नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा नोटिस

नेपाल प्रहरीले पूर्व प्रहरी नायव महानिरिक्षक (डीआईजी) तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाललाई नेपालमा फेला पार्न नसकेपछि अन्तराष्ट्रिय प्रहरीहरुको संगठन (इन्टरपोल) गुहारेको छ । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि अब सिलवाललाई एक सय ९२ देशका प्रहरीले निगरानीमा राख्ने छन् ।

सरकारी कागजात कीर्ते गरेको आरोपमा सिलवालमाथि काठमाडौं प्रहरीले छानविन अगाडी बढाएको छ । उनी काठमाडौं प्रहरीमा बयान दिन नगएपछि प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई पत्राचार गरी खोजीका लागि निर्देशन दिएको थियो । उच्च स्रोतका अनुसार सिलवाल नभेटिएपछि प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।