जुम्ला घटनालाई लिएर संसद छल्न खोजेको भन्दै कांग्रेसद्वारा भर्त्सना

डाक्टर केसी अनसन बसेका जुम्लामा सरकारले दमन गरेर अधिनायकवाद उन्मुख शैली देखाएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले भर्त्सना गरेको छ।

साथै, संसद बैठक ८ गतेसम्मलाई स्थगित गर्ने कार्यप्रति पनि कांग्रेसले खेद प्रकट गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहिबार जारी गरेको विज्ञप्तिमा सरकार अधिनायकवाद उन्मुख हुँदै गएका कारण स्थिति जटिल बन्दै गएको कांग्रेसको निष्कर्ष रहेको उल्लेख छ।

विज्ञप्तिमा चिकित्सा शिक्षा विधेयक फिर्ता गरी अध्यादेश संसदमा पेश गर्न माग गर्दै २० दिनयता अनसन बसिरहेका डाक्टर केसीको जीवन रक्षा गर्नुको सट्टा दमनकारी कार्य गरेको भन्दै विरोध जनाइएको छ।

जुम्लामा भएको दमनको विरोध हुन्छ भनेर संसद छल्न खोजिएको भन्दै कांग्रेसले त्यसलाई गैरजिम्मेवार कदम भनेको छ। ‘डा. केसीको जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पुर्‍याउने जस्ता सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस भर्त्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘जुम्लामा गम्भीर घटना भइरहँदा डा. केसीको माग सम्बोधन गर्नुको साटो प्रतिपक्षीसँग परामर्श गर्ने परम्पराविपरीत प्रतिनिधि सभा बैठक स्थगित गर्ने सरकारको गैरजवाफदेही क्रियाकलापप्रति हामी खेद प्रकट गर्दछौं।’

कांग्रेसले समाधानको खोजी गर्ने थलो संसदलाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुनु पनि सरकार र संसदको नेतृत्वलाई सचेत गराएको छ।

डा. केसीको जीवन रक्षा र अध्यादेशको हुबहु कार्यान्वयन गर्न सदन र सडकमा नेपाली कांग्रेसको विरोध जारी रहने पनि विज्ञप्तिमा जनाइएको छ।

source:setopati