आफ्नो चिहान आफै बनाएर मृत्यु कुर्दै डाँडामाथिका घाम

धनकुटा – बारीको डिलमा चिटिक्क र कलात्मक सानो घर । घर जस्तो यो चिहानमा झ्याल छैनन् । मरेपछि एकजना मान्छे सुत्न पुग्ने ठाउँ छ घरभित्र । धनकुटाको साँगुरीगढी गाउँपालिका बुढिमोरङकी ८१ वर्षीया फूलमाया नेयोहाङले आफ्नो चिहान घर १५ वर्षअघि बनाउनुभएको हो ।

घरभन्दा झण्डै ५० मिटर पर बारीको डिलमा ढुङ्गा र सिमेन्ट लगाएर बनाएको चिहानमा घरको जस्तै छानो छ र साना साना पेटी पनि छन् । पेटीमा रातो र भित्तामा सेतो रङ लगाइएको छ । भित्ताको माथि फोटो राख्ने ठाउँ पनि छ ।

मरेपछि सबैजना पुग्ने ठाउँ त चिहान नै हो । त्यो चिहानमा अरुले नै पुर्‍याउँछन् । तर जिउँदो छँदै स्वेच्छाले चिहान बनाउने फूलमाया जस्ता मानिस बुढीमोरङमा धेरै छन् । तर अहिले फूलमायाकै कुरा गरौं । 

फूलमायालाई आफ्नो जिन्दगी बिताएको घरभन्दा चिहान प्यारो लाग्छ । घरमा भन्दा धेरै चिहानमै रम्नुहुन्छ । चिहानघरकै रेखदेख बढी गर्नुहुन्छ ।

फूलमायाले चिहानमा राख्न फोटो पनि बनाइसक्नुभएको छ । आफ्ना लुगाहरु गुन्टो बनाएर राखेको पनि निकै वर्ष भइसक्यो ।

फूलमाया रिस उठेका बेला अहिले पनि चिहानमा छिरेर सुत्नुहुन्छ । अनि भोक लागेपछि उठेर घर फर्किनुहुन्छ । जिउँदो छँदै सुत्न मिल्ने अनि घर फर्किन मिल्ने फूलमायाको चिहानको बेग्लै कथा छ ।

 

 

घरभन्दा चिहान प्यारो 

८१ वर्षकी फूलमायाको हिँड्दा ढाड सोझो हुँदैन । उहाँले सपक्क पारेर बाँधेको पटुकीभन्दा बढी खुम्चिएको छ, अनुहारको छाला । तर फूलमायाको जोश भने राता गाला भएकाहरुको भन्दा कमको छैन । 

आफ्नो चिहान हेर्न आइपुगेका नयाँ मानिसलाई उहाँ जोसिंदै चिहानको कथा सुनाउनुहुन्छ ।

फूलमाया हरेक दिन चिहानघर सफा गर्नुहुन्छ । चिहान बढारेरै पुरानो भएको दुईवटा कुचो देखाउँदै उहाँले भन्नुभयो, ‘रुखका पातहरु अलि धेरै झर्छन्, नत्र त अस्ती मात्रै सफा गरेको हो मैले ।’

‘मेरो त शरीर मात्र घरमा हो, मन त यहीँ छ नि, आफ्नो घर त यहीँ हो’ आफ्नै चिहान घरतिर हेरेर हाँस्दै फूलमायाले भन्नुभयो, ‘ठिक छ हैन त मेरो चिहान ?’ 

प्रायः मरेपछि मात्र चिहान बनाउने भएकाले कतै आफूले गलत गरें कि जस्तो पनि लाग्छ उहाँलाई । तर मरेपछि अरुले बनाइदिने हुन् कि होइनन् भनेर उहाँ आफैंले आफ्नो लागि चिहान बनाउनु भएको हो । 

आफ्नो चिहान घर वरपर कसैको पाइला नपरोस्, बस्तुभाउ छिर्न नसकुन भनेर फूलमायाले बार पनि लगाउनुभएको छ । तर बाँसले बनाइएको बार थोरै भत्किसकेको छ ।

फूलमायालाई आफ्नो चिहान देख्दा न डर लाग्छ, न त अचम्म नै । तर उहाँलाई आफ्नो चिहान नजिकैको खोल्सोमा चाहिँ डर लाग्छ । डर भगाउन चिहानघर वरिपरि बत्ति राख्ने उहाँको योजना छ ।

‘छोरा पनि छैन, बुढो पनि छैन, घरमा कोसँग बस्नु,’ फूलमायाले दिक्क मानेझैं गरी भन्नुभयोे, ‘मान्छेको सास जान त गाह्रो पो रछ त ।’  ‘म त रिस उठेको बेला त खर्लप्पै यही घरभित्र आएर सुत्छु नि, सुत्छु सुत्छु अनि रिस मरेपछि जान्छु, घरमा गएर रक्सी खानु पर्‍यो, तोङ्बा खानुपर्‍यो, यहाँ मात्र बसेर हुन्छ त,’ फूलमायाले ठट्टा गर्दै सुनाउनुभयो । 

सुपारी दाना फोरेर, लानु के छ र मरेर !

फूलमायाका ६ जना सन्तान । तीन छोरा सानैमा बिते । तीनवटी छोरी अहिले पनि छन् । लोग्नेको निधन भइसक्यो ।  ‘मेरा त तीन छोरा पनि उ बेलामै गए, बुढो पनि गइहाल्यो, मरेपछि जंगलमा गाड्नु पर्‍यो, माटो खन्ने मान्छेले भेटे, कुकुर र स्यालले भेट्यो, मान्छेले छिछि थुथु गरे नि, मेरो त त्यस्तो नहोस् भनेर नि यो कपुरस्थान बनाएको,’ फूलमायाले आफ्नै चिहानघर बनाउनुको कारण खोतल्नुभयो ।

फूलमायालाई आफ्नो चिहान देख्दा न डर लाग्छ, न त अचम्म नै । तर उहाँलाई आफ्नो चिहान नजिकैको खोल्सोमा चाहिँ डर लाग्छ । डर भगाउन चिहानघर वरिपरि बत्ति राख्ने उहाँको योजना छ ।

लोग्ने बितेको पनि ३० वर्ष भइसक्यो । ‘दुई छोरा त सानैमा बिते । कान्छो छोरो ५ वर्षको हुँदा पखालाको दवाइ नपाएर बित्यो,’ फूलमायाले आफना्े विगत अझै कोट्याउनुभयो । 

घरको आर्थिक अवस्था राम्रो नभएकाले उहाँले छोरा र लोग्नेको चिहान बनाउन पाउनुभएन । चलन अनुसार जंगलमा सतगद गर्नुपर्‍यो । त्यसैले उहाँले आफ्नो चिहान आफैले बनाउने निधो गर्नुभयो । 

फूलमायाको इच्छाअनुसार उहाँका तीन छोरीले पनि चिहान घर बनाउन सहयोग गरे । 

‘सुपारी दाना फोरेर, लानु के छ र मरेर, बुद्धि अर्काको मन पो आफ्नो त आफ्नो मनले चाहेको चिज त गर्न पर्छ,’ फूलमाया भन्नुहुन्छ, ‘आफ्नै मनले चाहेजस्तै मेरो घर बनाएको हो मैले ।’

ढुङ्ग्री र तिलहरी बेचेर चिहान

२०६० सालमा फूलमायाले चिहान बनाउँदा अहिलेजस्तो गाउँमा गाडी पुगेको थिएन । मुलघाटदेखि गाउँसम्म सिमेन्ट पुर्याउन अनि जंगलबाट ढुङ्गा ल्याउन पनि गाउँलेले सहयोग गरे ।

कर्मीखर्चका लागि फूलमायाले एउटा ढुङ्ग्री र तिलहरी बेच्नुभयो । ‘अहिलेजस्तो भए त कहाँ बनाउन सक्नु त्यो बेलामा त सस्तो थियो, एउटा ढ्ङ्ग्री र तिलहरी बेचेर बनाएको हो यो चिहान,’ उहाँको सुन बेचेर नपुगेको पैसा छोरीहरुले नै हालिदिए । 

‘मरेपछि ल्याएर यहाँ पसाइ दियो, ठ्याप्प लगाइदियो सक्कि त गयो,’ फूलमायाले हाँस्दै भन्नुभयो । छोरा नभए पनि छोरी र छिमेकीले मरेपछि चिहानसम्म पुर्‍याउँछन भनेर फूलमायालाई हिजोआज मृत्युपछि के होला भन्ने चिन्ता लाग्न छाडेको छ ।

चिहान वरपर झिलिमिली बत्ति 

फूलमाया अहिले माइली छोरीसँग बस्नुहुन्छ । भएको जायजेथा फूलमायाले माइली छोरीकै नाममा पास गरिदिनुभएको छ । 

तर छोरीको नाममा पास भएको घर छाडेर आफ्नै नामको चिहानमा बसाईं सर्न मन लागेको छ । चिहान घरतिर हेर्दै उहाँले भन्नुभयो, ‘ऊ बेलामै मर्छु भनेर बनाएको नि हउ, खै भनेको जस्तो नहुँदोरहेछ ।’

आफ्नो घरभन्दा प्यारो के होला र ! तर हिजोआज फूलमायालाई आफ्नो जिन्दगी बिताएको घरभन्दा चिहान प्यारो लाग्छ । घरमा भन्दा धेरै चिहानमै रम्नुहुन्छ । चिहानघरकै रेखदेख बढी गर्नुहुन्छ ।

चिहानमा झरेका रुखका पातहरु र धुलो सफा गर्नुहुन्छ । उहाँको मृत्युपछि पनि त्यसरी नै स्याहार पाउला त त्यो चिहानले ? यो चिन्ता फूलमायालाई पनि छ । त्यसैले उहाँ चिहान वरिपरीका रुखहरु काट्ने योजनामा हुनुहुन्छ । 

‘त्यो रुख नढाले त पछि मलाई झ्याउ लाग्छ, त्यसले सिकसिक गराउँछ होला,’ फूलमायाले भन्नुभयो । उहाँको चिहानको छेवैमा ठूलाठूला रुखहरु छन् र बाँसघारी छ । फूलमायालाई आफ्नो लास कपुरस्थानमा राखेपछि झरेका पातले आफैलाई घोच्लान् भन्ने लाग्छ  । 

‘कपुरस्थान बाटो माथि छ, माइली तिम्ले त बाटो हिँड्दा तर्साउँछेउ होला भन्छन् मान्छेहरुले । त्यसैले यहाँ ठूलो एउटा बत्ति र वरिपरी पनि झिलिमिली बत्ति राख्ने हो,’ फूलमायाले आफ्ना योजना सुनाउनुभयो ।

चिहान वरिपरी रोपेका फूलहरु पनि फेर्ने मन छ उहाँको । १५ वर्षअघि रोपेका फूलभन्दा फरक खालका फूल रोप्न मन छ उहाँलाई । ताकि मृत्युपछि जिउँदै छँदाको जस्तो बास्ना नआओस् ।

‘आकाश गज्र्याे पानी पर्नलाई, मान्छे चम्क्यो मर्नलाई भन्छन्,’ फूलमायाले उखान सुनाउँदै भन्नुभयो, ‘अब यो वर्षभन्दा बाँच्दिन कि जस्तो लाग्छ ।’ 

‘भात रुच्दैन, मासु पनि खान मन लाग्दैन, रक्सी मात्र मिठो लाग्छ, रक्सी खाएर पनि मान्छे बाँच्छ त ?’ फूलमाया आफैसँग प्रश्न गर्नुहुन्छ । हिजोआज उहाँको खुराक भनेको दिनको एक बोतल रक्सी र सितन मात्रै हो ।

गाउँमा बसेका धामीले यो वर्ष गाउँबाट एकजना घट्छन् भनेकाले पनि फूलमायालाई आफ्नै पालो आयो जस्तो लाग्छ । 

बुद्धिमानः मलामी र छोरालाई सजिलो पार्ने काम 

फूलमायाले जस्तै गाउँका बुद्धिमान इङ्नामले पनि ७ वर्षअघि नै मर्छु भन्ठानेर आफ्नो चिहान बनाउनुभयो । ७ वर्षदेखि मृत्यु कुरिरहेका ७५ वर्षका बुद्धिमान र उहाँकी श्रीमतीको चिहानको कथा फूलमायाो चिहान भन्दा बनावट र आकारमा मात्र हैन धेरै कुराले फरक छ । 

चिहानको उचाइ एक मान्छे बराबर । घर एउटै । त्रिभुज आकारको दुईवटा छानो । दुईवटा छानोमा दुई दुई वटा झ्याल जस्तै आकार पनि । तर झ्याल हैन । अगाडि चाहिँ ह्वाङ दुईवटा प्वाल । 

‘बुढी मान्छेलाई बायाँ र मेरो चाहिँ यो दायाँतिर हो पछि बस्ने ठाउँ,’ बुद्धिमानले चिहान देखाउँदै भन्नुभयो ‘यो मेरो मनको कल्पना हो ।’ 

चिहानघर बनाउँदा त्यसको चारगुणा बढी दुई लाख भन्दा धेरै लाग्यो । ‘बस्नेघर त के खर्च लाग्यो र, जीवन गुज्रिहाल्यो, अब यो घर त दुईलाख रुपैयाँमा बनाएको हो,’ बुद्धिमान हाँस्नुभयो ।

मानिसका रहर अनेक हुन्छन् । कति पूरा हुन्छन् त कति अपूरा । बुद्धिमानको जीवनमा पनि धेरै रहरहरु अपूरै भयो । तर आफ्नै ‘चिहान बनाउने’ मन को अन्तिम रहर भने पूरा भएको छ । 

बुद्धिमानका दुई सन्तान हुन् । एक छोरा र एकछोरी । दुवैबाट नातिनातिना भइसके ।

छोराछोरी र नातिनातिनाका धनी बुद्धिमानले आफ्नो मृत्युपछि सन्तानले भने अनुसार नगर्ने हुन् कि भनेर चिहान बनाउनुभएको छ ।  ‘छोराछोरी टाढा भए, मरेपछि त्यो मसानले भनेको कसले मान्ने भन्लान, अब छोराले बनाइदिन्छ भन्नेमा के विश्वास र ! आफैले बनायो ढुक्क ।’ 

आफ्नो इच्छा अनुसारको सतगद नहोला भन्ठानेर बुद्धिमानले जिउँदो छदै चिहान बनाउने बुद्धि लगाउनुभयो । मृत्युपछि सन्तानले भने जसरी सतगद नगरिदिएको उदाहरण उहाँले धेरै देख्नुभएको छ ।

अरुको मलामी बन्दा कपुरस्थान बनाउँदाका सास्ती पनि भोग्नुभएको छ । त्यसैले उहाँले आफ्नो चिहान आफै बनाएर मलामी र छोरालाई सजिलो बनाइदिनुभएको हो । 

‘ढुङ्गा खोज्नुपर्‍यो, ठाउँ खोज्नुपर्‍यो, अब आफूले भनेको जस्तो हुन्छ कि हुँदैन, यति भएपछि त इष्टमित्रलाई पनि दुःख भएन नि,’ बुद्धिमानले सन्तुष्टि व्यक्त गर्नुभयो । 
चिहान बनाउने ठाउँ पनि उहाँकै रोजाइको छ ।

बारीको डिलमा । जहाँबाट सबैतिर देखिन्छ । ‘मरेपछि पनि सबैतिर हेर्दै बस्नुपर्‍यो नि त्यही भएर यो ठाउँ रोजेको हो’ बुद्धिमानले भन्नुभयो । उहाँले चिहान बनाएको ठाउँबाट गाउँ र धनकुटा बजार देखिन्छ । 

आफ्नै लागि चिहान बनाएका बुद्धिमानलाई तीनपटक बिहे गर्नुपर्ने बाध्यता आयो ।

‘२० वर्षको हुँदा बिहे गरेको जेठीले छाडेर अर्कैसँग गई, माइलीलाई पनि बिमारले लग्यो, कान्छीलाई पनि प्यारालाइसिस् भएको १ वर्ष भयो, धरानमा लडिरहेकी छ,’ बुद्धिबहादुरले आफ्नो व्यथा सुनाउनुभयो ।

कान्छी श्रीमतीसँग मरेपछि पनि सँगै हुने भन्दै उहाँले जिउँदो छँदै आफ्नै डिजाइन अनुसार चिहानघर बनाउनुभएको हो । २०३५ सालतिर बुद्धिमानले अहिले बसिरहेको घर बनाउँदा ५० हजार रुपैयाँ लागेको थियो ।

तर चिहानघर बनाउँदा त्यसको चारगुणा बढी दुई लाख भन्दा धेरै लाग्यो । ‘बस्नेघर त के खर्च लाग्यो र, जीवन गुज्रिहाल्यो, अब यो घर त दुईलाख रुपैयाँमा बनाएको हो,’ बुद्धिमान हाँस्नुभयो ।

श्रीमान् र श्रीमती दुईमा एक अघिपछि भइन्छ भन्ने त बुद्धिमानले नि बुझ्नुभएको छ । तर कान्छी श्रीमती बिमार भएर अस्पताल राख्नु परेदेखि बुद्धिमानलाई पनि बाँच्न मन लाग्दैन । ‘सम्झँदा त मरौं कि बाँचौं हुन्छ नि, तर के गर्नु चलन यस्तै, भगवान भन्दामाथि को हुन सक्छ र ?’ बुद्धिमानलाई लाग्छ ।

हिजोआज सामानका भाउ बढे, मानिसका पनि भाउ बढे । बढेको सामानको मूल्य तिरेर बढेका सन्तानले चिहान बनाइदिएनन् भने मरेपछि विदेशमा रहेका नातिनातिनाले आफ्ना बाउबाजेको निशाना पनि देख्न पाउँदैनन् भन्ने लागेर बुद्धिमानले चिहान बनाउनुभयो । 

‘मर्ने बेला भयो, आफ्नो त भएको एउटा छोरो पनि साउदीमा, एउटी छोरी दुवईमा, मेरो कपुरस्थान त झन कस्तो होला भन्ने चिन्ता भयो, अनि मैले पनि बनाएँ नि’ उहाँले भन्नुभयो ।

बुद्धिमानको गाउँमा पहिला पहिला यस्तो चलन थिएन । मृत्युपछि नै छोराछोरीले चिहान बनाइदिन्थे । तर बुध्दिमान जस्ता आजकालका बुढाबुढीलाई ‘मृत्यु कसरी, कहाँ हुन्छ भन्ने के थाहा, बनाइराखेपछि त जहाँ मरे पनि बनाएको चिहानमा ल्याई दिन्छन्’ जस्तो लाग्छ ।

मरेपछि पनि दायाँबाँया 

आफ्नो उमेरका धेरैजनाले चिहानघर बनाएको देखेपछि गाउँकै ७७ वर्षका मनप्रसाद लिम्बूको मन पोल्न थाल्यो । ‘उमेर पुग्यो, भनेको बेला छोरो आइ नपुग्ला, आए पनि हाम्रो इच्छा अनुसारकै चिहान बनाउन पाउला नपाउला’ जस्तोे लागे पछि मनप्रसादले साढे तीन लाख रुपैयाँ खर्च गरेरे चिहान बनाउनु भयो ।

‘मर्ने बेला भयो, आफ्नो त भएको एउटा छोरो पनि साउदीमा, एउटी छोरी दुवईमा, मेरो कपुरस्थान त झन कस्तो होला भन्ने चिन्ता भयो, अनि मैले पनि बनाएँ नि’ उहाँले भन्नुभयो ।

मनप्रसादकी श्रीमती शुकरानीको मन पनि चिहान बनाएपछि ढुक्क भएको छ । आफ्नो सास जाँदा छोराछोरी आउँछन् आउँदैनन् भन्ने लागेर त्यो चिहान घर बनाएको’ शुकरानी बताउनु हुन्छ ।

घरभन्दा मुन्तिर, ठूलो आँपको बोटमुनी उहाँहरुले सँगै दुईवटा चिहान घर बनाउनुभएको छ ।  बायाँ पट्टि शुकरानीको अनि दायाँ पट्टि मनप्रसादको । निलो र पँहेलो रङ । छानोमा तारा जस्तै बुट्टा । अनि बुट्टामा रातो रङ ।  घरको अगाडिपट्टि शव छिराउन मिल्ने प्वाल बनाइएको छ ।

‘बुढो मान्छेले कहाँ कहाँबाट फोटो खिचेर ल्याएको, अनि कर्मीलाई त्यस्तै बनाइदेउ भनेको हो, खै के रहर हो बुढो मान्छेको,’ चिहानघर हेर्दै शुकरानीले भन्नुभयो । 

दुःख बिसाउने चौतारी चिहानघर 

विदेश गएका छोराछोरीसँग जस्तै लिम्बू दम्पत्तिले आफैले बनाएको चिहानसँग पनि केही आशा पालेका छन् ।

आशा नम्बर एकः आफ्नै हातले बनाएको चिहानमा मरेपछि आनन्दले रहन पाइन्छ ।

 आशा नम्बर दुईः  सन्तान साथमा नभए पनि बनेको चिहानसम्म छिमेकीले पुर्‍याउँछन् ।

आशा नम्बर तीनः पछिका पुस्ताले पनि आफ्नो चिनो देख्न पाउँछन् । पछिसम्म सम्झना हुन्छ । 

तर अहिलेको बास्तविकता चाहिँ के हो भने सन्तान टाढा हुँदा आफ्नो मन शान्त पार्न बनाएको चिहान जिउँदो छँदा पनि दुःख बिसाउने चौतारी भएको छ । शुकरानी बारीमा काम गरेर थाक्दा डिलैमा रहेको त्यही चिहानमा थकाइ मार्नुहुन्छ । पीर पर्दा पनि चिहानमै बसेर चिसो हावाले मन शान्त पार्नुहुन्छ ।

‘काम गर्न नसक्दा त अहिले नै गएर सुतौं जस्तो लाग्छ नि, दिक्क लागेको बेला त्यही गएर बस्छु,’ शुकरानी भन्नुहुन्छ । 

‘अहिले त लास राखेको छैन, दिउँसो त यहाँ बसेर शितल ताप्न राम्रै छ, राती त हेर्दा डर लाग्छ त, आफ्नै चिहान हैट् भनेझै पो लाग्छ,’ मनप्रसाद हाँस्नुहुन्छ ।

साढे तीन लाख रुपैयाँ खर्च गरेर बनाएको चिहानलाई शुकरानी र मनप्रसाद अहिले बसिरहेको घरलाई जत्तिकै रेखदेख र स्याहार गर्नुहुन्छ । दिउँसो चिहान सफा गर्दा, थकाइ मार्दा अनि सुत्दा शुकरानी र मनप्रसादलाई आफ्नै घर झै लाग्छ । रात परेपछि चाहिँ उहाँलाई आफ्नै चिहानसँग डर लाग्छ । 

‘अहिले त लास राखेको छैन, दिउँसो त यहाँ बसेर शितल ताप्न राम्रै छ, राती त हेर्दा डर लाग्छ त, आफ्नै चिहान हैट् भनेझै पो लाग्छ,’ मनप्रसाद हाँस्नुहुन्छ । शुकरानी र मनप्रसादका छोरा विदेश बस्न थालेको बर्षौ भइसक्यो । छोराले कुवेत र इराकमा बिताएको वर्ष त सम्झना छैन तर छोराले साउदीमा गाडी चलाउन थालेको चाहिँ १२ वर्ष पुगिसक्यो । बुहारी छुट्टै बसेकी छन् । 

मनप्रसाद दम्पत्तिको कान्छी छोरी पनि युएईमा जानुभएको छ । छोराछोरीसँग सल्लाह गरेरै उहाँहरुले चिहान बनाउनुभएको हो । खर्च पनि छोराछोरी र मनप्रसादले मिलेर गर्नुभयो । 

मृत्यु कर्म र चिहान 

साँगुरीगढी गाउँपालिकाका बुढिमोरङ २ का वडाअध्यक्ष दलबहादुर इङ्नामका अनुसार बुढिमोरङको माङदाङ्वा  गाउँका १० जनाले आफ्नो चिहान आफैंले बनाएका छन् । 

उहाँका अनुसार लिम्बू जातिको ग्रन्थ मुन्धुम अनुसार मरेपछि माटोमा गाड्नुपर्छ । जिउँदो छँदै चिहान बनाउनेहरुले चलन र धर्मग्रन्थ अनुसार भन्दा पनि आफ्नै इच्छाले बनाएको उहाँको बुझाइ छ ।

सामान्यतया लिम्बू जातिमा छोरा मानिसको मृत्यु कर्म चार दिन र छोरी मानिसको तीन दिनमा गरिन्छ । सन्तानले चिहानघर बनाइदिए भने त्यही चार दिनमै बनाइसक्नुपर्छ । तर जिउँदो छदै चिहान बनाउने चलन चाहिँ अहिलेको पाका पुस्ताले नै शुरु गरेको हो ।

एकदिन मर्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर मरेपछि पनि सुखैसँग रहन पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ । त्यसैले यहाँका लिम्बू समुदायका पाका मान्छेले आफ्नो लागि आफैंले सुविधाजनक ढंगको चिहान बनाउन थालेका हुन् ।

source:ujyaaloonline