थाइल्यान्ड गुफामा फसेका ६ किशोर बाहिर निकालिए (अपडेट)

उत्तरी थाइल्यान्डको गुफामा फसेका १२ किशोर र एक प्रशिक्षकमध्ये छ किशोरलाई बाहिर निकाल्न उद्धार टोली सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गुफामा पानीको मात्रा बढ्ने सम्भावना देखिएपछि आइतबार बिहानबाट उनीहरूको उद्धार सुरु गरिएको हो। पहिलो चरणमा दुई जना र दोस्रोमा चार जना गरी छ जनाको उद्धार गर्न सफल भएको थाइ जलसेनाले जानकारी दिएको छ। गुफाबाट सुरुमा निकालिएका दुई जनालाई हेलिकप्टरबाट ५० माइल टाढाको चियाङराईको अस्पताल लगिएको छ। बाँकी चार जनालाई पनि अस्पताल लगिने बताइएको छ।

दुई सातादेखि गुफामा फसेकाहरूको उद्धार चुनौतीपूर्ण छ। जलसेनाका गोताखोरले उनीहरू हराएको नवौं दिन फेला पारेका थिए। खानपिन र औषधि उपलब्ध गराउने क्रममा दुई दिनअघि एक गोताखोरको मृत्यु भएको थियो।

यी किशोरको उद्धार सक्न कम्तीमा तीन–चार दिन लाग्ने बताइएको छ।

जुन २३ का दिन २५ वर्षीय फुटबल प्रशिक्षक र ११ देखि १६ वर्षबीचका १२ जना किशोर गुफा घुम्न गएका थिए। त्योबेला त्यहाँ पानी थिएन। उनीहरू सरासर भित्र छिरे। भित्र गएपछि अकस्मात् वर्षा भएर गुफामा बाढी पसेपछि उनीहरू त्यहीँ फसे।

लगत्तै उनीहरूको खोजी तीव्र गरिएको थियो। पानीको भेल पसेको गुफाको मूलद्वारबाट करिब ४ किलोमिटर पर उनीहरू भेटिएका थिए।

गुफाभित्र पानीको भेल भएकाले उनीहरूलाई सकुशल निकाल्न समस्या छ। खोजमा संलग्न थाई जलसेनाका अनुसार उनीहरूले बाहिर निस्किन कुशल तरिकामा पौडी खेल्न जान्नुपर्ने थियो। नभए पानीको सतह घट्ने दिनसम्म कुर्नुपर्नेछ। यो भनेको दुई–चार महिना हुनसक्छ।

वर्षायाम भएकाले तत्काल गुफामा पानीको तह घट्ने सम्भावना नभएपछि उनीहरूको उद्धार सुरु गरिएको हो। चट्टानबीचका अँध्यारा–साँघुरा गल्ली हुँदै हिलाम्मे पानीबाट उनीहरूलाई निकाल्न उद्धार टोलीलाई गाह्रो भइरहेको छ।

source:setopati