प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्रीले गरे बेइजिङमा छलफल

बेइजिङ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको बारेमा बेइजिङस्थित नेपाली दूतावासमा छलफल गरेका छन् । मंगोलिया भ्रमणका क्रममा बेइजिङ आइपुगेका मन्त्री ज्ञवालीले आइतबार दिउँसो चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग छलफल गरेका हुन् ।

 

प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका बारेमा मन्त्री ज्ञवालीले राजदूतबाट जानकारी लिएका छन्। उनले दूतावासलाई आवश्यक निर्देशन पनि दिएका छन्।
 
मन्त्री ज्ञवालीले आइतबार दिउँसो चीन मैत्री संघका अध्यक्ष चङ चमिनसँग पनि आपसी छलफल गरेका छन्। चङ चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य पनि हुन्। मन्त्री ज्ञवालीले चङसँग आर्थिक सहयोग तथा सांस्कृतिक सम्बन्धमा छलफल गरेको दूतावासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेले कान्तिपुरलाई बताए। छलफलका क्रममा मन्त्री ज्ञवालीले नेपाल चीन सम्बन्धमा पाँच प्राथमिकताका क्षेत्रबारे चिनियाँ नेता चङलाई अवगत गराएका छन्। मन्त्री ज्ञवालीले बताएका पाँच क्षेत्रमा कनेक्टिभिटी, उर्जा, पर्यटन, कृषि विकास र विज्ञान तथा प्रविधि र सञ्चार रहेका छन्।
 
नेपालले सधैँ एक चीनको नीतिलाई अवलम्बन गरेको र नेपालको भूमि कहिल्यै पनि चीन विरुद्धमा प्रयोग हुन नदिने प्रतिवद्धता पनि उनले व्यक्त गरे। आइतबार बिहान बेइजिङ आइपुगेका मन्त्री ज्ञवाली आइतबार बेलुकै मंगोलिया प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलमा बेइजिङबाट नेपाली दूतावासका मिनिष्टर सुशील लम्साल पनि मंगोलिया गएका छन्।
 
नेपाली प्रतिनिधिमण्डलमा राजदूत पौड्याल पनि जाने कुरा भए पनि प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीले गर्दा उनी गएनन्। मंगोलियाका लागि गैरआवासीय राजदूत पनि लीलामणि पौड्याल नै हुन्।
source:ekantipur