नारायणगढ-मुग्लिन सडक आज खुल्ने सम्भावना छैनः सडक आयोजना प्रमुख

चितवन — नारायणगढ-मुग्लिन सडकको टोपे खोलामा गएको पहिरो हटाउन सोमबार नसकिने भएको छ । पहिरो आज सफा हुन नसक्ने भएपछि बाटो खुल्ने सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् । पहिरो हटाउन नसक्दा मुग्लिनबाट नारायणगढ जाँदै गरेका र नारायणगढबाट मुग्लिन आइरहेका हजारौं यात्री अलपत्र परेका छन् । 

 

‘रातमा सफा गर्न गाह्रो हुन्छ। उज्यालोमा नै सफा गरेर भ्याउने अवस्था छैन। आज बाटो नखुल्ने सम्भावना प्रवल छ,’ नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले भने।
 
हिजो रातिदेखि नै वर्षा भएका कारण नारायणगढ मुग्लिन सडकमा आज बिहानैदेखि यातायात प्रभावित भएको थियो। मध्यान्ह पौने १२ बजे टोपे खोलामा पहिरो खसेपछि बाटो पूर्ण रुपमा ठप्प भएको प्रमुख बिसुरालले बताए। ‘त्योभन्दा अघि जलबिरे, चार किलो, कालिखोला क्षेत्रमा साना साना पहिरो गएको थियो। एक तर्फी भए पनि गाडी चलेका थिए। तर टोपे खोलाको पहिरोपछि ठप्पै भयो,’ उनले भने।
 
नारायणगढ मुग्लिन सडकलाई दुई लेनको फराकिलो सडक बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँमा पहिरो गएर बाटो बन्द हुने गरेको छ। राजधानी काठमाडौं जोड्ने मुख्य मार्ग यो सडक हुँदै दिनमा हज्जारौं गाडी ओहोरदोहोर गर्छन्। पहिरोका कारण अघिल्लो सोमबारदेखि लगातार तीन दिन बाटोमा अवरोध भएको थियो। अघिल्लो मंगलबार ११ घण्टासम्म बाटो बन्द भएको थियो।
source:kantipurdaily