सभामुख र उपसभामुखमध्ये एकले तत्काल राजीनामा दिनुपर्छ : नेता बडू

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

 
‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो' शनिबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, 'त्यसैले तत्काल एक जनाले राजीनामा दिनुपर्छ, सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।’
 
उनले संविधानको मुलभूत अन्तर्वस्तु चलाउन नहुने धारणा राखे । उनले भने, ‘अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हामी स्वीकार गर्दैनौं, यो संविधानको मुलभूत विषयलाई चलाउन थाल्यौं भने अस्थिरता निम्तिन्छ ।’
 
प्रतिनिधिसभा सञ्चालन नियमावली दलहरुको बीचमा सहमति भएर नै पारित भएको उनको भनाइ थियो । संविधानको अहिले गलत व्याख्या हुन थालेकोमा चिन्ता व्यक्त नेता बडूले सरकारले संविधान कार्यान्वयनका लागि र अपव्याख्या हुन नदिन चाँडो कानुन ल्याउनुपर्ने बताए ।
source:kantipur