४५ किमीकाे दुरी पार गर्न फेरिन्छ तीन गाडी, तिरिन्छ ७ सय !

रुकुम(पश्चिम)को आठबिसकोट नगरपालिकाबाट जाजरकोटको नगलगाड नगरपालिका हुँदै रुकुम(पश्चिम), डोल्पा र जाजरकोटको सिमाना त्रिवेणिसम्मको दुरी ४५ किलोमिटर छ । जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने ४५ किलोमिटरमा दुई खण्ड छन् । जाजरकोटको नलगाड नगरपालिका ८ बगरादेखि सोही नगरपालिकाको १२ नम्बर वडा तल्लुबगरसम्मको लम्बाइ २२ किलोमिटर छ । त्यसपछि रुकुम (पश्चिम)बाट सुरू हुने आठबिसकोट नगरपालिका ६ को गोतामकोटदेखि सोही वडाको त्रिवेणि पुग्न २३ किलोमिटर सडक खण्ड छिचोल्नुपर्छ ।

जाजरकोट र रुकुम (पश्चिम)मा पर्ने ४५ किलोमिटर लम्बाई रहेका जाजरकोट–डोल्पा सडकका दुईवटा खण्ड पार गर्न यात्रुहरुले तीन वटा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ । रुकुम(पश्चिम)को आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकालाई जोड्नका लागि ठूलिभेरी नदीमा पक्कि पुल नहुँदा झोलुङ्गे पुलबाट नदी पार गरी नलगाड नगरपालिका ८ बगरा पुग्नुपर्छ र त्यहाँबाट गाडी चढ्ने यात्रुले थप दुईवटा सवारीसाधन फेर्नु पर्छ ।

बगराबाट छुटेको गाडी नलगाड नगरपालिकाको १० र ११ को सिमाना चौखासम्म पुग्ने गरेको छ । उक्त ठाउँमा रहेको खोला तर्न नसक्ने भन्दै बगराबाट गएको गाडीले यात्रुलाई त्यहीँ छाड्छ । त्यसपछि यात्रुहरुले त्यहाँ रहेको झोलुंगे पुलको मद्तमा खोला तरेर चौखाबाट अर्को गाडि चढ्नुपर्ने हुन्छ । त्यहाँबाट छुटेको गाडीले नलगाड नगरपालिका १२ को तल्लुबगरसम्म मात्र लैजान्छ ।

त्यसपछि रुकुम(पश्चिम)को खण्ड सुरु हुन्छ । चौखाबाट गाडी चढेर तल्लुबगरसम्म पुगेका यात्रुहरु ठूलिभेरी नदीमाथि रहेको पुल तरेर रुकुम(पश्चिम)को आठबीसकोट नगरपालिका ६ को गोतामकोट पुग्नुपर्छ । त्यहाँबाट अर्को गाडि लिएर सोहि वडाको त्रिवेणि सम्म पुग्न सकिन्छ । यसरी ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्दा निकै सास्ती खेप्नु परेको यात्रुहरुको गुनासो छ । ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्दा पनि भनेको बेलामा गाडी नपाइने र सामान वसारपसार गर्न समस्या हुने गरेको गोतामकोट जाँदै गरेकी सुस्मिता पुन मगरले बताइन् ।

आठबीसकोटको राडीदेखि त्रिवेणिसम्मको दुरी पुरा गर्न यात्रुहरुले तीन वटा गाडी परिवर्तन गर्नुपर्छ । सदरमुकाम मुसीकोटबाट जाने यात्रुले भने चार वटा सावारी साधन फेर्नु पर्ने बाध्यता छ । रुकुम(पश्चिम) आठबिसकोटको राडी र जाजरकोटको बगरा, जाजरकोटको तल्लुबगर र रुकुम(पश्चिम) आठबिसकोटको गोतामकोटलाई जोड्ने तथा यस खण्डमा पर्ने विभिन्न बर्खे खोलाहरुमा पुल निर्माण गर्नुपर्ने छ । यो सडक खण्ड सञ्चालनमा आएको वर्षौ वित्दासमेत कुनै पनि ठाउँमा पुल निर्माणको काम सुरू नै हुन सकेको छैन । ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नुपर्दा बर्खामा झनै समस्या हुने गरेका यात्रुको गुनासो छ ।

यातायात व्यवसायीको लुट

यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यताका कारण मात्र सास्ती भोग्ने गरेका छैनन् । त्यो भन्दा ठूलो सास्ती त यात्रुहरुले भाडामा भोग्ने गरेका छन् । ४५ किलोमिटरको दुरी पार गर्न पनि यात्रुहरुले ७ सय भाडा तिर्ने गरेका छन् । जाजरकोटको नगगाड नगरपालिका–८, बगरादेखि सोही नगरपालिकाको १२ नम्वर वडा तल्लुबगरसम्मको २२ किलोमिटर लम्बाई पार गर्न प्रति यात्रु ३ सय भाडा तिर्नुपर्छ । त्यस्तै रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, को गोतामकोटदेखि सोही वडाको त्रिवेणि पुग्न प्रति यात्रुबाट ४ सय रुपैयाँ लिइन्छ ।

करिब २३ किलोमिटर लामो रहेको उक्त सडकमा गाडी चलाउनेहरुले ४ सय भन्दा एक रुपैयाँ पनि कममा यात्रु बोक्दैनन् । उक्त सडकमा यात्रा गर्ने कुनै पनि यात्रुले भाडा महंगो भयो भन्न पनि पाउँदैन । यातायात व्यवसायीको चर्को सिन्डिकेटको मारमा यात्री परिरहेका छन् । अनुगमन र नियमन नहुँदा मनपरी भइरहेको यात्रु विष्णाकुमारी बिष्टले बताइन् । थोरै गाडी भएका कारण महँगोमा यात्रा गर्न बाध्य भइरहेको उनको भनाइ छ ।

न समिति न आवश्यक कागजात

यो सडक खण्डमा कुनै पनि समितिले गाडी हालेका छैनन् । जाजरकोटको भेरीगंगा यातायात व्यवसायी समितिमा गाडी दर्ता गर्ने भनेर उक्त सडकमा गाडी हालिए पनि विना दर्ता चलिरहेको बताइएको छ । समिति भन्दा व्यक्तिगत मनोमानी ढंगबाट व्यवसायीले यातायात चलाइरहेका छन् । त्यस्तै यातायात व्यवसायीले आवश्यक कागजातसमेत बोक्दैनन् । अधिकांश यातायात व्यवसायीले लाइसेन्स, ब्लुबुक लगायतका कुनैपनि आवश्यक सामाग्री बिनै गाडी संचालन गर्ने गरेका छन् ।

कुनैपनि निकायले नियमन नगर्दा यातायात व्यवसायीको मनपरी बढेको हो । एक कार्यक्रमका लागि यहीँ सडकखण्डको प्रयोग गरेर गोतामकोट पुग्दा बिल भरपाइका लागि आवश्यक कागजात माग्दा अधिकांश गाडीले आवश्यक कागजातनै नबोकेको एक सरकारी कार्यालयमा कार्यरत कर्मचारीले बताए ।

थोत्रा गाडीको यात्रा जोखिमपूर्ण

भेरी पारीको उक्त सडकमा कानुनी राज चल्दैन । यातायात व्यवसायीले जे भन्छन यात्रीले त्यहीँ मान्नुपर्छ । ४५ किलोमिटर दुरी पार गर्दा ठाउँ–ठाउँमा प्रहरी चेक पोष्ट भेटिन्छन् । तर गाडीमा चेकजाच बिरलै हुन्छ । यसको फाइदा यातायात व्यवसायीले लिएका छन् । वर्षौ पुराना सवारीहरु चल्दा पनि सरोकारवालाको ध्यान नगएको यात्रुको गुनासो छ । भगवान भरोसामा यात्रा गर्न बाध्य भएको आठबिसकोटका जीवन आरसीले बताए । ‘पुग्नैपर्ने बाध्यता हुन्छ’,उनले भने,‘त्यहीँ भएर जस्ता गाडीमा भएपनि यात्रा गर्नुपर्ने बाध्यता छ, थोत्रा गाडीमा यात्रा गर्दा दुर्घटनाको जोखिम धेरै छ ।’

source:enayapatrika