स्वेच्छाचारी नेतृत्वबाट कांग्रेसलाई मुक्ती दिनुपर्छ: केसी

मोरङ — कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्वेच्छाचारी नेतृत्वबाट पार्टीलाई मुक्ति दिनुपर्ने बताएका छन् । 

प्रेस यूनियन मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गरी पार्टी नेतृत्व यथास्थितिवादी, स्वेच्छाचारी र आसेपासेको घेराबन्दीमा परेर पार्टीलाई अहिलेको स्थितिमा पुर्‍याएको बताएका हुन्।
 
‘महासमिति सदस्यको भेलाले तत्काल मुलुकको विद्यमान संरचना अनुसार पार्टीको विधान संशोधन गरिनुपर्छ,’ उनले भने, ‘विधान संशोधनपछि पार्टीभित्र सबैलाई मिलाएर अघि बढ्न सक्ने नेतृत्व चयनका लागि महाधिवेशनमा जानुको विकल्प छैन।’
 
पार्टीभित्र सुधारवादी अभियान जारी रहेको र त्यसले परिणामसमेत देखाइरहेकोले हतास हुनुपर्ने अवस्था नभएको उनले सुनाए। ‘सुधारवादी अभियानले वडादेखि केन्द्रसम्म मजबुत संगठन निर्माण गरेर ५ वर्षपछि मुलुकको सबभन्दा ठूलो पार्टीमा परिणत गर्छ,’ उनले भने, ‘कांग्रेसले केन्द्र र प्रदेशमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै स्थानीय तहमा आफ्नो प्रभाव कायम गर्ने गरी जिम्मेवारी बहन गर्छ।’
 
केसीले अहिलेको सरकार नियन्त्रणमुखी भएर अघि बढिरहेको आरोप लगाए। ‘नेपाल टेलिभिजनमा सञ्चारमन्त्रीलाई प्रश्न गर्दा कार्यक्रम नै बन्द गराउनु निरंकुशता होइन?,’ उनले भने, ‘प्रधानमन्त्रीले अधिकार र बजेट आफैँमा केन्द्रित गराउनु अधिनायकवादको द्योतक हो।’
 
अहिलेको सरकार दुई तिहाईको उन्मादमा दम्भ देखाएर अघि बढिरहेको तर दम्भ नै देखाउने हो भने साढे ३३ किलो सुन काण्डको जरैसम्म पुगेर देखाउन उनले सरकारलाई चुनौती दिए।
 
सहमतिको दस्तावेज अहिलेको संविधान कार्यान्वयनकै चरणमा भएको अवस्थामा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी राष्ट्रपतिको विषय उठाउनु धोका भएको केसीले सुनाए।
 
कार्यकारी राष्ट्रपतिको विषय उठाउनु, प्रधानमन्त्रीमा अधिकार र बजेट केन्द्रित गर्नाले अहिलेको सरकारले मुलुकलाई निरंकुशतातर्फ लग्ने षडयन्त्र गरिरहेको उनको भनाई थियो।
source:ekantipur