तक्मा पाउँछु भन्ने आशा थियो तर जेल हाले : कंसाकार

नेपाल वायुसेवा निगम अर्थात् ‘आरए’का महाप्रबन्धक सुगतरत्न कंसाकार मंगलबार आफ्नै निवासमा साँझ बडो सन्तुष्ट भेटिए । त्यो स्वाभाविक नै थियो । त्यसको भोलिपल्ट बुधबार (१६ साउन)बाट आरएले इतिहासमै पहिलोपटक आफ्नै वाइडबडी जहाज उडाउँदै थियो । त्यसको तयारी सकेर ढिलो गरी उनी निवासमा आइपुगेको उनको अनुहारमा जति आत्मसन्तुष्टि देखिन्थ्यो, भावभंगीमा त्यति नै दृढता पनि ।

आफ्नै प्रयासमा निगममा ४ वटा नयाँ जहाज भित्र्याउन सफल भएका उनी बताउँदै थिए, ‘यो त टेक–अफ मात्रै हो, निगमले निकै लामो उडान गर्न बाँकी छ ।’ अब आरएमा ब्याक गियर नलाग्नेमा उनी ढुक्क थिए । तत्कालै उनले अर्को उत्साहपूर्ण विषय सुनाइहाले– आजै मात्रै निगम कार्यकारी समितिले अन्तर्राष्ट्रिय उडानमा जहाजको संख्या १७ र आन्तरिक उडानमा २० पु-याउने निर्णय गरेको छ ।


कुनै समय करिब जहाजविहीन भइसकेको नेपाल एयरलायन्सलाई कंसाकारले नवजीवन दिएका छन् । २८ वर्षसम्म एउटा पनि जहाज नकिनेको निगमसँग अहिले ४ वटा नयाँ जहाज छन् भने एउटा पुरानो जहाजले पनि सेवा दिइरहेको छ । विकास निर्माण ठप्प रहेको, नेतृत्वमा बस्नेहरू निर्णय गर्न डराइरहेको अवस्थामा नेपाल एयरलायन्समा यो कसरी सम्भव भइरहेको छ ? हामीले यही जिज्ञासा कंसाकारलाई राख्यौँ । उनले ९ वर्षअगाडिको इतिहास यसरी कोट्याए ।

‘त्यसवेला नेपाल वायुसेवा निगमको महाप्रबन्धक मै थिएँ । एकैपटक ६ वटा जहाज ल्याएर अन्तर्राष्ट्रिय उडानमा निगमको बलियो पक्कड जमाउने मैले योजना बनाएँ । सोहीअनुसार निगमले एक न्यारोबडी र एक वाइडबडी जहाजका लागि टेन्डर आह्वान ग-यो । करिब तीन दशकदेखि जहाज किन्न नसकेको निगमका लागि नयाँ जहाज अर्डर गरेको थिएँ । राष्ट्रिय ध्वजाबाहकको सेवा विस्तार हुँदा पर्यटक बढ्ने विश्वास थियो । त्यसैले उक्त निर्णय र त्यसको कार्यान्वयनसँगै राष्ट्रपतिबाट तक्मा पाइन्छ भन्ने लागेको थियो । तर, तक्मा दिनुको साटो जेलमा हाले ।’

साँच्चै सञ्चालक समितिको स्वीकृतिविनै एयरबस कम्पनीलाई बैना पठाएको आरोपमा उनलाई त्यसवेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । उनी हिरासतमा बस्नुपरेको थियो । विमान खरिद प्रक्रिया पनि लामो समय अवरुद्ध भएको थियो । सम्झौताअनुसार बैना फिर्ता गर्न एयरबस बाध्य थिएन । तर, उसले बैना फिर्ता गरिदियो र कंसाकारले अदालतबाट सफाइ पाए ।

त्यसवेला नेपाल युरोपेली युनियनको हवाई कालोसूची (प्रतिबन्ध)मा थिएन । बजार खुला थियो । त्यसकारण पनि नेवानिलाई निकै माथि लान सकिन्छ भन्ने विश्वास थियो । तर, ‘तर, उल्टै मलाई नै सिकार बनाइयो । स्वयं नेपाल एयरलायन्स पनि सिकार बन्यो ।’

विदेशी विमान कम्पनीले एकैपटक ५०, ६० जहाज अर्डर गर्छन् । तर, नेपालमा भने सकेसम्म आरएलाई जहाज अवरोध हुन्छ किन ? कंसाकार भन्छन्, धेरै मानिस नेपाल एयरलायन्सले जहाज चलाउन सक्ला र ? भन्दै अविश्वास गर्छन्, त्यसैले होला । तर, पछिल्लो समय निगमले आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको उनी बताउँछन् । यद्यपि, काम गर्न खोज्ने कर्मचारीलाई तर्साएर काम हुन नदिने र आफ्नो स्वार्थसिद्धि गर्नेहरू अझै पनि सक्रिय रहेको उनको अनुभव छ ।

अहिले आरए बोइङ कम्पनीका पुराना जहाज विस्थापित गरी एयरबस जहाजमा केन्द्रित भएको छ । तर, प्रारम्भमा निगम यी जहाज विस्थापित गर्ने पक्षमा थिएन । कंसाकार भन्छन्, नेवानिजस्तो थोरै हवाईजहाज हुने वायुसेवा कम्पनीमा एउटै ब्रान्डका जहाजको संख्या अलि धेरै भएपछि मात्र दोस्रो ब्रान्डमा जानुपर्छ भन्ने मान्यता छ । तर, टेन्डर प्रक्रियामा जाँदा बोइङलाई एयरबसले उछिन्यो, अन्ततः नेपालमा एयरबस युगको सुरुवात भयो । कंसाकारकै पालामा सुरु भएको प्रक्रियालाई टेकेर अन्ततः सन् २०१५ मा पहिलोपटक एयरबस ३२० जहाज नेपाल ओर्लिएको थियो ।

उनी पहिलोपटक जहाज खरिद गर्ने वेला पनि बोइङसँग सीधै सम्पर्क गरेर बिनाटेन्डर छोटो प्रक्रियाबाटै जहाज ल्याउने पक्षमा थिए । किनभने, सार्वजनिक खरिद प्रक्रियाअनुसार एउटा जहाज किन्न ३ वर्ष लाग्थ्यो । नेपाल टेलिकममा काम गर्दा उनले टेन्डरमा हुने जालजेललाई नजिकबाट नियालेका थिए । अर्कातिर, ‘पोलिटिकल प्राइस’का कारण अर्को कम्पनी छिर्ने सम्भावना पनि हुन्थ्योे ।

तर, मन्त्रिपरिषद्बाट जहाज किन्ने निर्णय गराउन उनी असफल भए । र, टेन्डरमा गए । टेन्डर प्रक्रियामा गएपछि त्यसवेला एयरबसले अन्य मुलुकलाई बेच्नेभन्दा नेपाललाई करिब २० करोड रुपैयाँ कम मूल्यमा एयरबस ३२० जहाज दिएको उनी बताउँछन् । ‘बोइङ चलाइरहेकाले एयरबस खरिद गर्दा समस्या हुन्छ कि भन्ने डर थियो । तर, अहिले भने टेन्डर गर्दा राम्रै परिणाम निस्किएछ भन्ने उनलाई लागेको छ । ‘पहिलो त सस्तोमा जहाज पाइयो, दोस्रो पछिल्लो समय बोइङको तुलनमा एयरबसको बजार विस्तार राम्रो छ र सञ्चालन सजिलो भएको छ,’ उनी भन्छन् ।

पछिल्लो समय २ वटा वाइडबढी खरिद गर्दा ग्लोबल टेन्डर गरियो, ६ वटा मुलुकका १० कम्पनीले भाग लिए । ‘हामीले अलिकति पुरानो जहाज भए पनि हुन्छ भनेर टेन्डर गरेको र ब्रान्ड न्यू जहाज नै पाइयो । त्यो पनि एयरबसले दिनेभन्दा पनि कम मूल्यमा,’ उनले भने । दुवै वाइडबडी आइसकेपछि बजारमा चलेका अनियमितताका हल्लाको जवाफ पनि थियो यो । ‘हामीलाई त यसपालि आकाश भैरवले हेरेको हो कि पशुपतिनाथले । नेपालले यति सहजै नयाँ जहाज पायो, यति हुँदाहुँदै पनि कर्मचारीलाई अनेक बहानामा तर्साउन छोडिएको छैन । यो गलत भइरहेको छ,’ उनी भन्छन् ।

नेपाल प्रक्रियामा रमाइरहेको मुलुक हो । उनको मूल्यांकन छ, ‘रिजल्ट जेसुकै होस्, कसैलाई मतलब छैन, प्रक्रिया ठीक भयो भने मान्छे ठीक हुने देश हो नेपाल ।’ त्यसकारण दुई जहाज किन्दा ३ वर्ष लाग्दा पनि प्रक्रिया ठीक हुँदा राम्रो भयो भन्ने परिपाटीलाई बदल्नुपर्ने सुझाब उनी दिन्छन् । त्यस अवधिमा जहाज उडाएर कम्पनीले निकै नाफा गरिसक्ने थियो भन्ने मान्यतालाई सरोकारवालाले नबुझ्नु नै उनी विडम्बना ठान्छन् ।

मेरो संस्था, मेरो देश डुबोस् मतलब भएन, तर ऐन–नियम कानुनभन्दा एक कदम हट्दिनँ भन्ने मानसिकता रहेसम्म देश बन्दैन– उनको भनाइ छ । ९ वर्षअगाडिको प्रक्रिया सफल भएको भए आज नेवानिसँग १५ हवाईजहाज पुग्थे । त्यसैले नेतृत्वले प्रक्रिया मात्रै हेर्ने होइन, जोखिम उठाउन तयार हुनुपर्ने उनको धारणा छ ।

अब उनी आरएको उडान रफ्तारलाई अझै तीव्र बनाउने अभियानमा छन् । कार्यकारी समितिले ५ वर्षभित्र निगमका लागि अन्तर्राष्ट्रिय उडानमा जहाज संख्या १७ पु-याउने निर्णय गरेको छ । यति धेरै जहाज ल्याउँदा व्यापार गर्न नसकिने हो कि भन्ने चिन्ता राजनीतिक र उच्च सरकारी नेतृत्वले मात्रै होइन, आफ्नै कर्मचारीले समेत गर्ने गरेको अनुभव उनीसँग छ ।

अब उनी आरएको उडान रफ्तारलाई अझै तीव्र बनाउने अभियानमा छन् । कार्यकारी समितिले ५ वर्षभित्र निगमका लागि अन्तर्राष्ट्रिय उडानमा जहाज संख्या १७ पु-याउने निर्णय गरेको छ । ‘मैले यसमा सबै निर्देशकलाई सोधेको छु, आँट छ भनेर सबैले हिम्मत देखाएले यो निर्णय गरिएको हो,’ उनले भने ।

यति धेरै जहाज ल्याउँदा व्यापार गर्न नसकिने हो कि भन्ने चिन्ता राजनीतिक र उच्च सरकारी नेतृत्वले मात्रै होइन, आफ्नै कर्मचारीले समेत गर्ने गरेको अनुभव उनीसँग छ । ‘टिकट बेच्ने मान्छेलाई दिल्लीको टिकट बेच्न सजिलो र न्युयोर्कको टिकट बेच्न गाह्रो हो र ? होइन । हङकङ र सिड्नीको टिकट बेच्नुमा कुनै फरक छैन । इन्जिनियर डिपार्टमेन्टले हेर्नुपर्ने जहाज सबै गन्तव्यमा एउटै मोडलकै हुन्छ । दिल्ली जाने जहाज र अस्टेलिया जाने जहाज मर्मत गर्ने तरिका फरक हुँदैन,’ उनी भन्छन् । अझ पाइलटहरू त भन्छन्— दिल्ली या बम्बईभन्दा त लन्डन, न्ययोर्क र सिडनीमा विमान उडाउन सजिलो छ । किनकि, त्यहाँ त सबै काम प्रविधिबाट हुन्छ । त्यसैले ठूला लक्ष्य लिएर अगाडि बढ्न कुनै समस्या नरहेको उनको भनाइ छ ।

नेपाल पर्यटनको विशाल सम्भावना र निराशाजनक वास्तविकता भएको हो । विश्वका धेरै देशमा नेपालले पर्यटनको बजारीकरण गर्नै सकेको छैन । भियतनाम, कम्बोडिया, श्रीलंका, लाओसजस्ता मुलुकमा आरएको मात्रै होइन, कसैको पनि सीधा उडान सेवा छैन । म्यानमार होस् या चीन र भारतकै धेरै सहर, जहाँबाट निरन्तर नेवानिको सीधा उडानको माग छ । तर, जहाज अभावकै कारण त्यो सम्भव हुन सकेको छैन ।

कसैले उनलाई सोधेका छन्, त्यसो भए म्यानमारको कम्पनी किन नेपाल आएन त ? किनकि उनीहरूको प्राथमिकता नेपाली पर्यटक हँुदै होइनन्, उनीहरू नेपाललाई गरिब भन्छन्, उनको विश्लेषण छ । तर, हामीलाई त उनीहरू नै चाहिएको छ, त्यसकारण हामी आफँै बजार खोज्दै जाने हो । एकातर्फ सम्भावना र अर्कोतर्फ जहाज नल्याउने, गन्तव्य विस्तार नगर्ने र कर्मचारीले केही गर्न सकेनन् भन्दै गाली गर्ने परिपाटी बदल्न उनी आग्रह गर्छन् ।

नेवानिलाई जहाज किन्न सरकार जमानी बस्ने निर्णय गराउन तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले ठूलो पहल गरेको उनको बुझाइ छ । सरकारको ऋण तथा जमानत ऐनमा कुनै पनि कम्पनीले ऋण लिँदा सरकार जमानी बस्ने भन्ने व्यवस्था नै थिएन । तर, तत्कालीन अर्थमन्त्री भट्टराईले ऋण तथा जमानत ऐनमा संशोधन नै गरेर निगमलाई ऋण लिँदा सरकार जमानी बस्ने बाटोे खुलाए । त्यसैमा टेकेर अहिले निगमले ऋण लिई सहजै जहाज भित्र्याउन सकेको हो । ‘नेपाल वायुसेवा निगमलाई पनि जनकपुर चुरोट बनाउन खोज्ने प्रयास धेरै भयो । तर, अब त्यो प्रयास पनि असफल भयो ।

२८ वर्षसम्म जहाज नकिन्नु नै निगम धराशयी बनाउने खेल हो,’ उनले भने । हवाईजहाज कम्पनीले बजारमा गएर सजिलै विमान किन्न पाउनुपर्ने उनको भनाइ छ । ‘विमान ल्याउन नरोकौँ, विमान आइसकेपछि अनियमितता भएको रै’छ भने मलाई फासीमा चढाऊ, म तयार छु,’ उनी आत्मविश्वासी देखिए ।

source:nayaptrikadaily