अनसनरत गंगामायाको 'न्यायको अवसान' सार्वजनिक

काठमाडौं : शुक्रबार दिउँसो झरिलो मौसममा प्रज्ञा भवनमा नागरिक समाजका अगुवा, मानवअधिकार तथा न्यायलयमा लामो समयदेखि काम गरिरहेका व्यक्तिहरूमा सन्नाटा थियो। चिन्तित मुद्रामा देखिन्थे उनीहरू। कार्यक्रम थियो, लामो समयदेखि न्यायको खोजीमा वीर अस्पतालमा अनसन बसिरहेकी गंगामाया अधिकारीको आत्मकथा 'न्यायको अवसान' सार्वजनिकीकरण। उक्त पुस्तक शुक्रबार वीर अस्पतालको शैयाबाट उनै गगांमाया अधिकारीले विमोचन गरिन्। आफू न्यायका लागि लडेको र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा आफ्नो पक्षमा उभिइदिन अनुरोध गर्दै विमोचनपछि उनले सानो मन्तव्य पनि दिन भ्याइन्। आजको पुस्ताले मात्र होइन, भावी पुस्ताले समेत आफूले जस्तै न्याय नपाएर संघर्ष गर्नुपर्ने बाध्यता बन्द हुनुपर्ने मागसमेत उनले गरिन्। विगत लामो समयदेखि आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा सलंग्न व्यक्तिमाथि कारवाहीको माग राख्दै आएका अधिकारी दम्पतीमध्ये उनका श्रीमान नन्दप्रसाद अधिकारीको मृत्यु भइसकेको छ। तर आफन्तले दोषीलाइ कारवाही नभएसम्म उनको शव नबुझ्ने भनेर बसिरहेका छन्। यसै बीच उनै गंगामायाको आत्मकथा बजारमा आएको छ। पत्रकार तथा लेखक घनश्याम खड्काद्वारा लिखित उक्त पुस्तक युद्धको कथा नभई दण्डहीनताको कथा रहेको बताइएको छ। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले यो कुनै राजनीतिक विषय नभई लोकतान्त्रिक मुलुकमा न्यायको माग मात्र भएको बताए। जबसम्म न्यायको पाउ डग्मगाउँछ, तबसम्म लोकतन्त्रको टेक्ने धरातल नरहने बताउँदै उनले शोषित पीडितको पक्षमा आयोग सदैव रहने प्रतिवद्धता जनाए।राज्यलाई गंगामायाको मागप्रति गम्भीर हुनसमेत उनले आग्रह गरे। एउटा साधारण र सुखी परिवार कसरी कुरूप हुन्छ र न्यायका लागि कतिसम्म हण्डर र ठक्कर खानुपर्ने रहेछ भन्ने अवस्थाको तथ्य र सत्य यस पुस्तकमा रहेको लेखक तथा पत्रकार घनश्याम खड्काले बताए। उनले राज्यसँग गरेको माग नेपालको प्रचलित कानुनसम्मत रहेकाले आफ्नो छोरालाई जसरी मारियो, उसैगरी दोषीलाई मार्नुपर्छ भन्ने नभएको तर दोषीलाई कारवाही गर्नुपर्ने माग रहेको बताए। पुस्तक कुनै एक गंगामायाको मात्र नभई द्वन्द्वकालमा राज्य र तत्कालीन युद्धरत पक्षबाट पीडित वर्गको सामूहिक दस्तावेज रहेको पत्रकार तथा नागरिक समाजका अगुवा कनकमणि दीक्षितले बताए। ग‌गामायाको यो लडाइँ सरकारसँग मात्र नभई न्यायको पक्षमा मौन बस्ने समाज, व्यक्ति र सम्बन्धित सबै निकायसँग रहेको भन्दै उनले सुशील कोइरालाको पालामा न्याय खोज्दै अनसन बसेका नन्दप्रसाद अधिकारीको मृत्यु भएको र केपी ओलीको सरकारमा गंगामायाको मृत्यु हुन नदिन सरकारसँग जोडदार मागसमेत गरे। समृद्धि लोकतान्त्रिक मूल्य मान्यताबेगर कुनै पनि हालतमा सम्भव नहुने कानुनविद् नीलाम्बर आचार्यले बताए। गंगामाया बचाअौँ अभियान न्यायको बचाउ अभियान रहेको उनले स्पष्ट पारे। लामो समयदेखि न्यायको पक्षमा नेपाल लड्दै आएको र उनले पनि न्याय पाउनुपर्ने भन्दै जहाँ दण्डहीनता हुन्छ, जबसम्म अन्यायविरुद्ध समाज र राज्य मौन रहन्छ, तबसम्म लोकतान्त्रिक देशको अभ्यास फगत कागजमा सीमित रहने उनले स्पस्ट पारे।

source:thahakhabar