चारोकै खोजीमा भौँतारिनुपर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारको खोजीमा विदेश धाउनुपर्ने अवस्थाको अन्त्य गरिछाड्ने अठोट दोहोर्याएका छन् ।
व्यवस्थापिका–संसद्मा सरकारले पेश गरेको नीति तथा कार्यक्रमा सांसद्हरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले चारोकै खोजीमा विदेश धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्घोष गरे ।

 

उनले नेपाललाई केही वर्षभित्रै पहिलो विश्वमा पुर्याउन सरकार प्रतिवद्ध रहेको र त्यो सपना देख्ने किसिमको नीति तथा कार्यक्रम रहेको औँल्याउँदै ‘महत्त्वाकांक्षी’ भएको भन्ने सांसद्हरूको टिप्पणी ठिकै भएको तर्क गरे ।

 

“सपनै देख्न नहुने श्रापित (अभिशप्त) त हामी छैनौँ होला,” उनको तर्क थियो । “नेपाललाई पहिलो विश्वमा पुर्याउन पाइँदैन, पुग्नै नसक्ने अभिशप्त हो ? कति वर्ष लाग्छ, बेग्लै कुरा हो, शुरूआत यो सरकारले गर्छ,” उनको भनाइ थियो । उनले जनताले दोस्रो नागरिकको अनुभूति गर्न नपरोस् भनेर सरकारले काम गरिरहेकोसमेत बताए । यो सधैँ ल्याइने चल्ते चलाते नीति कार्यक्रम होइन, कर्मकाण्डी छैन,” उनको प्रष्टोक्ति थियो ।

 
 

केही वर्षभित्र काठमाडौँमा धूलो उड्दैन
सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्रै काठमाडौंमा धूलो नउड्ने जिकिर गरे । मेलम्चीको पानी ल्याउने प्रक्रियाले सडक भत्कँदा र निर्माणधीन अवस्थामा रहँदा धूलो उडेको जिकिर गर्दै केही समय यता त्यसमा सुधार आएको जिकिर गरे ।

 

“नक्सा कोरेको होइन, बाटो बनाएको हो, धूलो त उड्छ । तर, कम भएको छ,” उनले भने । “केही वर्षभित्रै काठमाडौँमा धूलो नउड्ने बनाइन्छ । प्रकृतिले निःशुल्क उपलब्ध गराएको हावा फेर्न पाउने अवस्था निर्माण गरिनेछ,” उनको भनाइ थियो ।

 

उनले तीन वर्षमा नबनेको धरहरा, रानीपोखरी, पुनर्निर्माणका काम तीन महिनामा नबनेको भन्दै प्रश्न उठाइनु सरकारप्रति उच्च विश्वासको प्रतिविम्ब भएको औँल्याए ।
उनले दुई वर्षअघि आफूले मै बनाउँछु मेरो धरहरा कार्यक्रम शुरू गरिएको भए पनि त्यसले पूर्णता नपाएकोप्रति दुःख व्यक्त गरे ।

 

“दुई वर्षअघि ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रम शुरू गरेको थिएँ । दुई वर्षपछि जाँदा पनि जस्ताको तस्तै रहेछ, अब त्यो काम पुनः शुरू हुन्छ,” उनले भने ।
सुनलगायत सबैप्रकारका तस्करी, ढिलासुस्ती, भ्रष्टाचार अन्त्य गर्न, प्रशासन सुव्यवस्थित बनाउन लागिपरेकोसमेत बताए ।

 

त्यस्तै प्रधानमन्त्री ओलीले सिमानामा अब बाँध नबाँधिने र सीमावर्ती क्षेत्र डुवानमा नपर्ने दाबी गरेका छन् । उनले यसअघि भारतले बाँध बाँधेका क्षेत्र र डुवानमा परेका ठाउँहरू दुवै देशको संयुक्त टोली बनाएर अध्ययन भइरहेकोसमेत उनको भनाइ थियो ।

 

प्रधानमन्त्रीले भारतसँग सम्बन्ध सुधार भएको र कलकत्तामा सम्पन्न नेपाल–भारत प्रवुद्ध समूहको बैठकले सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले विराटनगरमा खोलिएको भारतीय फिल्ड अफिस हटेको बताउँदै भारतले अब कुनैपनि थिचोमिचो गर्न नसक्ने दाबी गरे ।

 

हेर्दाहेर्दै कोसीबाट समुद्रमा पुग्छौँ 
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम, उत्तरदक्षिण र काठमाडौँ रक्सौल रेल पाँच वर्षभित्रै गुड्ने दाबी गरेका छन् । नीति तथा कार्यक्रममाथि जवाफ दिँदै प्रधानमन्त्रीले आफूले निदाएका बेला रेलको सपना देखेको र ब्युँझिएर नभनेको बताएका छन् ।

 

उनले केहीवर्षभित्रै कोसीबाट समुद्रसम्म जलमार्ग सञ्चालन हुने, त्यसविषयमा भारतसँग लिखित सम्झौता भइसकेको बताउँदै नेपाल अब ‘ल्यान्डलक्ट्ड’ देश नभएको बरु ल्यान्डलिङ्क्ड  कन्ट्री रहेको औँल्याएका हुन् ।

 

“भूपरिवेष्टित मुलुक मंगोलियाले पनि समुद्रमा जहाज कुदाउँछ । हामीले पनि नसक्ने होइनौँ । छिट्टै समुद्रमा जहाज चलाउँछौ,” उनको भनाइ थियो ।
समृद्धिको चाहना फगत सरकारको सपना नभएकाले सबैले सहयोग गर्नुपर्ने र खुसी हुनुपर्ने बताए । सदन सांसद्हरूलाई सम्वोधन गर्दै उनले थपे, “मन दुखाउनुपर्ने कुनै कारण छैन । तर, साथीहरूको चित्त प्रशन्न देख्दिनँ ।

 

उनले काठमाडौँमा ३ वर्षभित्रै मेट्रो रेल चल्ने दाबी गरे । त्यसका लागि काठमाडौँ महानगरपालिकाले सम्झौता गरिसकेको र ३ महिनामा सम्भाव्यता र ६ म महिनाभित्रै डीपीआर बनिसक्ने दाबी गरे ।

 

उनले सरकारको नीति तथा कार्यक्रममा व्यापक समर्थनभाव, विश्वासले अपेक्षा देखिएकोसमेत जानकारी दिए ।
उनले मन्त्रिपरिषद्को बैठक कागजको चाङ राखेर नभइ ल्यापटप राखेर गर्न थालिसकिएकाले परिवर्तन दिवा स्वप्न नभएको जिकिरसमेत गरे ।

 

संविधान संशोधन हुन्छ 
प्रधानमन्त्री ओलीले संविधान संशोधन हुने बताएका छन् । उनले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने जानकारी दिँदै बसेर सल्लाह गर्नुपर्ने जिकिर गरे । संविधान संशोधन नगर्दा निरङ्कुशता जन्मने खतरा रहेको उनले औँल्याए ।
लोकतन्त्र र बराबरीको सिद्धान्तमा चलको सरकाले सामाजिक न्याय र समानताको पक्षमा काम गर्ने र कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।
उनले संविधान संशोधन हल्लाको विषय नभएको र संशोधन नै गर्न नसकिने विषय नभएको उनको प्रष्टोक्ति थियो ।
उनले राष्ट्रिय एकतालाई वैमनस्यता र कटुताको विषय बनाउन नहुने, सहअस्तित्वको भावनामा चल्नुपर्ने बताए ।

source:baarhakhari