मकर सङ्क्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुधाइँदै

माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ। ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराउन लागिएको हो। ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर गाउँपालिका–३ तारुकाको चन्दनीबारीमा २० हल गोरु जुधाउन लागिएको माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए।

गोरु जुधाई प्रतियोगिताको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ। प्रतिस्पर्धाका लागि दर्ता भएका गोरुको श्रेणीमा विभाजन गरिएको छ। विशिष्ट श्रेणीमा दुई हल, (क) श्रेणीमा १० हल र (ख) श्रेणीमा आठ हल गोरु विभाजन गरिएको छ। आयोजक संस्थाका अध्यक्ष अधिकारीका अनुसार गोरुको उचाइ, मोटाइ र क्षमताका आधारमा श्रेणी विभाजन गरिएको हो। 

नुवाकोटको बुधसिङ, तारुका, धादिङको खाल्टे, कल्लेरी र धुवाकोटका किसानले पालेका गोरु जुधाउन दर्ता गरेका छन्। प्रतिस्पर्धामा विजेता गोरुधनीलाई पाँच हजार र उपविजेतालाई तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गर्ने गोरु जुधाई संरक्षण संस्थाका सल्लाहकार एवं तार्केश्वर–२ का वडाध्यक्ष समरबहादुर आलेमगरले जानकारी दिए। “बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले यसलाई निरन्तरता दिएका हौँ” उनले भने, “गोरु जुधाईलाई २०६२ सालदेखि स्थानीयवासी युवाको पहलमा मेला र पर्वका रुपमा मनाउन थालिएको हो।” 

‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको छ। तारुकाको गोरु जुधाई जात्रा नेपालीमूलको स्पेनी ‘बुल फाइट’को रुपमा परिचित छ। गोरु जुधाई भीडन्तको अवलोकन गर्न मकरसङ्क्रान्ति पर्वको दिन भएकाले धार्मिक र सांस्कृतिक, प्रतिस्पर्धाका रुपमा खेल पर्यटनको प्रवर्द्धनमा टेवा पुग्दै आएको स्थानीयवासीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले बताए।

गोरु जुधाई मेला व्यवस्थापनका लागि माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्था गएको वर्ष जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो। चन्दनीबारीमा आयोजित गोरु जुधाई मेलास्थलमा पार्किङस्थल, स्वच्छ खानेपानी, खाना–खाजाको प्रबन्ध उचित रहेको वडाध्यक्ष आलेमगरले बताए। उनका अनुसार नेपालको पहिलो र एकमात्र गोरु जुधाई प्रतियोगितालाई संस्कृति, परम्परा र पर्यटनसँग जोडेर विश्वभर परिचित बनेकाले यसलाई थप व्यवस्थित हुँदै आएको छ। 

उनका अनुसार नेपालको पहिलो र एकमात्र गोरु जुधाई प्रतियोगितालाई संस्कृति, परम्परा र पर्यटनसँग जोडेर विश्वभर परिचित बनेकाले यसलाई थप व्यवस्थित हुँदै आएको छ। 

तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईस्थलमा पुग्न पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट चार पाङ्ग्रे सवारीसाधनलाई १० किमीको दूरी पार गरी महादेवफाँटमा आएर त्रिशूली नदीको पक्की पुल पार गरी नौ किमी कच्ची सडक पार गर्नुपर्नेछ। दुई पाङ्ग्रे सवारीसाधनलाई गल्छीबाट तारुकासम्म सात किमी पक्की सडकपश्चात् तारुकाघाटमा रहेको झोलुङ्गे पुलमार्फत त्रिशूली नदी पार गरी पाँच किमी कच्ची सडकमार्फत पुग्न सकिन्छ। आफ्नै सवारीसाधन नहुनेले गल्छी–देवीघाट सडकखण्डको सार्वजनिक यातायातमार्फत तारुकाघाटसम्मको यात्रा गरी एक घण्टाको पैदल दूरीमा पुग्नसक्ने व्यवस्था छ।