अनुशासित नरबहादुरलाई कतारमा ८ महिनाको सजाय माफ

काठमाडौं – कतारको जेलबाट छुटेर नेपाल फर्कने हवाई जहाज चढेको दिन झापाका नरबहादुर मगरलाई आफू पिँजडाबाट फुत्केर उडेको सुगा झैं लाग्यो । एउटा नसोचेको दुर्घटनामा जेल  परेर घर फर्केका नरबहादुर भन्नुहुन्छ 'पिजडाबाट फुत्केको सुगा र आफू उस्तै जस्तो लागेको छ’ । 

काठमाडौं अनामगरको प्रवासी नेपाली समन्वय समितिको कार्यालयमा आफूलाई छुटाउन सहयोग गर्ने मानिसलाई धन्यवाद भन्न अाउनुभएका नरबहादुरलार्इ जिन्दगीका ३८ औं वर्ष पार गर्दा अहिले जस्तो खुसी कहिल्यै लागेको थिएन । 

उहाँ कतारमा १६ महिना जेल बसेर फर्कनुभएको हो । दुई वर्षको लागि जेल सजाय सुनाइए पनि उहाँको अनुशासनका कारण ८ महिना सजाय माफी भयो ।

जेलमा छँदा प्रवासी नेपाली समन्वय समितिले नरबहादुरलाई छुटाउन पहल गरेको थियो । आफ्नो दुःखमा साथ दिनेहरुसँग जेलबाट छुट्दाको खुसी बाँड्न उहाँ समितिको कार्यालय अाइपुग्नुभएको थियो । 

‘हिजोदेखि बाहिरको हावा खान पाएर मेरो त छाती नै फुले झैं पो भएको छ,’ नरबहादुरले खुसीको पोको फुकाउनुभयो । उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘जेलमा त दिनहुँ एउटै मानिस, एउटै व्यवहार, एउटै खानेकुरा, बाहिर आएपछि मलाई त हावा नै पो अर्कै लाग्यो ।’ 

मुस्कुराउँदै जेलबाट छुट्दाका खुसी बाँड्दै गरेका नरबहादुरका १६ महिने जेल बसाइको अनुभव भने निकै तीतो छ । 

सोच्दै नसोचेको दुर्घटना

सन् २०१६ को मे महिनामा कतार पुग्दा नरबहादुरको सोचाइ अर्कै थियो । साउदीमा छ वर्ष गाडी चलाएर कतार गएकाले उहाँ राम्रो कमाइ हुनेमा ढुक्क हुनुहुन्थ्यो । नभन्दै काम र कमाइ पनि उहाँले भनेजस्तै नै थियो कतारमा ।

ड्राइभरको काम । ओभरटाइम गरेर महिनाको १९ सय रियालसम्म आउथ्यो तलब । ड्राइभिङ लाइसेन्स पनि लिइसक्नुभएको थियो । छ महिना भएको थियो लाइसेन्स लिएर गाडी चलाउन थालेको । 

सधैं झैं नरबहादुर गाडीमा पाइप बोकेर कम्पनी जानुभयो । इन्जिनियरले नरबहादुरलाई गाडीको बेल्ट खोल्न भने । इन्जिनियरले भनेको नमान्ने कुरै भएन । नरबहादुरले आज्ञाकारी भएर बेल्ट खोल्नुभयो ।

‘बेल्ट खोलेको मात्र के थिएँ, उताबाट मान्छे मर्‍यो, मान्छे मर्‍यो भन्दै अरु साथीहरु आए, म त छक्क परेँ, गाडी नजिकै मान्छे रहेछ, पाइपले मान्छेलाई किचिसकेको रहेछ,’ नरबहादुरले त्यो क्षण सम्झनुभयो ।

इन्जिनियरको निर्देशनमा गाडीको बेल्ट खोल्दा पाइपले थिचेर फिलिपिनो नागरिकको ज्यान गयो । ‘मैले त बेल्ट खोल्दा मान्छे देखिन, म्यानेजरले मान्छे थिच्यो, गाडी उता सार भने, त्यसपछि मात्रै देखें, त्यतिबेलै प्रहरीले लग्यो नि मलाई त ।’

१४ मार्च २०१७

दुर्घटना भएको तीन महिनापछि १४ मार्च २०१७ मा नरबहादुरले कल्पनै नगरेको फैसला अदालतले गर्यो । तीन महिनासम्म दुर्घटनाको मुद्धा चलिरहँदा नबहादुर जेलबाट छुट्नेमा ढुक्क हुनुहुन्थ्यो ।

किनकी, उहाँले इन्जिनियरको निर्देशनमा गाडीको बेल्ट खोल्नुभएको थियो । नरबहादुर भन्दा पनि कम्पनीमा सेफ्टी बिना इन्जिनियरले बेल्ट खोल्न लगाउनु नै गल्ती थियो । कम्पनीको म्यानेजरले पनि उहाँलाई यस्तै आश्वासन दिएका थिए ।

कम्पनीको नियम अनुसार सेफ्टीको निर्देशन बिना बेल्ट खोल्न पाईदैन । अनि इन्जिनियले पनि कामदारलाई निर्देशन दिन पाईंदैन । तर इन्जिनियरले बेल्ट खोल्न निर्देशन दिँदा भएको दुर्घटनामा नरबहादुरले सजायँ भोग्नुपर्यो । 

तीन महिनापछि १४ मार्च २०१७ मा नबुझिने भाषामा बोलिरहेका कतारी अदालतका न्यायाधीशको बोलीलाई अनुवादकले जस्ताको तस्तै हिन्दी भाषामा सुनाए, ‘धारा .. अुनसार, दुई वर्षको जेल सजायँ सुनाइएको छ ।’

सुन्नेबित्तिकै नरबहादुर छाँगाबाट खसेजस्तो हुनुभयो । उहाँको दिमागमा घरपरिवार र बालबच्चाको तस्वीर झल्कियो  । आफ्नै कारणले कसैको ज्यान गएको थियो भनेर पत्याउन पनि उहाँलाई गाह्रो भइरहेको थियो । अदालतको आदेश स्वीर्कानु बाहेक अर्को विकल्प त थिएन । तर खै किन उहाँको मनले आफूबाट यत्रो गल्ती भयो भनेर पत्याउनै मानिरहेको थिएन । 

सेन्ट्रल जेल, ब्लक नम्बर १२  

अदालतको फैसलालगत्तै नरबहादुर कतारी सेन्ट्रल जेलमा थुनिनुभयो । कतारमा कमाएर कति थोक गरौंला, घर व्यवहार सपारौंला भन्ने एकथान सपना पनि जेलको ब्लक नम्बर १२ मा उहाँसँगै थुनिए । 

‘जेल पर्दा त संसारकै ठूलो अपराध गरेछु जस्तो लाग्यो, म त थुनिएँ अब परिवारलाई के हुने हो भन्ने मात्र लागिरह्यो, परिवार मात्र सम्झिएँ,’ नरबहादुर भावुक हुनुभयो ।

ब्लक नम्बर १२ को एउटा कोठामा दिनरात बिताउनुपर्दा नरबहादुर पिँजडा भित्रको सुगालाई सम्झिनुहुन्थ्यो । ‘सुगाले पनि मैले जस्तै अनुभव गर्थो होला जस्तो लाग्ने, हरेक दिन एउटै, हरेक रात एउटै, कसरी बिताएँ होला,’ सम्झँदा पनि उहाँलाई अत्यास लाग्छ । 

जेलमा बिताएका १६ महिना नरबहादुरका लागि जिन्दगीकै ठूलो परीक्षा थियो । आफू जेल परेपछि घरपरिवारको अवस्था कस्तो होला ? मनको कल्पनाले परिवारको अवस्था कसरी नियाल्ने । अर्कातिर आफैले दिनहुँ भोगिरहेको जिन्दगी । 

हरेक दिन एउटै मान्छेसँगको भेट । एउटै वातावरण, उस्तै होहल्ला । नरबहादुरलाई ताजा सास लिन कहिले पाइएला जस्तो मात्र लाग्थ्यो । ‘जेल बाहिरको हावा लिन पाए हुन्थ्यो जस्तो लाग्ने, कहाँबाट पाउनु, त्यो एसी र नुनिलो पानीले म त गलिसकेको थिएँ,’ नरबहादुरले सम्झनुभयो ।

जेलमा हुने गतिविधि र कैदीहरुका क्रियाकलाप भने निकै अनोठौ लाग्यो नरबहादुरलाई । जेलमा त निकै कष्ट हुन्छ होला भन्ने लाग्थ्यो, उहाँलाई । तर सुनेको जेल र भोगेको जेल भने निकै फरक पाउनुभयो । 

‘जेल भनेर के गर्नु, चुरोट, ड्रग्स जे पनि पाइने, जेलमा त नबिग्रिएको मान्छे पनि बिग्रने रहेछ, पुलिसकै सेटिङ हुने,’ नरबहादुरले सुनाउनुभयो । प्रहरीकै सुरक्षाबीच पनि जेलभित्र रहेका धनी कैदीहरुले मोवाइल फोन भित्र पुर्‍याउँथे । त्यही मोवाइलबाट उहाँले पनि बेलाबेलामा घरमा फोन गर्नुहुन्थ्यो । 

‘पैसा हुनेले कार्ड किनेर फोन गर्थे, नहुनेले धनी कैदीहरुको भातको थाल समाइदिने, उनीहरुको काम गरिदिने गरेर फोन गरिन्थ्यो,’ नरबहादुरले नरमाइलो माने झैं गरी जेलका अनुभव सम्झिनुभयो । 

जेलकाे राम्राे पक्ष

जेलमा कैदी बिरामी पर्दा उपचार छिट्टै हुन्थ्यो । राम्रा राम्रा डाक्टर हुन्थे उपचार गर्ने । ‘थोरै केही भएपनि उपचार पाइने, जेलमा पनि त्यस्तो होला भनेर त मलाई लाग्दैन थियो,’ कतारी जेलको सबैभन्दा मन परेको कुरा यही हो नरबहादुरलाई । 

खानेपानीका कारण केही कैदी दिनहुँजसो बिरामी पर्थे । ‘फिल्टर त हुने, तर त्यो सफा नगरिदिने, त्यो भाँडो साह्रै फोहोर हुन्थ्यो, पैसा हुनेले त किनेर खान्थे, हामी जस्ताले त पिउने त्यही पानी हो,’ कतारको जेलको पानी अहिले सम्झँदा पनि उहाँले मुख बिगार्नुभयो ।

जेलको नुनिलो पानी पिउँदा उहाँकै आँखाअघि धेरैजना बिरामी परे । मृगौलाको समस्या हुने हो कि भनेर नरबहादुरलाई पनि निकै डर लाग्थ्यो ।

त्यो बाहेक उहाँलाई जेलमा अरु केही कुरा पनि मन परेन । अनेकथरीका मानिस भोग्न पर्‍यो उहाँले । ‘कुस्ती खेल्ने, काटाकाट गर्ने नि त्यहाँ त, झगडा नगरौं भन्दा पनि बाध्य बनाउनेहरु हुने, म त धन्न जोगिएँ,’ नरबहादुरले सम्झनुभयो । 

कसैले कुट्ने हुन् कि, नराम्रो पो हुने हो कि भनेर नरबहादुरलाई खुब डर लाग्थ्यो । तर जेलमा बस्दा उहाँलाई त्यस्तो केही भएन ।

अनुशासनले सजाय माफ भयो

जेलमा रहँदा नरबहादुरले कहिल्यै कोहीसँग झगडा गर्नुभएन । जेलले कैदीका लागि लागू गरेको नियम पालना गर्नुभयो । कहिल्यै झैझगडा नगर्ने नरबहादुरलाई आफ्नो त्यही बानीले ८ महिनाको सजायँ माफी भयो भन्ने लाग्छ ।

सन् २०१८ को रमदानमा कतार सरकारले सामान्य अपराधमा जेल परेका कैदीलाई माफी दियो । त्यो माफी पाउनेमा नरबहादुर पनि पर्नुभयो । ‘म त बसिरहेको थिएँ, एकदिन पुलिसले तँलाई सरकारले माफी दियो, हिँड भनेर ब्लक १२ बाट अन्तै सार्‍यो,’ माफी पाएको कुरा गर्न थालेपछि नरबहादुरको अनुहार उज्यालो भयो ।

 ‘सजाय माफी भयो भनेको दिनदेखि मलाई त खाना पनि रुचेको छैन, त्यस्तो खुसीको अनुभव त अहिलेसम्म भएकै छैन,’ नरबहादुरले भन्नुभयो । सजायँ माफी भएको १० दिनमा उहाँ स्वदेश फर्किन पाउनुभयो । कतारको विमानस्थलसम्म प्रहरीले नै ल्याइदिए । 

कम्पनीले पासपोर्ट ल्याइदिएको थियो । टिकट कसले काटिदियो उहाँलाई थाहा छैन् । तर ८ महिनाको सजाय माफी दिने कतार सरकालाई उहाँको मुस्कानले पनि धन्यवाद भनिरहेको थियो ।

एक्कासी देख्दा बहिनी छक्क परिन्

असार ३ गते त्रिभुवन विमानस्थलमा विमानबाट ओर्लंदा नरबहादुरलाई पुनर्जन्म पाए झैं लाग्यो । साउदीबाट झोलाभरी खुसी लिएर ओर्लंदा उहाँलाई त्यस्तो खुसी लागेको थिएन, जति खुसी योपाली रित्तो हात फर्किदा लागेको थियो । कतार जानुभन्दा अघि उहाँले ६ वर्ष साउदीमा गाडी नै चलाउनुभएकाे थियाे ।

‘मलाई त विमानस्थलको चिसो हावाले छुँदा कहाँ पुगेजस्तो लाग्यो, जेलको एसीले सुकेको फोक्सो पनि फुले झैं पो भएको थियो’ नरबहादुरले खुसी व्यक्त गर्नुभयो ।

उताबाट विमान चढ्दा कसैलाई खबर गर्न नपाएकाले परिवारका सदस्य कसैलाई पनि थाहा थिएन, नरबहादुर फर्किएको । सरासर भाइको कोठामा पुग्नुभयो ।

‘बहिनी रहिछ्, बहिनी बहिनी भनेर बोलाएँ, अचानक के भयो भनेजसरी हेरे उनीहरुले, छक्क परे नि एक्कासी मलाई देख्दा त,’ अघिल्लो दिन बिहानको बहिनीको अनुहार सम्झिएर हाँस्दै नरबहादुरले भन्नुभयो  ‘कहाँबाट आएको भने, मैले नि एअरपोर्टबाट भने नि.. हाहाहा ।’ 

बहिनीले नै नरबहादुर फर्किएको खबर घरमा गरिन् । बहिनीकै मोवाइलबाट घरमा कुरा गर्दै नरबहादुरले भोलिपल्टको साँझ गाडी चढ्ने बताउनुभयो । आफूलाई सहयोग गर्नेहरुलाई भेटेर घर जान भन्दै अनामनगर आइपुगेका नरबहादुरले आफ्नो दुःखसुखका अनुभव मात्रै बाँड्नुभएन ।

१६ महिना जेल बस्दाको सिकाई, विदेशमा गाडी चलाउने र गाडी चलाउने काममा विदेश जान लागेकाहरुका लागि सुझाव पनि दिनुभएको छ । उहाँलाई जुन काम जुन देशमा रहेर गरेपनि देश र काम अनुसारको नियम पालना गर्नुपर्छ भन्ने लाग्छ । 

‘विदेशमा लाइसेन्स बिना गाडी चलाउन हुँदैन र त्यहाँको नियम पनि उल्लंघन गर्नुहुँदैन, के थाहा मैले पनि गलत तरिकाले गाडी चलाएको भए जन्मकैदको सजाय पो पाउँथे कि,’ उहाँले आफ्नो उदाहरण दिँदै विदेशमा गाडी चलाउनेहरुलाई सुझाव दिनुभयो । 

विदेशमा कमाएर पूरा गरौंला भनेर साँचेका सपना नरबहादुरले विदेशी भूमीको जेलमा थुनेर फर्किनुभएको छ । अब उहाँलाई विदेशमा भन्दा पनि देशमै केही गर्ने मन छ । र, केही योजना पनि बुन्नुभएको छ । उहाँले आफ्ना योजना त सुनाउनुभएन । तर मुस्कुराउँदै भन्नुभयो, ‘अब गाउँघरमै केही गर्छु ।’

source:ujyaaloonline