताको साथ ब्यबस्थापन गर्यौ । अस्ट्रेलियामा नेपालीहरुको बढ्दो जनसंख्या र समस्याको प्रकृतिलाई मध्यनजर गर्दै सार्वजनिक बिदाको दिनमासमेत अत्यावश्यकीय कार्यमा सेवाग्राहीलाई सेवाप्रदान गर्ने कार्य गरेका छौ ।

अस्ट्रेलियाका गभर्नर जेनेरल सर पिटर कोस्क्रोभसँग २७ जुन २०१७ मा ओहोदाको प्रमाणपत्र पेश गरे पश्चात अष्ट्रेलिया र नेपाल बिचको दुईदेशिय सम्बन्धलाई मजबुत बनाउन दुईपक्षीय परामर्श संयन्त  (Bilateral consultancy mechanism BCM)को निर्माण ग¥याैं । जुन दुई देश बीचको कुटतीतिक, आर्थिक लगायत बहुआयामिक बिषयमा महत्वपूर्ण भूमिका रहन्छ ।  यो संयन्त्र निर्माण गर्न नेपालका  परराष्ट्र सचिब शंकर दास बैरागी र कमन्वेल्थ अष्ट्रेलियाका  सहसचिब ग्यारी क्विन्ल्याण्ड  बिच १४ जुलाई २०१७ मा  हस्ताक्षर समेत भएको छ ।

त्यस्तै  हाम्रो दूतावासकै इतिहासमा सबै राज्यका अवैतनिक महाबाणिज्यदूतहरुलार्इ क्यानबेरा निम्तो गरी एकदिने परामर्श बैठक गरियो । उक्त बैठकमा यहाँ रहेका चुनौती र अबसरका बारेमा घनिभुत छलफल गरियो । भूकम्प पश्चात हुन नसकेको राष्ट्रियता र राष्ट्रिय गौरवसँग प्रत्यक्ष सरोकार राख्ने ‘नेशनल डे’ पहिलो पटक बिभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधिहरु , अस्ट्रेलियाको पररास्ट्र तथा ब्यापार बिभाग (डिफाट) र नेपाली समुदायका लगभग ३०० जना प्रतिनिधिहरुको उपस्थितिमा सफल रुपमा मनाउने कार्य भयो । सबैभन्दा महत्वपूर्ण कुरो त हाम्रा नेपाली कुटनीतिक नियोग अहिलेसम्म भाडामै रहेको अवस्थामा नेशनल क्यापिटल अथोरिटीसँग ओमाली जस्तो अत्यन्त महत्वपूर्ण स्थानमा सुलभ मूल्यमा ६,१९८ बर्गमिटर (लगभग १३ रोपनी) जग्गा खरिद गर्ने कार्य सम्पन्न भयो साथै निर्माणको लागि प्रकृया समेत् अगाडि बढेको छ ।

पर्यटन प्रर्बधनको लागि साउथ अष्ट्रेलिया, भिक्टोरिया, पर्थ, डार्बिन, एनएसड्ब्लु(सिड्नी), अकल्याण्ड(न्युजिल्याण्ड), क्यान्बेरा लगायत स्थानमा दुताबास र नेपाली समुदाय मिलेर काम गरेका छौ । हालसम्म क्यान्बेरा, भिक्टोरिया र साउथ अष्ट्रेलियाका  साथै न्युजिल्याण्डको वेलिङ्टनमा औपचारिक भ्रमण सम्पन गरी दुईदेशीय हितको साथै स्थानीयस्तरमा रहेका नेपालीहरुको बारेमा समेत छलफल भएको थियो । भिक्टोरियाका  गभर्नर लिण्डा डेसाउसँग त्यहाँको औपचारिक भ्रमणका बेला महत्वोपूर्ण छलफल भयो उक्त भेटमा  भिक्टोरियाका लागि नेपालका अनरेरी कन्सुलर जेनेरल चन्द्र योन्जन पनि हुनुहुन्थ्यो ।

यहाँका  परराष्ट्रमन्त्री जुली विश्वपसँग विद्यार्थी भिसा र अन्य भिसा प्रकृया सरल, सहज गराउनको साथै भिसा नेपालबाटै जारी गराउनको लागि सुझाव दिने कार्यभयो भने अष्ट्रेलियामा नेपालीको बढदो जनसंख्या र पर्यटनलाई मध्यनजर राख्दै दुई देशबिच सिधा हवाई उडानको लागि अनुरोध प्रस्ताव गरियो साथै अस्ट्रेलियामा नेपालीहरुको अबसर र चुनौतिकोबारेमा पनि छलफल हुनको साथै २०७२ सालको बिनासकारी भुकम्पको समयमा राहत सहयोगको लागि धन्यवाद दिइयो । त्यसैगरी इन्टरनेशनल डेपलपमेन्ट मिनिष्टर कण्सेटा फेराभान्टी र नेपालका तत्कालीन उर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग भेटको शिलशिलामा उर्जा, हवाई, पर्यटनको बिकाशको साथै सहयोग अभिब्रिद्धिको बिषयमा छलफल भएको थियो ।  नेपाली कार्यक्रम, चाडबाड, खेलकुद र साँस्कृतिक कार्यक्रमले सामाजिक सद्भाव, आपसी मित्रता र नेपाल पर्बधनमा उलेख्य भूमिका खेल्ने हुँदा यसलाई प्राथमिकतामा राखेर अगाडि बढेको कुरा त जगजाहेरै छ ।  नेपालको  शिक्षा, उर्जा र पर्यटन क्षेत्र लगाएत अन्य उच्च स्तरिय टोलिको भ्रमण सार्थक र परिणाममुखि बनाउन दूतावासको भूमिका रह्यो ।

न्युजिल्याण्डका सम्माननीय गभर्नर जेनेरल डेम पेस्टी रेड्डीसँग ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा नेपाल र न्युजिल्याण्ड बिच द्धिपक्षीय हितको बिषयमा घनिभुत छलफल भएको थियो भने न्युजिल्याण्डको  परराष्ट्र मन्तालयका उच्च पदाधिकारीसँग द्धिपक्षीय बिषयमा एकदिने कार्यक्रम सम्पन भएको थियो । हालै मात्र नेपाल र अष्ट्रेलिया बिच अस्ट्रेलियाको संसद भवनमा आयोजित एक समारोहका बीच अस्ट्रेलियाको सिनेट तथा प्रतिनिधिसभाका ३ दर्जन सांसदहरु सम्मिलित संसदीय समूह गठन भएको छ  । जुन  दुई देश बिचको सम्बन्ध बिस्तारमा कोषेढुङा साबित हुनेछ । सो कार्यक्रममा नेपालका सम्माननीय सभामुख कृष्णबहादुर महराको शुभकामना पत्र पनि प्राप्त भएको  थियो ।

नेपालले पचासौ पाहुना राष्ट्रकोरुपमा यहाको काउरामा भएको जापानिज गार्डनमा नेपालको राष्ट्रिय फूल लालीगुराँस रोप्ने कार्य स्थानीय काउरा काउन्सिलका मेयर र अन्य बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको थियो । नेपाली दूतावास र एन.एस्.ड्ब्लु. राज्य अन्तर्गतको  काउरा काउन्सिल बिच काउरा महोत्सवकै इतिहासमा कहिल्यै नमेटिने गरी एतिहासिक कार्यक्रम भएको थियो जसमा शहरभरी नेपाल झल्कने पोस्टर महिनौ राखिएको थियो भने हजारौको संख्यामा झाँकी प्रस्तुत हुनको साथैनेपाली र अष्ट्रलियनकलाकारहरुको मौलिक सस्कृति झल्काउने बेजोड प्रस्तुतिले नेपालको पर्यटन पर्बधनमा उल्लेखनिय भूमिका रहेको थियो ।

भिक्टोरिया, क्यान्बेराका प्रसिद्द विश्व बिद्यालयका उच्च पदस्त ब्यक्तित्वहरुसंग बहुआयमिक बिषयमा बिचार  बिमर्श गर्नुका साथै यसलाई थप निरन्तरता दिने सोच समेत रहेको छ । दुताबासलाई प्राप्त छोटो सुचनाको बाबजुद पनि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व मन्त्रिपरिषदका अध्यक्ष खिलारज रेग्मीको अस्ट्रेलिया भ्रमणको आतिथ्यता सत्कार तथा समन्वयको  भूमिका रह्यो  ।

समय तालिका अनुशार  हुने कार्यक्रम बुद्ध जयन्ती, नारी दिबस, नेपालीहरुको चाडबाड, सगरमाथा दिबस, राष्ट्रिय कार्यक्रमहरुलाई अत्यन्त प्रभावकारी रुपमा मनाउने तथा त्यहा दुताबासको सहभागिता हुने गरेको छ ताकि यस्ता कार्यक्रमले नेपालको प्रर्बधन गर्दै नेपाली पहिचान विश्व माझ झल्काउन सकियोस ।  यस लगायत अस्ट्रेलियामा भएका बिभिन्न देशकाराजदुतहरु संग  भेटघाट र छलफलमा समेत तीब्रता दिनको साथै यसलाई निरन्तरता दिने कुरा भएको छ  ।

तपाई राजदूतका रुपमा जिम्मेवारी प्राप्त गरेपछि एक बर्षमा के कसरि र के कस्ता काम गर्छु भन्ने योजनामा हुनुहुन्थ्यो र यो एक बर्षमा ती कति पूरा भए कति भएनन् ?

यसरी निश्चित समयसिमा भन्दापनि समग्रतामा कसरी काम गर्न सकिन्छ र बढीभन्दा बढी दुईदेशीय सम्बन्धलाई कसरी प्रगाढ बनाउन सकिन्छ र यो सम्बन्ध जनस्तरसम्म कसरी लैजान सकिन्छ भन्नेमा केन्द्रित रह्यो । कतिपय कामको अनुभूति अबिलम्ब गर्न सकिन्छ भने कतिपय दिर्घकालमा मात्र त्यसको प्रतिफल अनुभुत गर्न सकिन्छ । यसका पनि आफ्नै बिधि प्रकृया छन , त्यो समय आउनासाथ प्रष्ट हुनेछ ।  जसका लागि हाम्रो  दुताबास परिवार अहोरात्र खटिएको  छ  साथै  हरेक कन्सुलेट लगायत संयन्त्रहरुलाई चुस्त बनाउने कार्यहरु भइरहेको छ भने उहाँहरु पनि यो मिसन सफल पार्न लागि पर्नु भएको छ ।

नेपाल र अस्ट्रेलिया बीचको कुटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन राजदूतको भूमिका के-के हुन्छ र नेपाल सरकारले अझै उच्च तहबाट गर्नु पर्ने के के छ ?

दुई देश बिचको सम्बन्धलाई प्रगाढ बनाउन समन्वय, सुझबुझ, आपसी समझदारी लगायतका बिषय त छदैछ यसलाई परिणाममुखि बनाउन टिमवर्कको पनि जरुरत पर्दछ जो काबिल टिम नेपाली दुताबासमा छ भन्ने कुरा म गर्बका साथ राख्न चाहन्छु । सरकारीस्तरको बिषयमा भन्नुपर्दा सिमित स्रोत र साधनको बाबजुद पनि हामीले काम गरेका छौ । स्रोत र साधनमा हाम्रो पर्फर्मेन्सको आधारमा नेपाल सरकारले कुनै कमी हुन दिएको छैन ।  सम्बन्धित मन्त्रालयहरु  अत्यन्त सहयोगी रहेका छन । यसो हुँदाहुँदै पनि अष्ट्रेलिया देश मात्र नभएर सिङ्गो  महादेश पनि हो नेपाल अष्ट्रेलिया, न्युजिल्याण्डको कुटनितिक सम्बन्ध लामो छ । यहाँ नेपालीको बसाइ सराइ बढ्दो क्रममा छ ।  यस क्रममा प्रर्यटन पर्बधनको लागि अझ हामीले प्रभावकारी भूमिका खेल्न सकिन्छ भन्ने लागेको छ  र नेपाल सरकारको पनि २०२० मा २० लाख पर्यटक  भित्र्याउने योजना छ । त्यो संभव र आवश्यक पनि छ भने नेपालमा लगानीमैत्री कानुन बनाएर अन्तरास्ट्रिय लगानी भित्र्याउनेतर्फ हामी अग्रसर हुनु पर्दछ । यस कार्यमा हामीले बिलम्ब गर्न हुन्न । यसका लागि पनि होमवोर्क भइरहेको छ ।

नेपाल- अस्ट्रेलिया कुटनैतिकआर्थिक  तथा सास्कृतिक सम्बन्ध अझै बलियो बनाउन यहाँस्थित नेपाली समुदायको भूमिका के कस्तो हुन सक्छ ?

मैले यसभन्दा अगाडि पनि भन्दै आएको छु अष्ट्रेलियामा नेपालीको अवस्था, स्थिति बिशिष्ट किसिमको छ । म राजदुत हुने निर्क्यौल हुने ताका पनि यहाँबाट नेपालीहरुले कसरी नेपाल र नेपालीको हितमा अधिकतम काम गर्न सकिन्छ भनेर चासो र सरोकार लिने गर्नुहुन्थ्यो । यहाँ नेपालीहरुको साझा संगठन एन.आर.एन.ए. पनि सशक्त छ साथै अन्य संघसंस्था पनि राम्रो स्थितिमा रहेको पाए ।  यहाँका नेपाली  संघसंस्थाले राम्रो प्रभाव पनि पार्न सक्छन दुईदेशिय हितको बारेमा,  पर्यटन पर्बधन, लगानी भित्र्याउने, सामुहिक लगानी गर्ने जस्ता कार्यहरु गरी रहेका पनि छन भने नेपाली उत्पादनलाई बजारिकरण गर्नपनि यहाको नेपाली समाजले  गेम चेन्जरको रुपमा भूमिका खेल्न सक्छ ।

साँस्कृतिकसम्बन्धको बारेमा त नेपाल बिबिधतायुक्त मुलुक हो भने अष्ट्रलियामा  बहुसस्कृतिकतालाई राम्ररी ब्यबस्थापन गरिएको पाईन्छ । अस्ट्रेलियामा नेपालीहरुले चाडपर्ब,उत्सव, महोत्सबलाई नेपाली बिशिष्टता र मौलिकतासँग जोडेको पाईन्छ जो नेपाली पहिचानको सबल पक्ष हो । यस्ता कार्यको निरन्तरता दिदै नेपाली चिनारी प्रस्तुत गर्नुपर्दछ र भैरहेको पनि छ ।

राजदूत ज्युको कार्य सम्पादनका लागि यहाको नेपाली समुदायको सहयोग के कस्तो भएको छ ?

अष्ट्रेलियामा नेपालीको स्थिति बिशिष्ट किसिमको रहेकोमा कार्य सम्पादनमा पनि यहाँहरुले खेल्ने सहयोगी भूमिका अत्यन्त सह्रानीय छ । साथै वहाँहरुको भूमिका सामाजिक क्षेत्रमा पनि उल्लेखनिय रहेको छ यसर्थ यस कार्यलाई थप हौसला प्रदान गर्ने अभिप्रयाले ‘नेसनल डे’ को शुभअबसरमा उहाँहरुले नेपाली समुदायमा पुर्‍याउनु भएको योगदानको उच्च मुल्याँकन गर्दै नेपाली दुताबासले सम्मान गर्ने परम्पराको थालनी पनि गरिएको छ । दुताबासले आयोजना गरेका हरेक कार्यक्रमलाईनेपाली समुदायले सकृयताका साथ सफल पार्नु भएको छ ताकि नेपाल र नेपालीको मान प्रतिष्ठा एकापसमा जोडीएकोछ भन्ने हेतुले काम गर्नु भएको छ । यो नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो भन्ने मलाई लाग्दछ ।

अर्कोतर्फ नेपाली विद्यार्थीले झेल्दै आएको समस्यालाई न्युनिकरण गर्न सामाजिक ब्याबसायिक दायित्व अन्तर्गत कलेज र शैक्षिक परामर्शदाताहरुबिच पनि छलफल चलेको छ यसमा यससँग सम्बन्धित निकाय र साथीहरु पनि उत्साहित हुनुहुन्छ । आशा छ यसबाट निकट भबिष्यमै यसले राम्रो कामको थालनी हुनेछ ।

तपाईको दोश्रो बर्षका  योजना के के छन् ?

यसरी निश्चित समयसिमा भित्र राख्नु, बाध्नु भन्दापनि कार्यक्रम र सेवा प्रबाह गर्ने तौरतरिका, प्रणाली , यसबाट हुनसक्ने अल्पकालिन र दिर्घकालिन प्रतिफलका बिषयलाई केलाउदा झनै बेश हुन्छ भन्ने लाग्छ ।  हामीले सुरुवात गरेका छौ तर परिणाम आउन बाँकी रहेका कार्यहरुलाई निरन्तर पहलकदमी लिने छौ । नेपाल र अष्ट्रेलियाबिच बाणिज्य तथा ब्यापारको क्षेत्रमा कार्य गर्दै नेपालमा शान्ति र स्थायित्वका स्थापना भएका कारण लगानीका  संभावना र अबसर छन  भनेर  लगानिकर्ताहरुलाई आस्वस्त  तुल्याउने, नेपालमा लगानी मैत्री बाताबरण छ भनेर प्रत्याभुति दिलाउन पर्नेछ र नेपालको पर्यटन क्षेत्रमा बिकासकालागि पर्यटक आकर्षित गर्न नेपालको कृषि पर्यटन , पर्याबरणिय पर्यटन, साहसिक पर्यटन र खेल पर्यटनलाई पनि बिशेष जोड दिनेछौ । अर्को सालदेखि ‘सगरमाथा दिवस’न्युजिल्याण्डका हाई कमिस्नर, अष्ट्रेलियन सगरमाथा आरोहीहरु  पनि सहभागी गराएर मनाउने छौ भने यसलाई अष्ट्रेलियाको सबै स्टेट र न्युजिल्याण्डमा पनि मनाउने कार्यक्रम रहेको छ ।अष्ट्रेलियामा रहेका युनिभर्सिटिहरुमा शृंखलाबद्दरुपमा नेपाल सम्बन्धी जानकारीमुलक कार्यक्रमलाई निरन्तरता दिने सोच रहेको छ ।

अन्तमा , दूतावासले यहाको नेपाली समाजलाई सम्बोधन गर्नु पर्ने अन्य बिषय के के छन् ?

नेपाली विद्यार्थीले झेल्दै आएको समस्यालाई न्युनिकरण गर्न यससँग सम्बन्धित निकाय र साथीहरुसँग बसेर छलफल गरेर  निचोड निकाल्ने र कार्यन्वयन गर्ने, भिषा प्रकृया सरल सहज गर्न पहलकदमी लिने,  नेपालबाटै भिषा जारी गराउन बिशेष पहलकदमी लिने, नेपाली यात्रुको सुबिधा र पर्यटकको लागि नेपाल-अस्ट्रेलिया सिधा हवाई सेवा संचालनकालागि  पहललाई निरन्तरता दिने,  नेपालीहरुले गर्व गर्ने आफ्नो साझा सम्पत्ति नेपाल सरकारकै स्वामित्वको दूतावास भवन निर्माणका  लागि प्रकृया थालनी गर्ने रहेको छ। जसको लागि जग्गा खरिद समेत भैसकेको छ । समय, काल र परिस्थिती अनुसार गर्नुपर्ने कार्यलाई प्रथामिकिकरण गरेर यसलाई बढाउनु पर्ने बिषयलाई अगाडि बढाउदै लानेछौ।

नेपालबाट बर्षेनी १० हजारको संख्यामा बिद्यार्थीहरु आउने क्रम जारी छ . झन्डै त्यतिकै संख्यामा अबिभावकहरुको आगमन हुन्छ भने एक लाख भन्दा बढी संख्यामा यहाँ नेपाली स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आईरहेका छन । त्यसैगरी यहाँ सयौ  नेपाली  सामाजिक संघसंस्थाहरु अस्तित्वमा  रहेको पाइन्छ । भौगोलिक हिसाबले सिङ्गो महादेश भएको हुनाले सबै संघसंस्थाको निमन्त्रणामा चाहेर पनि म व्यक्तिगतरुपमा उपस्थित  हुन सकेको छैन ।  यस्तो अवस्थामा अन्यथा नलिईदिनको लागि पनि सबैमा अनुरोध गर्न चाहन्छु । हरेक जसो स्टेट्मा हाम्रो कन्सुलेट सेक्सन रहेको हुँदा त्यहाबाट  पनि समन्वय र सहकार्य गर्न सकिने ब्यहोरा पनि अबगत गराउन चाहन्छु ।

source:onlinekhabar