बाँकेमा बाढीले थप एकको मृत्यु, मृतकको संख्या तीन पुग्यो

नेपालगन्ज — दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेमा थप एकको मृत्यु भएको छ । अब बाढीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

हुलाकी राजमार्गमाथिबाट बगेको बाढी ।

सोमबार दिउँसो कोहलपुर नगरपालिका-४ गोहवाका ५ वर्षीय रन्जीत पासीको घर नजिकैको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीका बेला नालामा खेल्न गएका उनको पौडिन नजानेर मृत्यु भएको हो ।
 
सोमबार बिहान बैजनाथ गाउँपालिका स्थित जेठी नालामा आएको बाढीले बगाएर बैजनाथ गाउँपालिका-३ का ६५ वर्षीय तुला बुढा र वडा नं ५ का ३५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको छ । बुढा खोला तर्न खोज्दा बगेका थिए भने सुनार बाढीका बेला पौडी खेल्दा बगेर मृत्यु भएको हो । मृतक तीन जनाको शव फेला परिसकेको कोहलपुर प्रहरीले जनाएको छ ।
 
त्यस्तै बाढीका कारण नेपालगन्ज-गुलरिया हुलाकी सडकको खजुरामा अवरोध सृजना भएको छ । पेडारी नालामा आएको बाढी हुलाकी सडकको माथिबाट बग्न थालेपछि अवरोध भएको हो । बाढीले मोटरसाइकल बगाईरहँदा स्थानीयले उद्दार गरेर चालकको ज्यान जोगाएका छन् । वर्षाका कारण नेपालगन्ज जलमग्न भएको छ । नेपालगन्जको सेतु विक चोकमा पानी जमेर पोखरी बनेको छ ।
source:kantipurdaily