‘प्रेसको शिरमा तरबार राख्ने कुरा स्वीकार्य छैन’

काठमाडौं : नेपाली कांग्रेसले नयाँ फौजदारी संहिताले प्रेसलाई संकुचित बनाएको भन्दै आपत्ति जनाएको छ। आइतबार सरकारको छ महिने कामको समीक्षा गर्दै कांग्रेसले आफ्नो धारणा राखेको हो।

पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेसको शिरमा तरबार राख्ने विषय कांग्रेसका लागि स्वीकार्य नहुने बताए। 

‘प्रेस स्वतन्त्रताको सन्दर्भमा कांग्रेस प्रष्ट छ। प्रेसलाई संकुचित गर्ने विषयमा हाम्रो विशेष सरोकार छ’, प्रवक्ता शर्माले भने, ‘प्रेसको शिरमाथि तरबार झुन्डाउने कुरामा हाम्रो सहमति हुँदैन। यो संशोधनका लागि पहल गरोस् हामी सहयोग गर्न तयार छौँ।’

प्रवक्ता शर्माले भदौ १ गतेबाट लागू भएको फौजदारी संहितामा रहेका व्यवस्थामध्ये प्रेस, चिकित्सक, प्रहरी संगठनका विषयमा उल्लेख भएका बुँदामाथि छलफल गरेर सुधार गर्नुपर्ने उल्लेख गरे। यस्ता विषयलाई सरोकारवालाको छलफलबाट संशोधन र सुधार गर्नुपर्नेमा उनको जोड छ।

फागुन ३ गते गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै कांग्रेसले सरकार जस्ट पास मात्र भएको निष्कर्ष निकालेको छ। 

‘संसद र सरकारमा दुई तिहाइ बहुमत भएको सरकारले जनताको अपेक्षा अनुसार उत्साहपूर्ण काम गर्नुपर्ने हो। तर, ओली नेतृत्वको सरकार जस्ट पास मात्र भएको छ’, प्रवक्ता शर्माले भने, ‘जस्ट पास जनताको अपेक्षा होइन।’

source:annapurnapost