गोरेको बयान : एकदिनमा ८६ किलोसम्म सुन ल्यायौं

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले बाहिर आएजस्तो आफू ठूलो सुन तस्कर नभएको बताएका छन्।

मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेले छानबिन समितिलाई दिएको बयानमा आफूले तस्करीको सुन व्यवस्थापन गर्ने र क्यारिङ गर्नेमात्र गरेको बताएको समिति स्रोतले जानकारी दियो।

बयानमा गोरेले भनेका छन्, ‘मेरा बारेमात्र धेरै कुरा आए। मभन्दा माथि काम गर्ने अरु पनि छन्। उनीहरुको बारेमा पनि खोल्नु पर्छ।’

फागुन पहिलो साता अनामनगरबाट लुटिएको ३३ किलो सुन मोहन अग्रवालकै रहेको गोरेले समितिलाई बताएका छन्।

‘फागुन ९ गते विमानस्थल हुदै आएको ३३ किलो सुन मोहनकै हो, त्यो सुन ठाउँमा पुर्या‍उने जिम्मा मेरा केटाहरूको थियो, सेटिङ मैले गरिदिएको हो, सुन लुटियो त्यसमा भुजुङ गुरुङ समूहको हात छ, मलाई सिध्याउन सुन लुटिएको हो,’ समितिसँगको बयानमा गोरेले भनेका छन।

उनले एकैदिनमा ८६ किलोसम्म सुन विमानस्थलबाट बाहिर ल्याएको पनि बताएका छन्।

‘मलाई मुख्य मान्छे भनिएको छ, म नै ठूलो मान्छे होइन, अदालतमा मुद्दा दायर भएका ६३ जनामा केही जनासँग मिलेर काम गर्ने गरिन्थ्यो, एकै दिनमा ८६ किलोसम्म सुन ल्याएका थियौं,’ गोरेले बयानमा भनेका छन्।

उनले भुजुङ गुरुङसँग पछिल्लो समयमा नराम्रो हुदै गएको पनि बताएका छन्।

‘भुजुङ र उनको सालो छिरिङले मलाई फसाउन खोजेका थिए, त्यही सिलसिलामा ३३ किलो सुन लुटिएको हो। सुन लुटेर दोष मेरो थाप्लोमा हाल्ने काम उनैले गरेका हुन् ,’ गोरेले भनेका छन्।

गोरेले आफूसँग मिलेर काम गर्ने केही व्यक्तिको बारे पनि समितिलाई सुचना समेत दिएका छन्। तीमध्ये केही उच्च प्रहरी अधिकारी पनि छन्।
समितिका संयोजक ईश्वरराज पौडेलले गोरेले दिएको सूचनाका आधारमा पक्राउ पर्न बाँकीलाई कानुनी दायरामा ल्याइने बताए।

source:setopati

आत्मसमर्पण गर्न चाहेका थिए ‘गोरे’ले (चिठीसहित)

३३ किलो सुन तस्करीका मुख्य योजनाकार तथा सनम हत्याकाण्डका मुख्य अभियुक्त चुँडामणि उप्रेती (गोरे) ले आत्मसमर्पण गर्न चाहेको रहस्य खुलेको छ ।

उनले गत बिहीबार (३ जेठमा) मानव अधिकार संगठनका महासचिव केपी सुवेदीलाई पत्र लेखी आत्मसमर्पणका लागि वातावरण बनाइदिन अाग्रह गरेकाे पत्र नयाँ पत्रिकालार्इ प्राप्त भएकाे छ ।

३३ किलो सुन प्रकरणमा आफूलाई मात्र आरोप लगार्इ विभिन्न व्यक्तिले ज्यान मार्नेसम्मको घटना गराइरहेको भन्दै गाेरेले सुवेदीलार्इ लेखेकाे पत्रमा आफ्ना कुरा न्यायालयमा राख्न वा आफूसँग भएका सबै प्रमाण अदालत वा छानविन समितिमा पेश गर्न पाउने वातावरण चाहेकाे उल्लेख गरेका छन् ।

‘हाल नेपालमा चर्चामा रहेकाे ३३ किलाे सुन प्रकरणमा मलार्इ मात्र दाेषी देखार्इ विभिन्न पक्ष व्यक्तिहरूले मेराे ज्यान लिनेसम्मकाे घटना घटार्इ अनुसन्धानमा रहेकाे विषयमा अाफ्ना कुरा राख्नसमेत बञ्चित गराउने र दाेषजति सबै मेराे थाप्लाेमा राख्ने देखिएकाेले म अाफ्नाे राय राख्न तथा मसँग भएका प्रमाणहरू सम्बन्धित अदालत वा छानविन समितिसमक्ष राख्न चाहन्छु,’ पत्रमा उनले लेखेका छन् ।

गाेरेले यस सम्बन्धमा आफूसँग भएका विषय राख्ने वातावरण राख्न सुरक्षित रूपमा न्यायालय पुग्ने व्यवस्था मिलाइदिनसमेत मानव अधिकार संगठनलाई अनुरोध गरेकाे देखिन्छ ।

गाेरेले जीवन रक्षाका लागि अात्मसमर्पण गर्न चाहेकाे देखिन्छ । उनले लेखेका छन्,  ‘यसबीचमा यसै घटनासँग सम्बन्धित हुन सक्ने तीनजनाकाेसमेत हत्या वा मृत्यु भइसकेकाे समेत थाहा पाएकाे हुँदा मेराे पनि जीवन खतरापूर्ण रहेकाे देखिन्छ ।’

गोरेलाई अाज बिहान पक्राउ गरी अनुसन्धान टोलीले दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेकाे छ ।

source:enayapatrika