नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न चीन साथमा छ : राष्ट्रपति सी

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि चीन सधै साथमा रहने बताएका छन् । 

प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रतिनिधि मण्डलबीच ग्रेट हल अफ पिपल्समा भएको बार्ता । तस्बिर : सुधीर शर्मा । कान्तिपुर ।

प्रधानमन्त्री केपी ओलीसंग बुधबार दिउँसो भएको भेटवार्ताका क्रममा उनले उक्त कुरा बताएका हुन्।
 
ग्रेट हल अफ दी पिपुलमा भएको दुई देशको प्रतिनिधि मण्डलसहितको बार्तामा राष्ट्रपति सीले नेपालले एक चीन नीति अख्तियार गरिहरेकोमा र नेपाली भूमिबाट कुनैपनि चीन विरोधी गतिविधि हुन नदिएकोमा आभार प्रकट गरे।
 
उनले नेपालले नयाँ संविधान पाएको र निर्वाचनमार्फत नयाँ समाजिक व्यवस्था अवलम्बन गरेर स्थायित्वतिर अघि बढेकोमा समेत खुशी प्रकट गरे।
 
बार्ता करीब ५५ मिनेट भएको थियो भने यसैबीच प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एकल बार्ता पनि भएको थियो। बार्तामा दुई पक्षीय हित र सहयोग अदानप्रदानका बिषय छलफल भएको बताइएको छ।
 
राष्ट्रपति सीले नेपाललाई सहयोग गर्न र नेपालको विकासमा साझेदार बन्न आफु तयार रहेको पनि बताए।
 
प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई पुन: पाँच वर्षको लागि निर्वाचित भएकोमा बधाई दिएका थिए।
 
प्रधानमन्त्री ओली छ दिने चीन भ्रमणमा छन् । उनी मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका हुन् ।
source:ekantipur