नेपाल र चीनबीच काठमाडौँसम्म रेल्वे बिस्तार गर्ने सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच विभिन्न १४ विषयका सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तेस्रो दिन बिहिबार ग्रेट हल अफ दि पिपुल्समा विभिन्न सम्झौता भएका छन् ।

रेलवे र कार्गो ट्रान्सपोर्टमा रघुविर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान युले हस्ताक्षर गरे । यस्तै, दुईवटा मैत्री पुल पुनर्निर्माण सम्बन्धि सम्झौतामा परराष्ट्र सचिव शंकरदास वैरागी र उपविदेशमन्त्री कङले हस्ताक्षर गरे ।

ऊर्जामा आर्थिक र प्राविधिक साझेदारी सम्बन्धि सम्झौतामा उर्जामन्त्री वर्षमान पुन र उप विदेशमन्त्री कङले हस्ताक्षर गरेका छन् । यस्तै, तिब्बतको राजमार्ग नेपालले प्रयोग गर्न पाउने सम्झौतामासमेत हस्ताक्षर भएको छ ।

नेपालको स्वतन्त्र सामाजिक व्यवस्थालाई चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, नेपालले पनि एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याएको छ । साथै नेपाली भूमीमा चीन बिरोधि गतिविधि हुन नदिने प्रतिबद्धता जनाएको छ ।

काठमाडौँसम्म रेल्वे सेवा विस्तार गर्न दुवै देश सहमत भएका छन् । पारवहनका लागि खासा नाकालाई प्रयोग गर्ने पनि समझदारी भएको छ । ‘ट्रान्स हिमालय कनेक्टिभिटी’ को कामलाई गति दिन दुवै देश सहमत भएका छन् ।

व्यापार र लगानीमा केन्द्रीय र स्थानीय सरकारसँग मिलेर काम गर्ने सम्झौता भएको छ । चीनले पहिलो चीन आयात निर्यात मेलामा नेपाललाई आमन्त्रण गरेको छ । नागरिक बीचको सम्बन्ध विस्तार गर्न पर्यटन, प्रवुद्ध समुह, पत्रकार र विद्यार्थी आदानप्रदान गर्न दुई देश सहमत भएका छन् । सांस्कृतिक आदानप्रदान र पर्यटन विकासमा साझेदारी गर्न दुई देश तयार भएका छन् । अन्तर्राष्ट्रिय मामिलामा समेत साझेदारी गर्ने सहमति भएको छ ।

source:enayapatrika