आपराधिक गतिविधिमा संलग्न सांसदको पद निलम्बन नहुने

काठमाडौँ — आपराधिक गतिविधिमा संलग्न सांसदको पद निलम्बन नहुने भएको छ ।प्रतिनिधि सभा नियमावाली मस्यौदा समितिले सांसदहरुले आपराधिक काम गरे पनि उन्मुक्ति दिने गरी सहमति गरेको छ ।

समितिले अपराधिक कार्यमा सांसदहरु संलग्न भए पनि निलम्बन नहुने व्यवस्था गरेको हो।
 
गत वर्षसम्म अपराधिक कार्य गर्ने सांसदलाई निलम्बनको व्यवस्था थियो।
 
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आपराधिक कार्य गरी पुर्पक्षका लागि थुनामा जाँदा निलम्बन गर्नुको सट्टा सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ।
 
समितिका सभापति कृष्णभक्त पोखरेलले शब्दमा निलम्बन भन्ने नराखे पनि पुर्पक्षमा गएका सांसदको सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने बताए।
 
समितिमा एमालेका सांसदहरुले आपराधिक कार्य गर्ने सांसदलाई निलम्बनमा गर्नुपर्ने पक्षमा थिए भने कांग्रेस, राजपा र फोरम निलम्बन गर्न नहुनुपर्ने पक्षमा थिए। माओवादीका सांसदहरु सेवासुविधा रोक्नुपर्ने पक्षमा थिए।
 
समितिमा विवाद रहेको विषयगत समितिकोसंख्या पनि शनिबारको बैठकले टुंगो लगाएको छ।
 
पोखरेलका अनुसार विषयगत समिति अब १० वटा हुनेछन्। ‘केही सदस्यहरुको फरक मतसहित १० वटा समिति रहने सहमति भएको छ,’ पोखरेलले भने।
 
बैठकमा कांग्रेस सांसदहरुले ७ वटा विषयगत समिति हुनुपर्ने प्रस्ताव राखेका थिए।
 
नियमवालीमा सहमति जुटेपछि आइतबार हुने संसदको बैठकमा पेस हुनेछ।
source:kantipur