रोजगारमूलक शिक्षामा प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं — प्रधानमन्त्री केपी ओलीले सरकारले रोजगारमूलक शिक्षामा जोड दिने बताएका छन् । कान्तिपुर हिसान शैक्षिक मेलाको उद्घाटनपछि सम्बोधन गर्दै उनले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न सरकारले नीति बनाउन लागेको जानकारी दिए ।

 

‘शिक्षा गुलाफको फूल जस्तै हुनुपर्छ,’ उनले उदाहरण दिँदै भने, ‘टिप्यो, तुरुन्तै बेच्यो, हातमा पैसा आइहाल्छ।’ देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा आवश्यक रहेको उनले औँल्याए।
 
‘सर्टिफिकेट पीडाको विषय भएको छ, काम नपाउने शिक्षा काम छैन, पढ्दा ऋण लाग्छ, जागिर खोज्दा जुत्ताको तलुवा खिइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जीवनलाई सरल र सहज बनाउने शिक्षा चाहिन्छ, देशलाई चाहिने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा हुनुपर्छ।’ कस्तो जनशक्ति आवश्यक छ भन्ने पहिल्यै सर्वेक्षण गरेर शिक्षा निती नीति बनाइने उनले बताए।
 
विद्यार्थीलाई उनीहरुको रुचि र क्षमता अनुसारको विषय पढन दिनुपर्ने उनको भनाइ थियो। ‘कुनै विद्यार्थी फेल हुँदैनन्, जुनतारा टिपुला भनेर हिम्मतमाथि असफलताको बिल्ला भिराएर बञ्चरो प्रहार गरिन्छ,’ उनले भने, ‘विद्यार्थीलाई रुचिको विषय पढ्न दिनुपर्छ।’
 
इच्छा अनुसार नेपाली युवायुवतीले अवसर पाए विश्वमा किर्तिमान कायम गर्न सक्ने ओलीले बताए। क्रिकेटर सन्दीप लामिछानेको उदाहरण दिँदै उनले भने, ‘क्रिकेटमा राम्रो गरेका सन्दिपलाई गायन वा चित्रकारितामा लगायो भने अहिले जस्तो हुनसक्छ।’ यसका लागि सरकारले सोच विचार गरेर शिक्षा नीति तय गर्ने उनको आशय थियो।
 
शिक्षामा गरिएको लगानी प्रतिफल दिने खालको हुनुपर्ने उनले प्रस्ट पारे। ‘छोराछोरीको पढाइमा लगानी गर्ने आमाबाबुको सपना पूरा गर्ने शिक्षा हुनुपर्छ। अहिलेको शिक्षा फूल फुलेको बिरुवामा असिनाले हानेजस्तो भयो,’ प्रधानमन्त्री ओलीले भने।
 
उनले सरकारीे व्यवस्थापनमा सञ्चालित शैक्षिक संस्थाहरुको गुणस्तर वृद्धि गरिने दाबी गरे। ‘सरकार शिक्षा क्षेत्रको सुधार गर्न गम्भीर छ, अब नेपालमा निरक्षर भनेको ५ वर्ष मुनिका बालबालिका मात्र हुन्छन्’, उनले भने।
 
उनले शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानको समेत प्रशंसा गरे। ‘सरकारदेखि प्रत्येक नागरिक र निजी क्षेत्रले शिक्षामा लगानी गरेका छन्’, उनले भने। कतिपय शैक्षिक संस्थाको नाममा कमाउन धन्दा चलेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे।
 
‘ढाड हेरेर ढाड भन्दा ठूलो लौराले हान्न पाउनु हुँदैन,’ निजी शैक्षिक संस्था सञ्चालकहरुलाई चेतावनी शैलीमा उनले भने, ‘ठगी र लुटमार चलेको छ, कमाउने स्पीड अलिकति कम गरे हुन्छ, नाफा नकमाउनु भनेको हैन।’
 
नागरिकहरुले उचित शिक्षा पाएमात्रै देशले काँचुली फेर्ने उनले बताए। शिक्षाले मात्रै प्रत्यके व्यक्तिको सोच र जीवनशैली परिवर्तन गर्न सम्भव रहेको उनको भनाइथियो।
source:kantipur