‘डोकोमा बिरामी बोक्नुपर्ने जनतालाई किन चाहियो ७ तले टावर?’

तुलसीपुरको खानेपानी नजिक मंगलबार बिहान चिया पिइरहेका मिग्मा चौधरीले पत्रिका पल्टाउँदै साथीहरूसँग सोधे– तुलसीपुरमा ४० करोड टावर बन्ने भयो रे। किन बनाउन लाग्या रैछ?

सँगै रहेका कृष्ण खड्काले हाँस्दै जवाफ दिए–तुलसीपुरलाई स्मार्ट र नेपालकै नमूना सहर बनाउँछु भन्ने मेयरले फेरि उटपट्याङ कुरा गरेछन्।’ 

उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले केहीदिनअघि सात तले टावर बनाउने निर्णय सार्वजनिक गरेपछि अहिले यो चियाचर्चाको विषय बनेको छ। तुलसीपुरवासीले यसको औचित्यमाथि प्रश्न उठाएका छन्। शिक्षा, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा नगरवासीका समस्या ज्यूँकात्यूँ राखेर उपमहानगर टावर बनाउन लागेको उनीहरूको बुझाई छ। 

महिला स्वास्थ्य कार्यकर्ता देवा बस्नेतले सुत्केरी हुन नेपालगञ्ज वा बुटवल जानुपरिरहेकाले टावरभन्दा पहिला तुलसीपुरमा स्तरीय अस्पताल आवश्यक बताइन्। 

‘सामान्य बिरामी पनि बाहिर रेफर गर्नुपर्ने बाध्यता छ। टाढा लैजादै गर्दा कतिपयको बाटोमै मृत्यु हुन्छ। टावर बनाउने पैसाले बरू राम्रो अस्पताल बनाए हामी सबैले यहीँ उपचार पाउँछौं,’ बस्नेतले भनिन्। 

तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले टावर निर्माणभन्दा तत्काल आमजनताको दैनिकीसँग जोडिएका कुरामा बढी ध्यान दिनुपर्ने बताए। 

‘भएका अस्पतालमा राम्रो उपचार हुँदैन, राम्रा स्कुल खोज्दै विद्यार्थी काठमाडौं हिँड्छन्। टावर बनाउनु पहिले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्र सुधार गरे राम्रो सन्देश जान्छ,’ बस्नेतले भने। 

जनताको आधारभूत आवश्यकता परिपुर्ति भएपछि मात्रै टावर, रिसोटजस्ता कुरा बनाउन उपयुक्त हुने उनको धारणा छ।

नेपाल कम्युनिष्ट पार्टी दाङका प्रवक्ता भरत भण्डारीले तुलसी टावर निर्माणमा रोक लगाउनु पर्ने बताए। 

मेयर पाण्डेले आफ्नो अक्षमता लुकाउन टावर निर्माणको कुरा गर्नु बेमौसमी बाजाजस्तै भएको भण्डारीको बुझाइ छ। 

‘आफूले सिन्को पनि भाँच्नु नपर्ने तर उटपट्याङ कुरा मात्रै गर्ने प्रवृतिको विरोध हुनुपर्छ,’ प्रवक्ता भण्डारीले भने।

उनले ४० करोडको लागतमा एउटा प्राविधिक, कृषि क्याम्पस, स्तरीय अस्पताल निर्माण गर्नु सान्दर्भिक हुने बताए। 

‘जनतालाई करमाथि कर थपेर उठाएको उपमहानगरको पैसा खर्चेर बनाउने टावरको अहिले कुनै औचित्य छैन,’ भण्डारीले भने। 

‘नाममात्रैको उपमहानगर छ, कतिपय वडाका जनताले अझैं गाडी देख्न पाएका छैनन्। बिरामी डोकोमा बोकेर ल्याउनुपर्ने बाध्यता छ, किन अहिले नै टावर चाहियो?’ भण्डारीको प्रश्न छ।

उनले कमजोर प्रतिपक्षका कारण स्थानीय तहमा मनोमानी बढेको भन्दै गलत कुराको सबैले विरोध गर्नुपर्ने बताए।

टावर बनाउने निर्णयको जनप्रतिनिधिले पनि विरोध गरेका छन्।

तुलसीपुर– ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले अहिले नै टावर नचाहिने बताए। 

‘तुलसीपुरको पहिचानको लागि एउटा टावर बनाउने तर्कलाई अन्यथा होइन तर अहिले जनतालाई अस्पताल, विद्यालय र बाटो बढी चाहिएको छ,’ उनले भने।

नेपाली कांग्रेसबाट विजयी उनले बहुमतको आडमा कतिपय निर्णय गरिएको आरोप लगाए। 

तुलसीपुर–१८का वडा अध्यक्ष माधव वली र मेयर पाण्डे दुबै नेपाल कम्युनष्टि पार्टीका हुन्। वलीलाई पनि तत्काल तुलसीपुर टावर बनाउने निर्णय चित्त बुझेको छैन। 

गाउँका जनताले सिँचाइका लागि कुलो, कालोपत्रे सडक, बिजुली बत्ती, सुरक्षा, राम्रो शिक्षा, स्वास्थ्य, रोजगार खोजिरहेको उनले बताए। 

‘कुमालेको उद्योग, फलाम पिट्ने आरनजस्ता साना उद्योग र सिँचाइ कुलो संरक्षणमा बढी ध्यान जानुपर्छ,’ वलीले भने।

टावर बनाउने प्रस्तावित ठाउँ-सात तले टावरमा अण्डर ग्राउन्डमा पार्किङ, पहिलो, दोस्रो र तेश्रोमा विजिनेस कम्पिलेक्स, चौथो र पाँचौंमा बैंक र अफिस, छैठौमा क्याफे र सातौं तलामा सिनेमा हल बनाइनेछ। तस्बिरः नारायण

वडा नम्बर ११ का अध्यक्ष चित्रबहादुर वलीे टावर निर्माणभन्दा ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीको अवस्था नाजुक रहेको हुँदा त्यसको सुधार गर्न लाग्नु पर्ने बताए। जनताको जीवनस्तरमा सहजता ल्याउनुको साटो असम्भव हुने र ठूला सपना देखाउनु गलत भएको उनको बुझाइ छ। ‘टावर बनाउनु तत्कालको आवश्यकता होइन,’ वलीले भने।

उपमहानगरका मेयर पाण्डेले तुलसीपुरको अलग पहिचान स्थापित गर्न टावर बनाउन लागिएको बताए। 

‘हामीले तुलसीपुरका अलग पहिचान स्थापित गर्नुछ,’ उनले भने, ‘टावरअगाडि रोपिने तुलसीका बोटसँगै मानिसहरूले सेल्फी खिच्न सकून् भन्ने मेरो चाहना छ।’

तुलसीपुरलाई स्मार्ट सिटी बनाउन तुलसी टावर अतिआवश्यक भएको उनको तर्क छ। 

‘टावर निर्माण तुलसीपुरवासीका लागि गौरवको विषय हो,’ पाण्डेले भने,‘यसमा सबैले सघाउनुहुन्छ भन्ने आशा छ।’

६ महिना भित्रै टावर बनाउन सुरू गरी तीन वर्षभित्र निर्माण पूरा गर्ने योजना रहेको उनले बताए। 

‘पब्लिक प्राइभेट पार्टनसिपमा बनाउने हो, पैसा नपुगे विदेशी लगानी पनि खोज्न सकिन्छ,’ मेयर पाण्डेले भने। 

पाण्डेका अनुसार सात तले टावरमा अण्डर ग्राउन्डमा पार्किङ, पहिलो, दोस्रो र तेश्रोमा विजिनेस कम्पिलेक्स, चौथो र पाँचौंमा बैंक र अफिस, छैठौमा क्याफे र सातौं तलामा सिनेमा हल बनाइनेछ।

source:setopati