पुनर्निर्माण प्राधिकरणको सीइओमा पुन: ज्ञवाली नियुक्त

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पुन: सुशील ज्ञवाली नियुक्त भएका छन् ।

 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई नियुक्त गरेको हो। प्रधानमन्त्री केपी ओली अघिल्लो कार्यकालमा पनि उनी सिइओ थिए।
 
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले ज्ञवालीलाई हटाएर गोविन्द पोखरेललाई नियुक्त गरेको थियो। पोखरेल राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्न गएपछि तत्कालीन देउवा सरकारले पूर्वसचिव युवराज भूसाललाई सीइओ नियुक्त गरेको थियो।
 
चुनावपछि ओली नेतृत्वको सरकारले देउवा सरकारले गरेका नियुक्तिहरु बदर गरेपछि उक्त पद खाली भएको हो। साढे दुई वर्षको अवधिमा ज्ञवाली पाँचौं पटकमा पुन: सीइओ बनेका हुन्। पहिलो सिइओ पनि पोखरेल थिए। अध्यादेशबाट गठन भएको प्राधिकरणमा पोखरेल पहिलो सीइओ नियुक्त भए पनि संसद्‌बाट प्रतिस्थापन विधेयक समयमा पास नहुँदा खारेजीमा परेका थिए।
source:kantipurdaily