तीन वर्षपछि बन्ने भयो धरहरा, आइतबार टेन्डर गरिँदै

काठमाडौं । भूकम्पको तीन वर्षपछि बल्ल धरहरा पुनर्निर्माणको काम अघि बढ्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबार धरहरा पुनर्निर्माणका लागि टेन्डर आह्वान गर्ने बताएको छ ।

 

टेन्डर आह्वानमा परेका निर्माण कम्पनी प्राविधिक र आर्थिक रुपमा सक्षम रहे–नरहेको मूल्यांकन गरी करिब दुई हप्तापछि निर्माण कम्पनीलाई ठेक्का लगाइने प्राधिकरणले जनाएको छ । 

 

“निर्माण कम्पनीको मूल्यांकनलगायत सम्पूर्ण तयारी सकी असार मसान्तसम्म धरहरा निर्माणको ठेक्का लगाइसकिने छ,” राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सरकारी भवन, सम्पदा संरक्षण तथा पूर्वाधार महाशाखा प्रमुख राजुमान मानन्धरले भने, “छनोटमा परेको निर्माण कम्पनीले प्राधिकरणबाट कार्यादेश पाएको २ वर्षभित्र धरहराको निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।” 

 
 

 

कुल लागत करिब ४ अर्ब रुपैयाँ रहने धरहरा पुनर्निर्माणका लागि नेपाल टेलिकमले सरकारलाई १ अर्ब रुपैयाँ सहयोग प्रदान गर्नेछ । धरहरा पुनर्निर्माणकै लागि स्थापना गरिएको ‘म आफैं बनाउँछु मेरो धरहरा’ नामको सरकारी कोषमा सर्वसाधारणबाट हालसम्म करिब २४ करोड रुपैयाँ जम्मा भइसकेको र जम्मा हुने क्रम जारी रहेको प्राधिकरणले जानकारी दिएको छ ।

 

धरहराको पुनर्निर्माण गत वर्षबाटै नेपाल टेलिकमले गर्ने बताए पनि टेलिकमले बनाएको डिजाइन पुरानोजस्तो नभएको र धरहरामा व्यपारिक प्रयोजन गर्न खोजेको निष्कर्षका साथ पुरातत्व विभागले टेलिकमलाई धरहराको उक्त डिजाइन परिमार्जन गर्न निर्देशन दिएको थियो ।

 

नेपाल टेलिकमले उक्त डिजाइनमा कुनै परिमार्जन गर्न नमानेपछि काठमाडौं महानगरपालिकाले धरहरा पुनर्निर्माणमा चासो देखाएको थियो । यसअघि काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माणमा उल्लेखनीय काम गर्न नसकेको र धरहरा पुनर्निर्माणको जिम्मा महानगरपालिकालाई दिँदा समयमै निर्माण सम्पन्न हुन नसक्ने र निर्माणका क्रममा विवाद निम्तिन सक्ने बताउँदै प्राधिकरणले गत वर्षको भदौमा धरहराको पुनर्निर्माण प्राधिकरण आफैंले गर्ने बताएको थियो । 

 

भदौपछि प्राधिकरणले सुन्धारास्थित धरहरा क्षेत्रका घर, टहरा हटाउन, थप क्षेत्रफलको नापजाँच, जग्गाको नक्सा अध्ययन र नयाँ बन्ने धरहराको शैली र स्वरुपबारे छलफल गरी डिजाइन तयार गर्दा करिब १ वर्ष समय खर्चिएको छ ।

 

धरहरा पुनर्निर्माणको जिम्मा आफैले लिएको प्राधिकरणले उल्लेखित कामहरु विभिन्न चरणमा गरी पुरा गरिसकेकाले यही असार ३ गते यसको पुनर्निर्माणका राष्ट्रिय स्तरका नेपाली निर्माण कम्पनी छनोटका लागि टेन्डर खोल्ने भएको हो ।

 

साविक स्थानमा नयाँ बन्ने धरहरामा २२ तला रहने छन् भने यसको उचाइ ६९.२ मिटर रहने छ । धरहरामा गजुरको भाग ११ मिटर गरी कुल उचाइ ८०.२ मिटर रहने महाशाखा प्रमुख मानन्धरले बताए ।

 

प्राधिकरण आफैंले तयार पारेको नयाँ डिजाइनअनुसार कुल २४.२ रोपनी क्षेत्रफल ओगट्ने धरहरा निर्माणका लागि धरहरा क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकको टक्सार विभाग र गोश्वारा हुलाक कार्यालय भत्काइने छ ।

 

राष्ट्र बैंकको टक्सार विभाग कार्यालय यसअघि नै त्यहाँबाट हटिसकेको छ भने गोश्वारा हुलाक कार्यालय हाल सुन्धारामै सञ्चालित छ । धरहरा पुनर्निर्माण गरिँदा गोश्वारा हुलाक भत्काइने र उक्त कार्यालयलाई डिल्लीबजारमा सारिने प्राधिकरणको तयारी छ । 

 

यसका लागि गोश्वारा हुलाकलाई डिल्ीलबजारमा १५ रोपनी जग्गा उपलब्ध गराइने मानन्धरले बताए । टक्सार विभागले ओगटेको जग्गाको मूल्यबराबरको रकम सरकारले राष्ट्र बैंकलाई प्रदान गर्ने र विभागले तत्कालीन समयमा मुद्रण गर्ने विभिन्न प्रकारका सिक्काहरुको संग्रहालय पनि धरहरा परिसरमै स्थापना गरिने छ । 
गोश्वारा हुलाक भत्काई डिल्लिबजारमा सार्ने प्राधिकरणको तयारी भए पनि यसबारे आफूहरुलाई कुनै जानकारी नभएको हुलाककी प्रशासकीय अधिकृत निर्मला थापाले बताइन् ।

 

“यहाँ धरहरा पुनर्निर्माण हुने सुनेका हौं । तर मन्त्रालय र प्राधिकरणबाट हाम्रो भवन भत्काइनेबारे कुनै जानकारी आएको छैन,” उनले भनिन् । धरहराको पूर्वी भागमा पोखरी, ग्रिनपार्क, गार्डेन र म्युजिकल फाउन्टेन रहने छ ।

 

धरहरामा प्रवेश गर्नका लागि एलिभेटर प्रयोग गरेर पहिला दुईतला तल गई पुनः लिफ्ट प्रयोग गरेर आफूलाई आवश्यक तलामा जान सकिने किसिमको डिजाइन गरिएको छ । विदेशी पर्यटकलाई लक्षित गरी भूइँका दुई तलामा नेपाली हस्तकलाका र परम्परागत नेपाली सामग्रीहरु बिक्रीका लागि राखिने छ । जम्मा २२ तला रहने धरहराको एक तलाको औषत उचाइ करिब ३.५ मिटर रहने छ । भुइँका २ तलामा पर्याप्त सवारी पार्किंङ स्थल रहने छ ।

 

पार्किङ स्थल, म्युजिक फाउन्टेन, लिफ्ट र एलिभेटरमा प्रयोग हुने आधुनिक विद्युतीय सामग्री विदेशी मुलुकबाट आयात गरिने र अन्य आवश्यक निर्माण सामग्री नेपालकै प्रयोग गरिने महाशाखा प्रमुख मानन्धरले बताए ।

 

भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको धरहरा पुनर्निर्माणमा नेपाल टेलिकम, पुरात्व विभाग र काठमाडौं महानगरपालिकाबीच बारम्बार छलफल, चासो, चर्चा र रस्साकस्सी हुँदै आए पनि अन्ततः प्राधिकरण आफैले यसको पुनर्निर्माण सुरु गर्नुलाई विभिन्न मन्त्रालयले ‘प्राधिकरणको परीक्षा’का रुपमा बुझेका छन् । 
“अन्तर्राष्ट्रिय दातृ निकाय र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा पुनर्निर्माण गरिहेको प्राधिकरणलाई धरहराको पुनर्निर्माण एउटा चुनौति र उसको कार्यसम्पादन क्षमताको परीक्षा ठहर्ने छ,” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकृतले बताए ।

 

पछिल्लो समय गृह मन्त्रालयले मुलुकमा निर्माणधीन आयोजना तथा विकास–निर्माण गतिविधि यथासक्य चाँडै सक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएपछि प्राधिकरण धरहरा निर्माणमा थप अग्रसर देखिएको पनि विभिन्न मन्त्रालयको बुझाइ छ ।

source:baarhakhari