तीन वर्षपछि यसरी उठ्यो वसन्तपुर गद्दी बैठक (फोटोकथा)

काठमाडौँ । भूकम्पले जीर्ण र खण्डहर बनेको वसन्तपुर दरबार क्षेत्र । स्काफोल्डिङमा सजिएको नौतले दरबार र हनुमानढोका संग्रहालय । 

 

०७२ वैशाखको भूकम्पले ध्वस्तप्रायः वसन्तपुरमा बुधबार एकाएक चमक छायो ।  अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष ( एएफसीपी) को सात लाख अमेरिकी डलरको अनुदानमा वसन्तपुर दरबार क्षेत्रको महत्त्वपूर्ण भवन गद्दी बैठक जीर्णोद्धार र भूकम्पीय प्रबलीकरण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

 

सन् १९०८मा चन्द्रशमशेरले निर्माण गरेको गद्दी बैठक भूकम्पले प्रयोगमा ल्याउनै नमिल्ने गरी भग्नावशेषमा परिणत गरेको थियो ।

 
 

विश्वका विभिन्न देशमा रहेका प्राचीन तथा पुरातात्विक महत्त्वका सम्पदाको संरक्षणमा अनुदान उपलव्ध गराउँदै आएको एएफसीपीले सन् २०१५ देखि सम्झौता गरी पुनर्निर्माण प्रारम्भ गरेको हो ।

 

एएफसीपीले हनुमानढोका दरबार क्षेत्रमै १७ औँ र १८ औँ शताव्दीमा निर्माण भई भूकम्पले खण्डहर तुल्याएको महादेव, कागेश्वर, लक्ष्मीनारायण र सरस्वती मन्दिरसमेतको जीर्णोद्धार सम्पन्न गरेको छ । एएफसीपीले ती संरचनाको जीर्णोद्धार गर्न दुई लाख अमेरिकी डलर रकम अनुदान उपलब्ध गराएको थियो ।

 

काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्ट (केभीपीटी)ले नेवारी शैलीका यी सम्पदालाई जीर्णोद्धार र भूकम्पीय प्रबलीकरण सम्पन्न गरेको दूतावासले जनाएको छ ।  भूकम्पपश्चात पुनर्निर्माणका लागि अनुदान सम्झौता गरी निर्माण थाल्ने विभिन्न दातृ निकायमध्ये जीर्णोद्धार सक्ने एएफसीपी पहिलो संस्था बन्न पुगेको छ ।

 

कसरी बन्यो गद्दी बैठक ?
शाह वंश परम्पराअनुसार राज्यभिषेक गर्ने थलो हो वसन्तपुर दरबार, गद्दी बैठक । त्यसबाहेक कूटनीतिक भेटघाट, सभा समारोह, र वसन्त श्रवणादिमा गद्दी बैठक प्रयोग हुन्थ्यो । 
भूकम्पले त्यसलाई प्रयोग नै गर्न नमिल्ने बनाइदिएपछि दातृ निकायको महत्त्वपूर्ण सहयोगमा त्यसले त्राण पाएको हो ।

 

गद्दी बैठक जीर्णोद्धारका लागि भूकम्पप्रतिरोधी विधिमा दक्षता हासिल गरेको पुरातत्वमा विशेष ज्ञान हासिल गरेका, सांस्कृतिक सम्पदा संरक्षण तथा जीर्णोद्धारसम्बन्धी अनुभवप्राप्त आर्किटेक्चरहरूले सहकार्य गरेको हस्तान्तरण कार्यक्रममा दूतावासले जानकारी दियो ।

 

प्रधानमन्त्रीले भने– एक्लो महसुस गर्नुपरेन
भूकम्पले लथालिङ्ग बनाएको हनुमानढोका कतिपय संरचना अझै उस्तै छन् । बल्ल गद्दी बैठक चहकिलो बनेको छ । त्यसैको आँगनमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणलाई गति दिने प्रतिवद्धता दोहोर्याए ।

 

“शुरूमा एक्लै हुन्छौँ कि लागेको थियो । तर, दातृ निकायले सहयोगको हात बढाए, भूकम्पबाट ढलेका संरचना उठ्न थालेका छन्,” उनले भने । उनले भूकम्पबाट थुप्रै संरचना ढले पनि सरकारको आत्मविश्वास नढलेको बताउँदै छिट्टै पुनर्निर्माण हुने उद्घोष गरे ।

 

उनले नौ हजारभन्दा बढीको ज्यान लाने गरी आएको विध्वंशकारी भूकम्पले धुप्रैको बसोबास उखेलेको स्मरण गर्दै आवासविहीनका लागि आवास निर्माण र स्कुल पुनर्निर्माणको कामलाई पहिलो प्राथमिकता दिनुपरेकाले संपदा पुनर्निर्माण ओझेल परेको बताए ।

 

उनले राजनीतिक क्रान्ति पूरा भएको र अव विकास निर्माणको युग प्रारम्भ भएको सन्दर्भ उल्लेख गर्दै सबै दातृ निकायको सहयोग पाउने विश्वाससमेत व्यक्त गरे ।

 

अमेरिकी कार्यवाहक राजदूत पिटर मालनाकले गद्दी बैठक नेपालको विशिष्ट सांस्कृतिक सम्पदा र इतिहास भएको बताउँदै सरकार र समुदायका व्यक्तिहरूको सहयोगले प्रवलीकरण र जीर्णेद्धार हुन सकेको बताए । उनले गद्दी बैठकको सफल जीर्णोद्धारले अन्य सम्पदा पुनर्निर्माणमा सहयोगी बन्न सक्नेसमेत जिकिर गरे ।

 

“वसन्तपुर गद्दी बैठकको जीर्णोद्धारबाट के प्रष्ट हुन्छ भने, काठमाडौँ उपत्यकामा यसप्रकारका स्मारणहरूको जीर्णोद्धार सम्भव हुनुका साथै खर्चका हिसाबलेसमेत प्रभावकारी छ,” मालनाकले सम्बोधनमा भने । 

 

एएफसीपी कार्यक्रमले विश्वका विभिन्न देशमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । एएफसीपी अमेरिकी सरकारको विदेशमा सञ्चालित सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक संरक्षण कार्यक्रमसमेत हो ।

 

सन् २००१ देखि एएफसीपीले १२५ भन्दा धेरै मुलुकहरूमा ८५० भन्दा बढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनाहरूलाई सहयोग गरिसकेको छ । विगत दुई दशकमा एएफसीपीअन्तर्गत नेपालमा ३४ लाख अमेरिकी डलरभन्दा बढी लागतका २२ परियोजना पूरा गरिसकेको दूतावासले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

source:baahrakhari