बेरुजुमा संलग्नलाई कानुनी कारबाही : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले सरकारी कार्यालयहरुमा बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने बताएका छन् । महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षणसम्बन्धी बैठकमा मंगलबार सिंहरदबारमा सम्बोधनका क्रममा उनले उक्त धारणा राखेका हुन् ।

 

 
'के कारणले बेरुजु भएको हो ?' प्रधानमन्त्री ओलीले भने, 'जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो, त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।' उनले बेरुजु बढ्नु मुलुकको सुशासनका लागिसमेत राम्रो संकेत नभएको बताए ।
 
उनले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताए । 'नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाति होइन' प्रधानमन्त्री ओलीले भने, 'तर, हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनु पर्दछ ।'
 
राजनीतिक नेतृत्व पनि आर्थिक नियम, कानुनभित्र बस्नु पर्ने भन्दै उनले यस विषयमा गम्भीर हुन नेताहरुलाई आग्रह गरे ।
 
बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक वर्ष २०७४/०७५ मा ४८ अर्ब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए ।
source:kantipurdaily