विश्व मानवतावादी पुरस्कारबाट आचार्य सम्मानित

हेल्प फर डेस्पेरेट एन्ड निडी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) का संस्थापक देवी आचार्य सम्मानित भएका छन् । आचार्य अमेरिकाकाे टेक्सस राज्यले प्रदान गर्ने ग्लोबल हयूमानिटेरिएन अवार्ड, २०१७ बाट सम्मानित भएका हुन् । अमेरिकामा मात्र नभई नेपालमा समेत मानवीय सेवा गरेकाले उनलाई उक्त सम्मान प्रदान गरेकाे जनाइएको छ ।

एचडीएनपी इन्टरनेशनल अमेरिकाको टेक्सस राज्यको ड्यालसमा नेपाली द्वारा संचालित संस्था हो । यो संस्थाले टेक्ससको ड्यालस वरपर रहेका असहाय, गरिब तथा घरबारविहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउँदै आएको छ । नेपालमा समेत यसले विभिन्न सहयोगहरु गर्दै आएको छ । विशेष गरेर नेपालको पशुपतिनाथमा घरवारविहीन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई आचार्य नेतृत्वको संस्थाले सहयोग प्रदान गर्दै आइरहेको छ ।

टेक्ससका गभर्नरले विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा पहिलोपटक नेपालीलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।आचार्यले सम्मानले थप उत्प्रेरणा मिलेको प्रतिक्रिया दिँदै घरबारविहीनहरुको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।