उधारोको रङले अस्पताल टल्काउँदै ‘धुर्मुस–सुन्तली’

वीर अस्पतालको तेस्रो तल्लाको कुर्सीमा दुई महिला बात मार्दै थिए।

अस्पताल त चिटिक्क बनाउन लाग्या रैच है ?

‘अँ धुर्मुसेले गर्न लाग्या रे’ अर्की महिलाले ठट्यौली शैलीमा थपिन्, ‘पहिले यही अस्पतालको चर्पी जाँदा रिङ्गाटा छुट्थ्यो। अहिले त भान्छा भन्दा सफा छ।’

उनले यति भनेपछि त्यहाँ हाँसोको फोहोरा छुट्यो।

ति महिलाले भनेझै वीर अस्पतालको स्वरूप निकै फेरिएको थियो। त्यहाँ कोही सफाइ गदै थिए, कोही बिजुलीको तार मिलाउँदै थिए त कोही भित्तामा बुट्टा भर्दै थिए।

हामी वीर अस्पताल पुग्दा कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ अस्पतालको डाइरेक्टरसँग मिटिङमा व्यस्त थिए । करिब १५ मिनेट पर्खिएपछि सदा झै हसिलो मुहार बनाएर हात हल्लाउँदै आइपुगे।

 उनलाई हेर्दा लाग्यो सायद उनीसँग दबाबमा पनि सामान्य देखिन सक्ने खुबी छ।

धुर्मुस सुन्तली फाउण्डेशनले गत २३ गतेबाट वीर अस्पताल सफाइ अभियान सुरू गरेको हो।

सुरूमा सफाइ मात्र गर्ने उद्धेश्यले वीर अस्पताल गएका उनीहरू त्यहाँको दूरावस्था देखेर मन थाम्न सकेनन्।

‘सुरूमा हामी सरसफाइ मात्र गर्न भनेर यहाँ आयौं तर यहाँको अवस्था देखेर पुरै अस्पतालनै सफा गर्ने अठोट गर्यौं, उनले भने।

 अस्पतालमा पहिले पनि काम गर्ने मान्छे नभएको भने होइन तर धुर्मुस सुन्तली फाउण्डेशनले काम सुरू गरेदेखि त्यहाँका कर्मचारीहरू पनि चुस्त रूपमा काम गरिरहेका छन्।

फाउण्डेशनले हाल सरसफाइ, रङरोगन, बिजुली,प्लम्बिङ लगायत काम गरिरहेको छ।

यतिमात्र नभई  उनीहरूले अस्पताल आउनेहरूलाई असुविधा नहोस् भन्ने हेतुले सिस्टम डिजिटलाइज गर्दै छन्।

 पहिले १५ दिनमा सफाइको काम भ्याउने उद्धेश्यले वीर अस्पताल प्रवेश गरेका उनीहरू अहिले मेन्टेनेन्सको काममा हात हालेपछि अरु १५– २० दिन लाग्ने देखिएको छ।

‘हामीले यी सबै काम गर्ने भनेर तयारी गरेका थिएनौं। त्यसैले अरु २० दिन जति लाग्न सक्छ,’ धुर्मुसले भने।

दिउँसो वीर अस्पतालमा रङ लगाउँदा  बिरामीको चापले केही समस्या भएको कारण उनीहरूले रातभरि पनि काम गरिरहेका छन्।

‘क्लिनिङको काम राति साढे ८ देखि बिहान ४ बजेसम्म चल्छ, रङरोगन बिहान ६ बजेबाट राति १२ बजेसम्म चल्छ,’ उनले थपे।

 यो अभियानमा उनीहरूलाई खेम्स क्लिनिङ, भद्रगोल टेलिफिल्मको टोली, सिस्नोपानी नेपाल हाँस्य व्यङ्ग्य समूह, दारी ग्याङ, साया समूह, न्यानो स्पर्स लगायतले सहयोग गरिरहेका छन्।

वीर अस्पतालमा अहिले प्रत्यक्ष रूपमा सफाइको लागि खेम्स क्लिनिङको १५ जना र अस्पतालको १० जना गरेर २५ जना, रङ रोगनमा ४७ जना, इलेक्ट्रिकमा अस्पतालको ४ जाना र फाउण्डेशनको १२ जना गरी १६ जना, प्लम्बिङमा अस्पताल बाहेकका २ जना र १५–२० जना स्वयम सेवक खटिएका छन्।

 अस्पतालको सफाइ अभियानका लागि उनीहरूले २ लाख २५ हजार रुपैयाँबाट सुरू गरेको हुन्।

‘भैरहवाको सम्मान कार्यक्रममा लिलाराम कुन्तादेवी प्रतिष्ठानले २ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो र त्यही कार्यक्रममा सम्मानित सञ्चारकर्मी चेतन पन्तले २५ हजार सहयोग गर्नुभयो त्यही रकमबाट हामीले काम सुरू गरेका हौं’ उनले भने।

अस्पतालको सफाइ अभियानका लागि हालसम्म करिब ६ लाख संकलन भएको छ भने करिब १८ लाख खर्च भैसकेको छ।

‘पैसा संकलन नभइन्जेलसम्मको लागि रङ पसलहरूमा उधारो राखेका छौं। मजदूरहरूलाई पनि पुरै पैसा दिएको छैन,’ उनले भने।

काम सकिँदा सम्म करिब ५० लाख खर्च हुनसक्ने उनीहरूको प्रारम्भिक अनुमान छ।

खर्चको लागि मन्त्रालय र अस्पतालसँग पनि छलफल र समन्वयन गरिरहेको उनी बताउँछन्।

‘हामीले बस्ती बनाउँदा पनि ५ करोड जम्मा गरेर सुरू गरेका होइनौं। पवित्र काम गरेका छौं। मनलाई आनन्द मिलेको छ। १ सय २८ वर्ष लामो इतिहास भएको अस्पताललाई सम्भार गर्न पाउनु हाम्रो सौभाग्य हो,’ उनले भने, ‘हामीले पहिले गरेका कामहरूबाट सिमित वर्गले सेवा पाएका थिए तर यो कामले त ३ करोड नेपालीले महशुस गर्न सक्छन्।’

‘हाम्रो अभियानमा कसैले पैसा सहयोग गर्नुभयो, कसैले श्रम दान गर्नुभयो, उहाँहरू हाम्रो लागि भगवान हो। सहयोगीहरूले नै हामीलाई अभियन्ता बनाउनु भएको हो’ धुर्मुसले थपे।

अरु अभियानमा झै यसमा पनि सहयोग मिल्नेमा धुर्मुस विश्वस्त छन्।

उनले ठट्यौली पारामा भने, ‘अब त सहयोग माग्न पनि अप्ठेरो लागि सक्यो, केलाई मात्र माग्ने?, कहिले यो काम भन्यो?, कहिले त्यो काम भन्यो?, मागेको माग्यै छौं।’

डाक्टर दीपक मल्ल।

 उनीहरूको यो कामले बिरामीहरूमात्र होइन डाक्टरहरू समेत खुसी देखिन्छन्। धुर्मुससँग हामी बाहिर निस्कदैँ गर्दा डाक्टर दीपक मल्लले टाढैबाट भने, ‘धुर्मुस जि एकदमै राम्रो गर्नुभयो है, आजकल त अस्पतालभरि तपाईकै कुरा चलिरहेको छ।’

सरसफाइपछि काम गर्न पनि राम्रो वातावरण बनेको मल्ल बताउँछन्।

‘सरसफाइपछि वीर अस्पतालमा काम गर्न ‘होम्ली’, ‘वार्म्ली’ र ‘लब्ली’ वातावरण छ, ’ उनले भने।

सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी

source:setopati