कांग्रेसमा विवादः चुनावी हारको जिम्मा कसले लिने ?

काठमाडौं । विहान ९ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझैसम्म सुरु हुन सकेको छैन । महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी छ ।

तर, निर्धारित समयको ८ घन्टा वित्दा पनि केन्द्रीय समिति बैठक सुरु हुन सकेको छैन ।

नेताहरु गफिएर बसेका छन् । केही नेताहरु भने सहमतिको प्रयासमा दौडधुपमा छन् ।

चुनावी हारको जिम्मा कसले लिने भन्नेमा देउवा र रामचन्द्र पौडेल समूहको फरक धारणा छ । देउवा समूह वाम गठबन्धनका कारण चुनाव हारियो भन्ने निष्कर्षसहित बैठक सम्पन्न गर्न चाहन्छ भने पौडेल समूह त्यति मात्र होइन भन्ने पक्षमा छ ।

गगन थापा, प्रदीप पौडेलसहितका युवा नेताहरुले सभापतिले जिम्मा लिुन पर्ने बताएका छन् ।

सानेपामा रहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘कार्यक्रममा विवाद छैन । हारको जिम्मा कसले लिने भन्नेमा सहमति नहुँदा महामन्त्रीको प्रतिवेदन तयार हुन सकेको छैन ।’

सहमतिको प्रयास लम्बिएपछि चुनावी समिक्षाको प्रस्ताव पार्टी सभापतिले ल्याउने र त्यसमा सहमत नहुनेहरु आफ्नो राख्ने विकल्प पनि नताहरुले दिएका छन् ।

source:kantipur