विराटनगर जेलबाट ल्याइएका 'गोरे' गोलघरमा थुनिए

काठमाडौँ: ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डमा मुछिएका मोरङको उर्लाबारीका चुडामणि उप्रेती गोरेलाई केन्द्रीय कारागारमा चलान गरिएको छ । 

मोरङस्थित जिल्ला कारागारबाट ल्याइएका उनलाई सुन्धारास्थित केन्द्रीय कारागारको गोलघर चलान गरिएको हो । 

गोरेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन तथा सुरक्षाको पूर्ण बन्दोबस्तका लागि बिराटनगरबाट काठमाडौँ तानिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत् थप कारबाही अघि बढाउन काठमाडौँ झिकाइएका गोरेलाई विशेष सुरक्षा दिनका लागि गोलघरमा राखिएको हो । 

सुन तस्करी र सनम हत्याकाण्डमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि गोरेलाई मोरङ कारागारमा चलान गरिएको थियो । गृहमन्त्रालयको निर्देशनमा गोरेलाई बिराटनगरबाट राजधानी झिकाएर गोलघरमा थुनिएको हो । 

गोलघरमा रहेको एउटा कोठामा गोरेलाई राखिनेछ। कारागारभित्रको पनि कारगार मानिने गोलघरमा विशेष सुरक्षा र अन्य कैदीबन्दीको सम्पर्कभन्दा बाहिर हुने गर्छ।

गोलघरबारे कानुन के भन्छ ? 

सुन्धारास्थित केन्द्रीय कारागारसहित हाल नेपालभर ७६ वटा कारागार छन् । जसमा धेरैजसो जिल्लामा र केही क्षेत्रीय कारागार पनि छन् । यीमध्ये ७३ वटा सामान्य कारागार छन् भने २ वटालाई बालसुधार गृहकारुपमा प्रयोग गरिएको छ । 

कारागार व्यवस्थापन कार्यविधि-२०७३ मा सरकारले गोलघरमा राख्ने गरी तोकिएका बन्दीलाई निश्चित समयसम्म घाम नर्छिने गोलघरमा राखिन्छ। गोरेलाई पनि उनीमाथि लागेको गम्भीर अभियोग र उनको सुरक्षाका लागि गोलघरमा राखिएको हो । 

कारागार तोडेर भागेपछि पक्राउ परेकालाई पनि कानुनी व्यवस्था अनुसार कारागार प्रशासनले गोलघरमा थुन्ने गरेको छ । 

 

कारागार व्यवस्था एेन अनुसार सुरुङ खनेर भाग्न खोज्ने कैदीलाई १ वर्ष ३ महिना गोलघरमा राखिन्छ । त्यसैगरी पर्खाल नाघेर भाग्न खोज्ने कैदीलाई ६ महिना गोलघरमा राखिन्छ । त्यस्तै जेल भित्र कैदीहरुले गुट बनाएर हुलदंगा गर्न खोजेको अवस्थामा या चोरी गरेको पाइएमा निश्चित समय गोलघरमा राखिने व्यवस्था कारागार व्यवस्थापन कार्यविधिले गरेको छ । 

अन्य दुई पनि काठमाडौँमा 

गोरेसँगै सोमबार झुम्का कारागारबाट पनि सुन तस्करी तथा सनम हत्याकाण्डमा जोडिएका अन्य दुईलाई पनि काठमाडौँ ल्याइएको छ । गोरेसँगै ल्याइएका भुजुङ गुरुङ र डेबिट उपनामका छिरिङ वाङ्गेल घले (गुरुङ) लाई पनि बेग्ला बेग्लै राखिने भएको छ । 

source:annapurna