कृषिमा हाइटेक : माटोबिना फलफूल, तरकारी उत्पादन

सुनसरी (बसन्तटार) — कृष्ण सोताङ राई कुनै विश्व विद्यालयमा अध्ययन गरेका कृषि वैज्ञानिक होइनन् । तर, उनले मुलुकमै पहिलो पटक माटो प्रयोग नगरी हाइटेक प्रविधि अपनाएर तरकारी र फलफूलको व्यावसायिक उत्पादन परीक्षण सफलता हात पारेका छन् । 

 

 
धरान उपमहानगर–४ मा पर्ने पहाडी इलाका बसन्तटारमा उनले कृषिमा गरेको सफल परीक्षणसँगै ३६ वर्षे युवा कृषि वैज्ञानिक पनि आफैं बनेका छन् ।
 
आइतबार उनको सोताङ अर्गानिक फार्ममा स्थानीय अगुवा कृषकहरुलाई माटोबिना फलफूल तरकारी उत्पादन गर्ने आधुनिक प्रविधिबारे जानकारी गराउने क्रममा भेटिएका युवा कृषि वैज्ञानिक सोताङले उर्वर जमिनको अभाव भइरहेको बेला माटोबिना पनि फलफूल तरकारीको व्यावसायिक उत्पादन गर्न सकिने बताए । उनले भने, ‘सुन्दा अनौठो लाग्न सक्छ । तर मैले पाँच वर्षदेखि हावा, पानीमा परीक्षण गरेर उत्पादन गरेका अर्गानिक तरकारी ५० हजार रुपैयाँ बढीको बिक्री पनि गरिसकेको छु ।’
 
उनको हाइटेक डिभाइस र एप्ससहितको तरकारी फलफूलको टनेलमा हावा (एरोफोनिक), पानी (हाइड्रोफोनिक) माछापोखरी (एकोफोनिक), पाइपमा बालुवा र माटोबाट (भर्टिकल) कम पानी प्रयोग गरेर ड्रिप इरिगेसन, मल्चिङ ड्रिप प्रणाली अपनाएर सोताङले फलफूल तरकारी उत्पादन गरेको बताए । बिरुवालाई चाहिने पर्याप्त न्यूट्रिन (पोषण तत्व) पनि उनले कुनै रासायनिक तत्व प्रयोग नगरी अर्गानिक बनाउने र त्यसलाई तरल बनाएर हाल्ने गरेको बताए ।
 
उनले भने, ‘बढ्दो सहरीकरण, उर्वरभूमि प्लटिङ, बाढी पहिरो, रासायनिक मल आदिका कारणले उत्पादनमा कमी आइरहेको छ । उपभोक्ताको संख्या भने दोब्बर हुँदै बढेको अवस्थामा कम खर्च, कम श्रम र कम समय लगानी गरेर आधुनिक प्रविधि अपनाएर हावा र पानीको भरमा धेरै भन्दा धेरै फलफूल तरकारी उत्पादन गर्ने मेरो सानो प्रयास हो ।’
 
अबको नयाँ पुस्ताले कृषि क्षेत्र रोजे पनि परम्परागत शैली अपनाउने सम्भावना छैन । हिलो माटो, मलको दुर्गन्ध सहेर अबका कृषकहरु कृषि पेसा अपनाउँदैनन् । खेती गर्ने शैलीमा परिवर्तन गर्दै डिभाइस र एप्स मैत्री कृषि पेसा अबको आवश्यकता भएको सोताङले बताए । उनले भने, ‘मैले परीक्षण गरेका हावा र पानीबाट उत्पादित फलफूल तरकारीमा डिभाइस र एप्सको प्रयोग गरेको छु । कुनै पनि बिरुवालाई पानी, मल वा अरु तत्व बढी भएमा अथवा कम भएमा वा नपाएमा डिभाइसका सेन्सरमार्फत एप्सले नोटिफिकेशन दिन्छन् ।’
 
कृषकहरु मेहेनती मात्र भएर नहुने दिन आएको छ । अरु क्षेत्र वा पेसामा जस्तै कल्पनाशीलता, सिर्जनशीलताको पनि खाँचो देखिएको उनले बताए । ०५५ सालमा उनको बाबुको अंशमा परेको बसन्तटारको २५ रोपनी ढुङ्गे बारीमा तीन महिनामात्र खान पुग्ने कोदो र मकै उत्पादन हुने गरेको थियो । आर्थिक अभावबीच परिवारको जीविका चलाउन उनले तीनपटक ब्रिटिस गोर्खा र भारतीय गोर्खा सैनिकमा भर्ती हुन प्रयास गरे । तर, फेल भए । स्थानीय विद्याललयमा थोरै तलबमा पढाए पनि ।
 
वैदेशिक रोजगारीमा जान मकाउको भिसा किने । त्यसैबीच एक्लो छोरा भएकाले विवाह गरेर मात्र जानदिने बाबुआमाको अडानलाई स्वीकारेर विवाह गरे तर त्यसपछि मकाउ जाने योजना रद्द गरे । विवाहपछि बारीको ढुङ्गा केलाउँदै पानीका अभावबीच फलफूल तरकारी खेती गरेर जीविका चलाउने सपना देख्न थाले । अथक् मेहेनत, धैर्यता, कृषिप्रति रुचि र लगनशीलताले उनलाई सफलता मिल्यो । उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार पनि प्राप्त गरे ।
 
करिब पाँच सयभन्दा बढी प्रजातिका फलफूल तरकारीको परीक्षणस्थल आफ्नो फार्मलाई बनाए । उनको फार्ममा एक लाख बढीले अवलोकन गरे । माटोको प्रयोग गरेर उत्पादन गरेका उनका फलफूल तरकारी, बंगुर, गाईपालन र व्यवसायमा मात्र करोड रुपैयाँ बढीको लगानी पुर्‍याएका छन् । उनले भने, ‘जमिनमा खेती गर्दा ६० प्रतिशत लगानी र ४० प्रतिशत नाफा भयो । तर माटो प्रयोग नगरी मैले गरेका पछिल्ला परीक्षणले भन्छ, ४० प्रतिशत लगानी गरेर ६० प्रतिशत नाफा कमाउन सकिन्छ ।’
 
उनले अबको तीनदेखि पाँच वर्षभित्र आफ्नो ४२ कट्टा जमिनमा हाइटेक प्रविधि अपनाएर माटो प्रयोग गरेर उत्पादन गरेको भन्दा २० प्रतिशत बढी उत्पादन गर्ने लक्ष बनाएका छन् । उनले हाल वार्षिक ४५ लाख रुपैयाँको अर्गानिक फलफूल तरकारी बिक्री गर्दै आएका छन् । आफ्नै रुचि र शैली अपनाएर कृषिमा सफलता हासिल गरेपछि उनी हाइटेक कृषि कर्मतिर आकर्षित भएको सोताङले भने, ‘कृषिमा हाइटेक प्रविधि प्रयोग गर्न मैले कसैलाई गुरु थाप्नु परेन । मेरो गुरु गुगल इन्टर्नेट हो ।'
 
'एकदिन गुगलमा कृषिसम्बन्धी वैज्ञानिक टिप्स खोज्ने क्रममा माटोबिना पनि फलफूल तरकारी उत्पादन गर्न सकिने उपायबारे सानो म्याटर फेला पारें' उनले भने, 'त्यसलाई धरानको बसन्तटारमा पाइने श्रोतसाधन प्रयोग गर्दै आफैले ती प्रविधि बनाएँ, अपनाएँ ।’
 
आफ्नो टनेलमा हाइटेक डिभाइस र एप्स प्रयोग गरेर माटोबिना तरकारी फलफूल उत्पादनबारे जानकारी दिँदै युवा कृषि वैज्ञानिक कृष्ण सोताङ राई । तस्बिर : प्रदीप/कान्तिपुर
source:ekantipur