कांग्रेस 'प्रोगेसिभ एलायन्स' नजिक भएपछि पार्टीभित्र तीव्र असन्तुष्टि

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई ६ दशकदेखिको ‘सोसलिष्ट इन्टरनेशनल’ प्रतिको आबद्धता छाडेर ५ वर्ष अघि स्थापित ‘प्रोगेसिभ एलायन्स’ मा सरिक गराउन लागेको प्रति संस्थापन इतर पक्ष आक्रोशित भएको छ ।

 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायतका नेताहरु देउवाको एकल कार्यशैलीप्रति आक्रोशित भएका हुन्। यस विषयमा संस्थापन इतर पक्षको मंगलबार बेलुका अनौपचारिक बैठक बसेको थियो।
 
प्रोगेसिफ एलालान्समा आबद्ध हुनेबारे पार्टीभित्र छलफल नै नभएको वरिष्ठ नेता पौडेलले बताए। ‘देउवाको यो कार्यशैलीले पार्टीलाई कहाँ पुर्‍याउन खोजिएको हो? प्रश्न गर्दै पौडेलले कान्तिपुरसँग भने, ‘सोसलिष्ट इन्टरनेशनलमा रहेर बीपी कोइरालाले अन्तर्राष्ट्रिय रुपमा समाजवादी नेताको रुपमा आफू र पार्टीलाई चिनाउनु भएको हो, ६ दशकपछि अहिले सोही संस्था छाड्ने जस्तो गम्भीर कुरा के हुन सक्छ?’
 
उनले राजधानीको हिमालयन होटलमा शुक्रबार र शनिबार हुन लागेको एलायन्सको कार्यक्रममा संस्थापन इतरका कुनै पनि नेता सहभागी नहुने बताए।
 
संस्थापन इतर पक्षले शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले एलायन्सको कार्यक्रम राजधानीमा गर्न लागेकोप्रति आश्चर्य प्रकट गर्दै भर्त्सना गरेको हो। ‘२०१७ सालदेखि नेपाली कांग्रेस आबद्ध भएको सोशलिस्ट इन्टरनेशनलको समानान्तर विकल्पको रुपमा स्थापित प्रोग्रेसिभ एलायन्समा संलग्न हुनु र त्यसको संयोजन गर्नु दु:खद् विषय हो’ संस्थापन इतर पक्षबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबारे न त पार्टीमा कहिल्यै विचार विमर्श भयो न आधिकारिक रुपमा जानकारी नै दिइयो।’
 
संस्थापन पक्षकै कतिपय नेताहरुले यस्तो निर्णयप्रति असन्तुष्ट प्रकट गरेका छन्। संस्थापन इतर पक्ष र आफ्नै समूहका नेताहरुको समेत चर्को असन्तुष्टि भएपछि सभापति देउवा समेत शुक्रबार एलायन्सको कार्यक्रममा सहभागी नहुने भएका छन्।
 
उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेतालाई वक्ताको रुपमा आमन्त्रण गरिएपनि सहभागी नहुने भएका छन्। देउवाले पार्टीका तर्फबाट सहमहामन्त्री प्रकाशशरण महतलाई कार्यक्रममा पठाउने तयारी गरेका छन्।
 
संस्थापन इतर पक्षले सभापति देउवा र उनका केही सहयोगीको निजी स्वार्थका कारण प्रोगेसिभ एलायन्समा पार्टीलाई सरिक गराउने कार्य भएको बताएका छन्। वि.सं. २०१४ मा नेपाली कांग्रेसको आयोजनामा एशियाली समाजवादी सम्मेलन काठमाडौंमा सुसम्पन्न भएको थियो।
 
'वि.स. २०१० देखि नै बीपी कोइरालाको नेतृत्वमा बर्माको याङ्गुन, मुम्बै, टोकियो आदि एशियाली सहरमा र सोशलिस्ट इन्टरनेशनलका हरेक विश्व सम्मेलनमा प्रतिबद्धताका साथ सहभागिता राख्दै आएको छ' संस्थापन इतर पक्षको विज्ञप्तिमा भनिएको छ, 'तर आज अनायास सोशलिस्ट इन्टरनेशनलको समानान्तर संस्थासँग गाँसिनुको औचित्य के हो? कांग्रेसको केन्द्रीय कार्यसमितिमा बिना कुनै निर्णय हठात यस्तो गम्भीर निर्णय लिनु औचित्यहीन मात्र होइन, घोर अलोकतान्त्रिक र स्वेच्छाचारी प्रवृत्ति पनि हो।'
 
संस्थापन इतर पक्षले सभापति देउवाको स्वेच्छाचारी तरिकाले लिइएको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै प्रोग्रेसिभ एलाइन्सका नामबाट हुन लागेको सभामा सहभागी नहुने घोषणा समेत गरेको छ। ‘सोशलिस्ट इन्टरनेशनलमा नेपाली कांग्रेसको सदस्यता र सक्रियता यथावत् राख्न पनि हामी आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।
source:ekantipur