एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात

धादिङ – उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगलभित्र लटरम्म पाकेका कफीका बोट। किसानलाई टिप्न भ्याई नभ्याई छ। टन्टलापुर घाममा कफी टिप्न बारीभरी किसानको लर्को लाग्ने गर्छ।

बारीभरी कफीबोटले ढकमक्क हुने गरेपछि त्यस ठाउँलाई समेत कफीडाँडाको रुपमा चिनिने गर्दछ। जिल्लाको सिद्धलेक गाउँपालिकाको नलाङमा पर्ने यस क्षेत्रमा कफी खेती गरेर करोड कमाउने गर्दछन्। यहाँ उत्पादन भएका कफी देशका विभिन्न ठाउँ तथा विदेशमा समेत निर्यात हुने गर्दछ।

नलाङका किसानले उत्पादन गरेको एउटै कफी फार्मबाट ५ करोड बराबरको कफी उत्पादन गरि विदेश निर्यात गरेका छन्। अर्गानिक कफी उत्पादनमा निकै नै चर्चा बटुलेको हिमालयन अनटप अर्गानिक कफी स्टेट प्रालि नलाङले गतवर्षको उत्पादनबाट ५ करोड रुपैयाँ बराबरको कफी युरोपियन मुलुक नर्वेमा निर्यात गरेको बताएका छन्।

५ वर्षअघि देखिबाट सुरु गरिएको कफी खेतीले आम्दानी बढाएको छ भने किसानलाई रोजगारी समेत मिलेको फार्मका संचालक नीलकण्ठ रेग्मीले बताए। ‘५ वर्षअघि बाट सुरु गरिएको उक्त फार्ममा गत वर्षबाट राम्रो उत्पादन दिन सुरु गरेको हो’ रेग्मीले भने, ‘उत्पादन गरिएको कफी नर्वेका बजारमा निर्यात हुन थाले पछी किसानहरू उत्साहित भएका छौँ।’ यस वर्षपनि कफीको उत्पादन राम्रै भएकाले गतवर्षको भन्दा यस वर्ष निर्यातदर झनै बढ्ने रेग्मीले बताए।

नलाङमा २ सय ५० रोपनी क्षेत्रफलमा कफी खेती लगाइएको छ। अहिले ५२ हजार कफीका विरुवा छन्। त्यसमध्ये १८ हजार बोटबाट उत्पादन सुरु भएको छ। गत वर्षको उत्पादनबाट ११ टन कफी नर्वे पठाइएको रेग्मीले बताए। गत वर्ष भन्दा बढी कफी उत्पादन भएको र बजारीकरणको लागि पनि सहज भएको उनले बताए।

‘प्रत्येक वर्ष उत्पादन दर बढाउने योजना छ’ रेग्मीले भने, ‘यस वर्ष झनै उत्पादन बढ्ने अनुमान गरिएको छ।’ उत्पादनसँगै कफीको माग बढ्न थालेको छ। प्रत्येक वर्ष नयाँ कफीका बोटहरु थप्दै जाने रेग्मीले बताए। नर्वे लगायत युरोपियन मुलुकहरूमा अर्गानिक कफीको माग उच्च रहेकोले जति उत्पादन गरेपनि निर्यातको लागि सहज भएको र भाउपनि राम्रो आउने गरेको किसानको भनाइ छ।

नलाङको फार्ममा उत्पादित कफी नर्वेका बजारमा निर्यात हुन थाले पछी अन्य किसानहरू उत्साहित भएका छन्। विषादीको प्रयोग नगरिएको अर्गानिक कफी अहिले फार्मबाटै प्रति किलोको ४ हजार रुपैयाँमा व्यापारीहरूले लैजाने गरेका छन्। कफी फार्म भित्रै संचालकहरूले कन्ट्री प्याराडाइज नामक कफी रिसोर्ट समेत चलाएका छन्।

ठूलो क्षेत्रफमा लगाएको कफीका बोट र जंगलको बीचमा चलाइएको रिसोर्टबाट पनि राम्रै आम्दानी भइरहेको संचालक रेग्मीले बताए। उक्त कफीफार्म र रिसोर्टबाट स्थानीयहरूले पनि रोजगारी पाएका छन्। १४ जना आवासीय कामदारहरू रहेका छन भने कफी टिप्ने, गोडमेल गर्ने बेलामा ५० जनाभन्दा बढी मौसमी कामदारहरुले पनि रोजगार पाएका छन।

कफीको पकेट क्षेत्रको रुपमा मानिने यस क्षेत्रमा किसानहरूलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम समेत आयोजना गरिदै आएको छ। जिल्ला कृषि विकास कार्यालय धादिङले किसानहरूलाई तालिम, बोटविरुवा तथा आवश्यक सामग्रीहरू पनि प्रदान गर्दै आइरहेको छ। जिल्लाभरी करिव २० हजार किलोग्राम गत साल अर्गानिक कफी उत्पादन भएकोमा यस वर्ष भने उत्पादन दोब्बर हुने कार्यालयले जनाएको छ। विशेषगरी धादिङको नलाङ, सलाङ र कुम्पुरमा कफीको ब्यवसायीक खेती सुरु भएको छ।

कफी खेती कमै मात्रामा गर्ने धादिङका किसान अहिले व्यवसायिक रुपमा नै खेती गरेर आम्दानी लिने गर्दछन्। धादिङका किसानका लागि नयाँ खेती भएपनि अहिले उत्पादन राम्रो भएपछि आकर्षित भएका छन्। बजारमा अर्गानिक कफीको माग अत्याधिक रहेपनि उत्पादित कफीले बजार धान्न नसकेपछि अहिले नयाँ किसानहरु पनि ब्यवसायिक कफी खेतीतर्फ अग्रसर छन्। धादिङका ग्रामीण भेगका धेरै जसो किसानहरूले दश, पन्ध्र बोट मात्र कफी परिक्षणको रुपमा लागएका छन् भने त्यसबाट भएको उत्पादन घरायसी रुपमा मात्र प्रयोग गर्ने गरेका छन्।

नलाङमा उत्पादित कफी फार्म हेर्नकै लागि विभिन्न ठाउँहरूबाट मानिसहरु आउने गरेका छन्। रिसोर्टमा दिनहुँ विदेशी पर्यटकहरू कफी फार्म घुम्न र बास बस्न आउने गरेका छन। यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि स्थानीयहरूले विभिन्न अभियान चलाएका छन्। कफी उत्पादन भएका क्षेत्रमा संकलन, व्यवस्थापन र विक्री वितरणमा सरकारले पनि चासो दिनुपर्ने किसानहरूको माग छ। अन्तर्राष्ट्रिय बजारको माग अनुसार कफी निर्यात बढाउन नसकिएको किसानहरूको भनाई छ।

नेपालमा कफीको इतिहास ७८ वर्ष पुरानो छ। हिरा गिरीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको श्रेय दिइन्छ। बर्मामा जागिरे रहेका उनले सन् १९९५ मा बर्माबाट अरेबिया जातको बोट गुल्मीमा भित्र्याएका थिए। त्यही बोटबाट नेपालका ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ।

source:nagarik