निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निजी लगानीमा!

अर्थमन्त्री डा युवराज खतिवडाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निजी लगानी आकर्षित गर्ने बारे छलफल अघि बढेको जानकारी दिएका छन्। विशेषगरी ठुला आयोजनामा सकेसम्म निजी लगानी हुनुपर्छ भनेर लागिपरेका खतिवडाले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निजी लगानीको मोडालिटीमा छलफल सुरु भएको जानकारी दिएका छन्।

प्रतिनिधि सभाको अर्थसमितिमा बोल्दै खतिवडाले ठुला आयोजनालाई सरकारले प्राथमिकता दिएको र त्यसमा निजी क्षेत्र आउन सक्ने क्षेत्रमा बाटो ढोका खुल्ला गरिएको र सरकारले सामाजिक तथा अन्य क्षेत्रमा लगानी बढाउन चाहेको प्रष्ट पारेका छन्।

विदेशी सहायता र ऋणमा बन्ने आयोजना पनि सरकारकै दायित्वमा पर्ने भएकोले त्यसरी हुने लगानी भन्दा पनि विमानस्थल, जलविद्युत जस्ता आयोजनामा सकेसम्म निजी लगानी नै उपयुक्त हुने उनको धारणा छ।

काठमाडौं तराई द्रुत मार्ग सरकार आफैले बनाउने र त्यसमा ऋण तथा सहायताको रुपमा दातृ निकाय दिन तयार भएको तर अब बन्नने अरु ठुला परियोजनामा निजी लगानीको सम्भावनाको बारेमा निरन्तर छलफलमा रहेको उनको भनाइ छ। पश्मि सेतीमा चिनियाँ लगानीकर्ता पछिल्लो समय फेरि बनाउछु भनेर आएको उनले जानकारी दिए।

‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सरकार अफैले बनाइरहेको छ अब पनि यस्ता व्यावसायिक योजना जहाँ निजी क्षेत्रको लगानी सहजै आउनसक्छ त्यहाँ हामीले लगानी गर्ने हो भने सामाजि क्षेत्रमा गर्ने लगानी अपुग हुनसक्छ त्यसैले अबको निजगढ विमानस्थल बनाउन निजी लगानीमा बनाउन सकिन्छ कि भनेर हामीले पर्यटन मन्त्रालयसँग छलफल अघि बढाएका छौं’ उनले समितिमा बोल्दै भने।

अघिल्लो पटक केपी ओली नेतृत्वको सरकारले निजगढ आफैले बनाउने निर्णय गरेको थियो। त्यतिबेला उक्त आयोजना १ खर्ब २२ अर्बमा बन्ने अनुमान गरिएको थियो। वातावरणीय परिक्षण प्रतिवेदन स्वीकृत भएको उक्त आयोजना निर्माणस्थलमा रुख काट्ने आदेश स्वीकृत हुन बाँकी रहेको छ।

यो वर्ष उक्त आयोजनाको रुख काट्न, मुआव्जा वितरण गर्न भन्दै १ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

source:setopati