लालबाबु भन्छन्ः भागेर हिँड्ने कर्मचारीलाई मन्त्रालयमा छिर्न पनि दिन्न

जनकपुरधामः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राजनीतिमा संक्रमणकाल सकिए पनि सबैभन्दा बढी अप्ठ्यारो प्रशासनिक तहमा रहेको बताएका छन्  । 

आइतबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रदेश २ को सरकारको संयुक्त आयोजनामा जनकपुरमा सुरु भएको दुई दिने ‘समृद्धिको सपना, सम्पन्न प्रदेश २ को चाहना’ गोष्ठीमा बोल्दै मन्त्री पण्डितले यसो भनेका हुन् । 

‘केन्द्रबाट कुनै पनि प्रदेश या स्थानीय तहमा जाँदा मेरो फोन लागिगयो भने कर्मचारीले कहिले बिदा लिन सक्छु वा सरुवा गरिदिनुस् भनिजान्छन्’, उनले भने, ‘सरुवाका लागि दिनमा दशजनाले तरक्क आँसु नचुहाएको दिनै छैन । यस्तो अवस्थामा संघीयतामा मुलुक गइसकेपछि आत्मसाथ गर्न सकेका छौँ कि छैनौं भन्ने प्रश्न छ ।’

२० वर्षदेखि कर्मचारी पनि नेता पनि आफैं भएकाले परिवर्तित राजनीतिक परिवेशमा ‘एडजस्ट’ नभएकाले मिलेर काम गर्न केही समस्या उत्पन्न भएको उनले बताए । ‘जनप्रतिनिधिको जनतासँग गरिएको बाचा र उत्साहलाई कुनै पनि हालतमा कम्जोर बन्न दिँदैनौ’, उनले भने, ‘ऐन कानून पल्टाएर पाएको अधिकारक्षेत्र भित्र रहेर कानुनसम्मत जनप्रतिनिधिको अगुवाईमा सेवा प्रवाह र विकास निर्माण अघि बढाउने बाहेक अरु कुरा स्वीकार्य हुँदैन ।’

‘भागेर हिँडेकालाई म मेरो मन्त्रालयको कम्पाउण्डमा छिर्न पनि दिन्न कुरा सुन्नु त परको कुरा हो’, काम छाडेर हिँड्ने स्थानीय तहमा कर्मचारीको क्रियाकलापलाई लक्षित गर्दै मन्त्री पण्डितले भने । जनप्रतिनिधिप्रति पनि मन्त्री पण्डितको कटाक्ष थियो ।
‘कतिपय ठाउँमा जनप्रतिनिधिले समेत गलत ढिपी लिएका छन् । यस्तो गर्नु भो भने समृद्धिको यात्रामा पछाडि पर्नुहुन्छ । सफल संघीयताको बाटोमा हामी पछाडि पर्छौँ’, उनले भने, ‘अहिले संक्रमणकाल भएकाले व्यवस्थापन हुँदैछ र स्थायी व्यवस्थापन साउनदेखि हुनेछ ।’

अबको एक हप्तामा २३४३ कर्मचारीको दरबन्दी स्वीकृत हुने उनले जानकारी दिए । ‘त्यसपछि उचित व्यवस्थापन हुनेछ । प्रदेशमा कर्मचारी भएन, कार्यालय भएन प्रविधि भएन भन्ने समस्याहरु छन्’, पण्डितले थपे, ‘तर यसमा हामीले के बुझ्नु पर्दछ भने संघीयतामा हामी बालक छौं र सेरेलेक खादैं बलियो हुँदैछौ ।’ 

मन्त्री पण्डितले प्रदेश २ विकासको ब्रान्ड बनोस् भन्ने शुभकामना दिए । उनले भने, ‘जनकपुरको माछा देशभर ब्रान्ड भएजस्तै प्रदेश २ विकासको ब्रान्ड बनोस्, तर, यो अरुले बनाउने होइन, हामी सबै मिलेर बनाउनु पर्दछ ।’ 

source:annapurnapost