नियमावली टुंगो लागेपछि मात्र नेकपाको सांगठनिक एकीकरण

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नियमावलीले अन्तिम रुप पाएपछि मात्र सांगठनिक एकता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालयको बैठकले प्रस्तावित नियमावलीलाई असार २६ गतेभित्र अन्तिम टुंगो लगाउने गरी तीन सदस्यीय कार्यदल गठन गरेको छ। 

पार्टी स्थायी समिति बैठकले दिएको सुझावका आधारमा परिमार्जनसहित नियमावलीलाई अन्तिम रुप दिन नेता बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सदस्य रहेको कार्यदल गठन भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। 

‘प्राप्त सुझावलाई समेटेर नियमावली तीन दिन भित्रमा अन्तिम रुपम दिने कार्यभार कार्यदललाई दिइएको छ’, प्रवक्ता श्रेष्ठले भने। कार्यदलले नियमावलीलाई पूर्णता दिएपछि पार्टी सचिवालय बैठकले अनुमोदन गर्नेछ। नियमावली अनुमोदनका लागि मंगलबार सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठकले अनुमोदन गरेपछि नियमावली प्रकाशनका लागि पठाइने छ। 

‘असार २६ गते नियमावलीले पूर्णता पाएपछि पार्टीको सांगठनिक एकीकरणको प्रक्रिया सुरु हुन्छ,’ नेता श्रेष्ठले भने।  जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता घाषणा हुँदा तीन महिनाभित्र सबै तहको एकता गर्ने बताइएको थियो। यद्यपी अहिलेसम्म नियमावली नबन्दा केन्द्रमा एकता भए पनि प्रदेश र स्थानीय तहमा पार्टी एकता हुन सकेको छैन। 

source:annapurnapost