अनुमतिबिना काम गर्ने ११ उत्तर कोरियाली पक्राउ

काठमाडौँ — तीन महिनाको भिजिट भिसामा विदेश जाने र अवैध रुपमा काम गरेर फर्केर आउने नेपालीको बारेमा त धेरै सुनिएको हो । त्यस्तै अभ्यास नेपालमा पनि भइरहेको होला भन्नेचाहिँ झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ।

तर, शुक्रबार राति महानगरीय अपराध अनुसन्धान विभागले दरबारमार्गमा रहेको प्योङयोङ आरेऱ्याङ रेस्टुरेन्टमा छापा मारी ११ उत्तर कोरियाली पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।
 
अवैध रुपमा काम गरेका ११ जना उत्तर कोरियालीलाई पक्राउ गरिएको महाशाखाका एसएसपी धीरजप्रताप शाहले बताए । उनले अनुसन्धान भइरहेको र विस्तृत जानकारी आउनै बाँकी रहेको बताए । शुक्रबार राति महाशाखाको टोली रेस्टुरेन्टमा पुग्दा ग्राहकहरु थिएनन् भने कामदारका रुपमा रहेका महिलाहरु प्रहरीको टोली देखेर लुक्न खोजेका थिए । ईन्स्पेक्टर नेतृत्वको टोलीले मागेको श्रम अनुमतिको कागज देखाउन नसकेपछि प्रहरीले उनीहरुलाई पक्रेको थियो ।
 
श्रम अनुमति नलिई पर्यटकको भेषमा नेपाल आएर काम गर्ने उत्तर कोरियाली पक्राउ परेको यो दुर्लभ घटना हो । श्रम विभागबाट अनुमति नलिइकन नेपालमा कामदार बन्न पाइँदैन । नेपालमा सीपयुक्त कामदार नभएमा मात्रै विदेशी कामदार ल्याउन सकिने विभागको प्रावधान छ ।
source:kantipur