पुरातत्वको सहमतिमा बागदरबार भत्काइँदै, यस्तो बन्नेछ नयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहँदै आएको सुन्धारास्थित बागदरबार भत्काइने भएको छ । २०७२ को भूकम्पले क्षति पुगेका उक्त भवन गत वर्षबाट नै महानगरपालिकाले भत्काउने बताउँदै आएको थियो । 

 

यसअघि पुरातत्व विभागले पुरातात्विक संरचना भएकाले बागदरबार भत्काउन नमिल्ने निष्कर्ष निकालेकोमा पछिल्लो समय विभाग र महानगरपालिकाबीच बागदरबार भत्काउने सहमति भएको बताइएको छ । सहमतिसँगै कामनपाले बागदरबार भत्काउने तयारी थालेको बताएको छ ।

 

“पहिलाको टेन्डर रद्द गरी नयाँ टेन्डर खोल्ने तयारी गरिरहेका छौं,” महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, “बागदरबार भत्काउने र निर्माण गर्ने ठेक्का एउटै कम्पनीले पाउनेछ, यसो गर्दा चाँडै कामसक्ने दबाब ठेकेदारलाई रहन्छ ।”

 
 

 

पुरातत्व विभागले भने ऐतिहासिक र पुरातात्विक संरचना भएकाले भूकम्पले क्षति पुर्याए पनि बागदरबार नभत्काई रेट्रोफिटिङ गर्न निर्देशन दिएको थियो । तर, हाल आएर पुरातत्व विभाग पनि उक्त दरबार भत्काउन सहमत भएकाले अब बन्ने भवनको डिजाइनसमेत महानगरपालिकाले तयार गरिसकेको छ ।

 

महानगरको कार्यसम्पादनका लागि आफ्नै व्यवस्थित भवन बनाउने उद्देश्यका साथ बागदरबार भत्काउने तयारी रहेको काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको भनाइ छ । मेयर शाक्यको मतमा असन्तुष्टि राख्दै पुरातत्वविद् तथा सम्पदा संरक्षकहरुले  ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यो दरबार भत्काएर मेयर शाक्यले व्यापारिक प्रयोजनको उद्देश्य हेरेर सोही स्थानमा व्यापारिक भवन निर्माण गर्न लागेको बताउँदै आएका छन् ।

 

पहिला भत्काउन नहुने र पछि आएर भत्काउन दिने सहमतिमा विभागको दोहोरो चरित्र देखिएको भन्दै पुरातत्वविद् तथा सम्पदा संरक्षकहरुले विभागसमेतको आलोचना गर्दै आएका छन् ।

 

“ऐतिहासिक र पुरातात्विक महत्व बोकेका संरचना जोगाउने दायित्व विभागको हो,” विभागका सूचना अधिकारी रामबहादुर कुँवरले बाह्रखरीसँग भने, “तर विशेष परिस्थिति आएकाले बागदरबार भत्काउने महानगरको मागप्रति विभाग सहमत भएको हो ।”

 

काठमाडौं महानगरपालिकाले गतवर्ष कात्तिक १४ गते पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ बन्ने भवनको डिजाइन सार्वजनिक गरेको थियो । सोही कार्यक्रममा मेयर शाक्यले उक्त भवन बागदरबार नभएर हरिहरभवन भएको जिकिर गरेका थिए । 

 

पुरातत्वविद् र सम्पदा संरक्षकहरुले भने हरि दरबारको भ्रम छरेर मेयर शाक्यले उक्त ऐतिहासिक दरबार मास्न खोजेको आक्रोश व्यक्त गर्दै आएका छन् । महानगरपालिकाले डिजाइन तयार गरी न्यूनतम ५ करोड २८ लाखमा दरबार भत्काउने टेन्डर खोल्ने बताउँदै आएको थियो । 

 

हाल आएर दरबार भत्काउने र निर्माण गर्ने जिम्मा एउटै निर्माण कम्पनीलाई दिने तयारी भइरहेको प्रवक्ता कार्कीले बताए ।  भूकम्पले आंशिक क्षति पुर्याएको उक्त दरबार पुरातत्व विभागले भत्काउन रोक्दा कुनै पनि परिस्थितिमा हुनसक्ने सम्भावित क्षतिको जिम्मा पुरातत्व विभागले लिनुपर्ने अवस्था देखिएकाले दरबार भत्काउन विभाग पनि सहमत भएको विभागका एक सिनियर डिभिजन इन्जिनियरले बताए ।

 

विभागबाट खटिएका इन्जिनियर तथा संरचना विज्ञले रेट्रोफिटिङ गरेर काम नचल्ने अवस्था देखिएकाले दरबार भत्काउने निर्णयमा पुगेको प्रवक्ता कार्कीले बताए । यसका साथै शताब्दी पुराना ऐतिहासिक संरचनामात्र विभागको क्षेत्राधिकारमा पर्ने र बागदरबार जुद्धसमशेरले वि.सं. १९९३ निर्माण गरेकाले बागदरबार विभागको क्षेत्राधिकारभित्र नपर्ने महानगरपालिका स्रोतको अडान छ ।

 

“वि.सं. १९९३ सालमा निर्माण भएकाले वागदरबार भत्काउने विषय पुरातत्व विभागको क्षेत्राधिकारभित्र पर्दैन,” महानगरपालिकाका सहप्रवक्ता नमराज ढकालले बताए । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि सेवाग्राहीको चाप बढेकाले हाल काठमाडौं महानगरपालिका केही शाखा र महाशाखाले बबरमहलस्थित जिल्ला समन्वय समितिको भवनबाट सेवा दिँदै आएको महानगरको भनाइ छ ।

 

मेयर, उपमेयरको सचिवालय, प्रवक्ता र सहप्रवक्ताको कार्यकक्षसहित वित्त र अन्य केही शाखाहरु सुन्धारामै रहेको जेडिए कम्प्लेक्समा २०७२ माघदेखि बस्दै आएको छ । आफ्नै व्यवस्थित भवन नहुँदा उक्त निजी कम्लेक्सलाई वार्षिक करिब ८० लाख रुपैयाँ भाडा तिर्दै आएको छ । 

source:baahrakhari