प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि उपाधि

नयाँदिल्ली — छिमेकी देश भारतको तीनदिने राजकीय भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री केपी ओलीलाई उत्तराखण्डको डा.गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । उनी शुक्रबार दिल्ली आएदेखि आइतबार बिहान उत्तराखण्ड नपुग्दासम्म ब्यस्त थिए ।

 

भारत भ्रमणको समयमा नेताहरुलाई विद्यावारिधीको उपाधि दिने चलन नै बसेको छ। नेपालमा प्रजातन्त्र आएपछिको अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिल्ली विश्वविद्यालयले त्यस्तो मानार्थ दिएर यसको थालनी गरिएको र त्यसयता प्राय: सबैजसो नेताले त्यो उपाधि पाउने गरेका छन्।
 
प्रधानमन्त्री ओलीले डा. गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालय र त्यहाँको ब्रिडर सिड प्रोडक्सन सेन्टरको अवलोकन गरेपछि उक्त सम्मान पाएका हुन। उक्त विश्व विद्यालय भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको विशेष पहलमा स्थापना भएको हो। यो विश्व विद्यालय कृषि प्रविधिमा अध्ययन र अनुसन्धानका लागि कहलिएको छ। ओली अब दिल्ली फर्केर दिल्ली विमानस्थलबाट काठमाडौ प्रस्थान गर्नेछन्।
 
भ्रमणमा आएको दिन ओलीले व्यापारी समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरे। त्यसपछि राजनीतिक दलका नेताहरुलाई भेटे। विभिन्न कार्यक्रममा सहभागी भए। कूटनीतिक समुदाय र पूर्व राजदूतहरुसँग रिसेप्सनमा छलफल गरे।
 
समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेट गरे। त्यसपछि शनिबार उनलाई भारत सरकारले 'गार्ड अफ अनर' प्रदान गर्‍यो। राष्ट्रपतिसँग भेट गरे। गृहमन्त्री, विदेशमन्त्रीले उनलाई भेटे, महात्मा गान्धीको समाधीस्थल पुगे, प्रधानमन्त्रीसँग दुईपक्षीय छलफल गरे। संयुक्त प्रेस व्रिफिङ गरे। उपराष्ट्रपति र केही नेता भेटे। त्यसपछि इन्डिया फाउन्डेशनमा लामो भाषण गर्दै नेपालको भविष्यबारेमा जानकारी गराए। सम्बन्ध सानो ठूलो होइन बराबरीको हुन्छ भन्ने सन्देश दिए।
 
SOURCE: KANTIPUR