मकालु एयरको जहाज दुर्घटनाः दुवै पाइलटको मृत्यु

सुर्खेत/काठमाडौँ — मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजका क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । शव बोकेको हेलिकोप्टर घटनास्थलबाट उडिसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिए ।

९एन एजेयु कलसाइनको जहाज बिहान ६:१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोटका लागि उडेको थियो। दुर्घटनास्थल सिमकोटदेखि १०.७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ। डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताए।

जहाज हराएको सूचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो। बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए। तर, स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो। टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो। घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ।

यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा तर्फ कर्णाली नदीको तीरमा जहाजले फोर्स ल्यान्डिङ गरेको अपुष्ट खबर विमानस्थलको उद्दार समन्वय केन्द्र (आरसीसी) मा आएको बताएका थिए।

क्षत्रीको अपुष्ट सूचनापछि बाजुराका प्रमुख जिल्ला अधिकारी कान्तिपुर संवाददातालाई चेतराज बरालले हुम्लाकोअदानचुली-५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने जानकारीगराएकाथिए।

यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो। यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए।

यो कार्गो जहाज हो। सुर्खेत हब भएको यो एयरलाइन्सले मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा चार्टर सेवा दिँदै आएको छ ।

source:kantipur