हामी एकअर्कामा मिसिएका होइनौँ, घोलिएका हौँः ओली

प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले एमाले र माओवादी केन्द्र एक अर्कामा घोलिएको बताएका छन् । राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने,‘हामी एक अर्कामा मिसिएका होइनौं, घोलिएका हौं, हिन्द महासागरमा गएर कोसीको पानी खोज्न थालियो भने कहाँ पाइन्छ ?’

उनले अब नेपालमा दुई तिहाइ कम्युनिष्टका लागि सामान्य जोडघटाउको विषय भएको दावी गरे । ‘दुई तिहाइ नेपालमा कम्युनिष्टका लागि अब सामान्य जोडघटाउको कुरा हो, आउँदो चुनाव कम्तिमा हामीले तीन चौथाई मत ल्याउँछौं’, उनले भने,‘ यस्तो भन्दा केहि मान्छेलाई ठट्टाजस्तो लाग्दो हो, ६ महिनाअघि क–कसलाई के के कुरा ठट्टा लाग्थ्यो हेक्का गर्नुस् त ।’

उनले एकतापछि व्यक्तिको क्षमता, योग्यता र सम्भावनालाई हेरेर जिम्मेवारी तोकिने बताए । ‘कुनै प्रकारको भेदभाव, पुर्वाग्रह, हिजो कुन पक्षबाट आएको थियो भनेर कसैप्रति पूर्वाग्रही व्यवहार गरिनेछैन’, उनले भने,‘समभावका साथ व्यक्तिको योग्यता, क्षमता र भोलीका सम्भावनालाई हेरेर जिम्मेवारी दिनेछौँ ।’

उनले नेपाल लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नयाँ उचाइमा प्रवेश गरेको दावी गरे । ओलीले दुई कम्युनिस्ट पार्टीको एकीकरण कसैका विरुद्ध नभएको प्रष्ट पारे । उनले तीन महिनाभित्र पार्टी मातहतका कमिटीको एकीकरण टुंगो लगाउने बताए ।

source:enayapatrika