चीनको विरोधसामू झुक्यो एयर इन्डिया, हटायो ताइवानको नाम

नयाँदिल्ली: चीनको चर्को विरोधपछि एयर इन्डियाले आफ्नो वेबसाइटमा परिवर्तन गर्दै 'ताइवान' को नाम हटाएको छ । चीनको विरोधपछि भारतीय सरकारी वायु सेवा प्रदायक एयर इन्डियाले ताइवान नाम हटाएर 'चिनियाँ ताइपेई' लेखेको छ। 

समाचार अनुसार एयर इन्डियाले आफ्नो वेबसाइटमा ताइवानलाई एक स्वतन्त्र देशका रूपमा देखाएको थियो । जसको चीनले चर्को विरोध गरेको थियो । चीनको नागरिक उड्डयन प्राधिकरण (सीएएसी) ले यस सम्बन्धमा  २५ अप्रिलमा एक आदेश जारी गरेको थियो । जसमा चीनले ताइवानलाई एक स्वतन्त्र देशको मान्यता नदिएको बताउँदै यस्तो काम सच्च्याउन भनेको थियो । 

यसभन्दा अघि डेल्टा एयरलाइन्स, कन्टास, सिंगापुर एयरलाइन्स, जापान एयरलाइन्स र एयर क्यानाडासमेत विश्वका कयौँ विमान कम्पनीले चीनको विरोधपछि 'ताइवान' को नाम बदलेर 'चिनियाँ ताइपे' राखेका थिए । 

चिनियाँ नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियाको संघाईस्थित कार्यालयमा एक पत्र पठाएर २५ जुलाईसम्म सबै आवश्यक परिवर्तन गर्न भनेको थियो । 

अहिलेसम्म अमेरिकी विमानन कम्पनीले भने यसबारे चीनको आदेश अस्वीकार गर्दै आएको छ । चीनले सुरुबाटै ताइवानलाई एक स्वतन्त्र देशका रुपमा मान्यता दिएको छैन । अमेरिकाले मात्रै ताइवानलाई स्वतन्त्र देश भन्दै समर्थन गर्दै आएको छ । तर चीनले भने ताइवान आफ्नै भूभाग भएको दाबी गर्दै आएको छ । 

चीनल ताइवानलाई आफ्नै एक प्रान्त मान्दै आएको छ । सन् १९४९ मा चीनमा गृह युद्ध समाप्त भएपछि ताइवान एक स्वतन्त्र क्षेत्रका रूपमा सामुन्ने आएको थियो । यहाँ चीन भन्दा अलग्गै सरकार रहेको छ । 

source:annapurnapost