अरुको स्वार्थ बाकेर आउने भरियाहरुबाट सचेत रहनुस्

माघ ५, २०७३- एमालेमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संक्रमणकालीन अवस्थाको निहुँ पारेर संविधान कार्यान्वयन र निर्वाचनबाट भाग्दै गएको आरोप लगाएका छन् । 
    
एमाले जिल्ला कमिटीले बुधबार सदरमुकाममा आयोजना गरेको संविधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियान अन्तर्गत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । उनले सरकार जनताको आवश्यकता भन्दा उल्टो बाटोमा हिँडिरहेको बताए ।

चुनाव संविधान संसोधनसँग सम्बन्धित नभएको उल्लेख गर्दै नेता ओलीले दुई/चार जनाले भनेकै भरमा संविधान संशोधन नहुने दाबी गरे । 'संविधान नेपाली जनताका लागि हो अन्त कतैका मान्छेका लागि हैन,' ओलीले भने, 'अरुलाई चित्त बुझाउन भन्दै संविधान संशोधन गर्न पाइँदैन ।' 

प्रदेश नं ५ को तराई र पहाडलाई एक अर्कामा अलग गराउने षड्यन्त्र सरकारको रहेकाले यसलाई एमालेले सफल हुन नदिने भन्दै प्रदेश नं ५ लाई टुक्र्याएपछि प्रदेश नं ५ टुक्र्याउँदा भयो भन्दै प्रदेश नं १ र २ लाई समेत टुक्र्याउने खेल सुरु गर्ने भएकाले यसमा एमाले अहिल्यैदेखि सचेत बनेको बताए । 

अर्को प्रसंगमा ओलीले एमालेले चुनावको मिति घोषणा गराएरै छाड्ने भन्दै सरकार चुप लागेर बसे आफ्नो पार्टीले चुनाव गराउन नत्थी लाएर भएपनि सरकारलाई बाध्य पार्ने उल्लेख गरे ।

पार्टीले निर्वाचन गराएरै छाड्ने भन्दै निर्वाचनको तयारी लाग्न कार्यकर्तालाई समेत निर्देशन दिए । राष्ट्रियताको अडान कै कारण एमालेलाई तराई विरोधी,जनजाति विरोधी,पहाड विरोधी भन्दै विभिन्न विरोधका शब्दहरु लिएर अरुको स्वार्थ बाकेर आउने भरियाहरुबाट सचेत बन्न समेत ओलीले कार्यकर्ता आग्रह गरे । साथै उनले पार्टीले आगामी फागुन २१ गतेदेखि मेची-महाकाली अभियान सञ्चालन गर्ने बताए ।
  
ओलीद्वारा दु:ख व्यक्त    
पूर्व प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सकारले छिन्ताङ हत्या काण्डका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न नसकेकोमा दु:ख व्यक्त गरे । सहिद घोषणाको अन्तिम तयारीका अवस्थामा सरकारबाट बाहिरिनु पर्दा आफ्ना नेतृत्वको सरकारले गर्न नपाएको महत्वपूर्ण कार्य भन्दै दु:ख लागेको उल्लेख गरे । 

आफ्नो पार्टीले सहिद घोषणा गरिसकेको भन्दै राष्ट्रिय रुपमा घोषणा गर्न दबाब दिने बताए । 'छिन्ताङ् हत्याकाण्डका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा सरकार पुगेको थियो,'  उनले भने, 'त्यसका लागि आवश्यक प्रक्रिया र तथ्यांक संकलनको काम भइरहेकोबेला सरकारबाट बाहिरिनु पर्‍यो ।' 

यसैगरी पटक-पटक सरकारमा जाँदा समेत कांग्रेसले धनकुटा सहिद भीमनारायण श्रेष्ठलाई राष्ट्रिय सहिद घोषणा गर्ने हिम्मतसम्म नगरेको भन्दै आफ्नो नेतृत्वमा रहेको सरकारले श्रेष्ठलाई उक्त सम्मान दिलाएको उल्लेख गरे ।  

भेलालाई नेकपा एमालेका सचिव एवं प्रदेश नं १ का संयोजक भीम आचार्य, केन्द्रीय सदस्य जयन्ती राई ,जिल्ला अध्यक्ष राजेन्द्र राई लगायतले सम्बोधन गरेका थिए । 

(Content Source: Ekantipur)