श्रीपेच र राजा वीरेन्द्रको घर सर्वसाधारणले हेर्न पाउने

गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याउन लागिएको हो।

दुई साताअघि अधिकारीले नारायणहिटी दरबार पुगेर यसका लागि ३० दिनभित्रै गुरुयोजना बनाएर श्रीपेच प्रदर्शनीमा ल्याउने बताएका थिए। लगत्तै सचिवस्तरीय निर्णयबाट श्रीपेचसम्बन्धी प्रतिवेदन तयार पार्न पाँच सदस्यीय कार्यदल गठन भएको छ।

दरबार स्रोतका अनुसार जेठ २५ गते भएको उक्त निर्णयबारे २८ गते पत्राचार भएपछि प्रतिवेदन तयार पारिँदै छ। प्रतिवेदन तयार गर्न कार्यदललाई सात दिनको समयसीमा दिइएको थियो। ‘हामी प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिइरहेका छौं,’ नारायणहिटी दरबार संग्रहालयका सदस्यसचिव रोहित ढुंगानाले भने। 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित कार्यदलमा संस्कृतिविदद्वय प्राध्यापक डाक्टर जगमान गुरुङ, मदन रिमाल, संस्कृति मन्त्रालयका दुर्गा भुर्तेल र नारायणहिटी दरबार संग्रहालयका सदस्यसचिव ढुंगाना छन्। ‘सात दिनभित्र नारायणहिटी संग्रहालयमा रहेको श्रीपेच मर्मत र प्रदर्शनीमा राख्ने कार्ययोजना पेश गर्न निर्देशनपछि हामी सोही बमोजिम कार्यहरू अगाडि बढाइरहेका छौं,’ ढुंगानाले भने।

२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापनासँगै राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेपछि श्रीपेच दरबारभित्रकै सालोन रुपमा राखिएको थियो। ढुंगानाका अनुसार नेपालका राजाले प्रयोग गरेको श्रीपेच भन्दै बाहिरी मुलुकमा नक्कली श्रीपेच प्रदर्शनीमा राखिन थालिएकाले अब श्रीपेच अवलोकन जरुरी भइसकेको छ। ‘नेपालको श्रीपेच नेपालमै छ भन्ने प्रमाण पेश गर्न पनि श्रीपेच प्रदर्शनमा ल्याउन आवश्यक भइसकेको छ,’ ढुंगानाले भने।  

ढुंगानाका अनुसार २०७१ सालमा संस्कृति मन्त्रालयमा तत्कालीन सचिव प्रेमकुमार राई हुँदा जनताका निम्ति श्रीपेच खुला गर्ने निर्णय भएको थियो। केही समयपछि संस्कृति मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयलाई पत्राचार पनि गर्यो। जब पत्राचार भयो, त्यहीबेला महाभूकम्प आयो।

भूकम्पबाट श्रीपेच सुरक्षितसाथ राखिएको इलेक्ट्रोनिक्स उपकरण, सिसिटिभीलगायत उपकरणमा क्षति पुगेको थियो। त्यो मर्मत भइसकेको ढुंगाना बताउँछन्।

ढुंगानाका अनुसार श्रीपेच बन्दा एक करोड ३५ लाख रुपैयाँजति खर्च भएको छ। उनका अनुसार श्रीपेच राजा वीरेन्द्रको पालामा परिमार्जनसहित बनेको थियो।

२०६५ साल जेठ २९ गते राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्ने बेलामा श्रीपेच तत्कालीन सरकारको जिम्मा लगाएका थिए। श्रीपेच जिम्मा लगाउँदा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सुरक्षा सचिवहरू उमेश मैनाली, गोविन्द कुसुम र वामन न्यौपाने साक्षी थिए।

सुन, मोति, हिरा, पन्ना, चाँदीजस्ता बहुमूल्य धातुले बनेको सो श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाँख राखिएको छ। २०२८ सालमा राजा महेन्द्रको निधनपछि वीरेन्द्रको राज्यारोहरण भयो। तर, वीरेन्द्रको टाउकोमा श्रीपेच अँटेन। तैपनि तत्कालका लागि काम चलाइयो।

दरबारसँग निकट रहेका बानेश्वरका प्रेमलाल श्रेष्ठले दुई तीनपटक गरेर परिमार्जनसहित श्रीपेच बनाएका थिए। २०३१  फागुन १२ गते राजा वीरेन्द्रले शुभ राज्यभिषेक गरेको दिन नयाँ श्रीपेच पहिरिएका थिए।

उनका अनुसार श्रीपेचसँगै अब स्व. राजा वीरेन्द्रको निवास श्री सदन पनि प्रदर्शनीमा ल्याउन लागिएको छ। दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि श्री सदनमा ताला लागेको थियो। श्री सदनमा राजा–रानीले प्रयोग गरेका सामग्रीहरू छन्।

नारायणहिटी संग्रहालयबाट महेन्द्र मञ्जिल हुँदै श्री सदन पुगिन्छ। श्री सदन जाने बाटो बनाउन (महेन्द्र मञ्जिल)सँगै रहेको पर्खाल भत्काउन थालिएको छ।

नेपालको राजसंस्थासँग जोडिएका ऐतिहासिक पुरातात्विक वस्तु थोत्रिएर बसेको यहाँका कर्मचारी बताउँछन्। यो नारायणहिटी दरबार संग्रहालयकै क्षेत्रभित्र पर्छ। तर लामो समयसम्म सर्वसाधारणका लागि खुला गरिएको छैन।

यहाँभित्र छिर्दा तत्कालीन राजपरिवारको जीवनशैली बुझ्न सकिन्छ। सदनको निर्माण २०२३ सालमा भएको हो। उमेर पुगेका युवराज र राजा एउटै घरमा बस्नु हुन्न भन्ने राजपरम्पराअनुसार वीरेन्द्रका लागि श्री सदन बनेको थियो। स्व. मोतीरत्न स्थापितको नेतृत्वमा श्री सदन निर्माण भएको हो।

नेपाली शैलीको यो भवनमा टायल, काठ, सिमेन्ट, देवीदेवताका मूर्ति कुँदिएका ढोकाहरू छन्। सात रोपनी पाँच आना जग्गामध्ये ७ आना दुई पैसा क्षेत्रफलमा यो भवन ठडिएको छ। पूर्वतर्फ दक्षिण फर्किएको तीन तलाको यो घरमा १६ कोठा छन्।  

source:setopati