अफरोडका लागि बनेका टिप्पर मध्यशहरमा हुइँकिदा

८ असारमा भक्तपुरको सानोठिमीमा टिप्परले स्कूटरलाई ठक्कर दिंदा सिन्धुपाल्चोकका चेतबहादुर थापा (४८) को मृत्यु भयो । भोलिपल्टै भक्तपुर कमलविनायकमा स्कूटर चालक राकेश खाइजू (४२) को पनि टिप्परको ठक्करबाट ज्यान गयो ।  त्यसअघि ३० जेठमा काठमाडौंको कोटेश्वरमा स्कूटरमा पछाडि बसेकी अस्मिता भण्डारी (२४) को मृत्युको कारण पनि टिप्परको ठक्कर थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जेठदेखि असारको तेस्रो सातासम्म टिप्पर दुर्घटनाबाट मात्रै काठमाडौं उपत्यकामा १० जनाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेमा अधिकांश मोटरसाइकलस्कूटर चालक र पैदलयात्री छन् ।

महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ को ११ महीनामा मुलुकभर भएका पाँच हजार ७५१ वटा सवारी दुर्घटनामध्ये एक हजार ४१५ दुर्घटना ट्रक तथा टिप्परका कारण भएका छन् । टिप्पर मात्रैका कारण ज्यान गुमाउने १६८ जना छन् ।

अपरिपक्व चालक, तीव्र गति
विभिन्न मुलुकमा सडक अनुसार कुन गतिमा सवारी हाँक्ने भन्ने मापदण्ड तोकिएको हुन्छ । शहरी पूर्वाधार तथा यातायात सम्बन्धी डेनमार्कको न्यूज पोर्टल सिटील्याब का अनुसार बेलायत, अष्ट्रेलिया, डेनमार्कका शहरी क्षेत्रमा ‘हेभी भेइकल’ को गति ४० देखि ५० किलोमिटर प्रतिघण्टा तोकिएको छ ।

राजमार्ग र बस्ती नभएका क्षेत्रमा भने ८० देखि १०० सम्मको गति निर्धारण गरिएको छ । तर हामीकहाँ सवारी साधनको गति निर्धारण मात्रै हैन, तीव्र गतिमा कुदाउनेलाई कारबाही गर्ने र गति मापन गर्ने स्रोत–साधन नै छैन ।

हामीकहाँ टिप्पर मात्रै होइन, खाली बाटो देख्नेबित्तिकै सबै सवारी साधन इन्जिनको क्षमताले भ्याएसम्म हाँकेको देखिन्छ । पूर्व ट्राफिक प्रहरी प्रमुख विज्ञानराज शर्मा तीव्र गति नै दुर्घटनाको प्रमुख कारण भएको बताउँछन् । “अनुभव नभएका चालक र मर्मतसम्भार नगरिएका गाडीका कारण पनि दुर्घटना बढेको छ”, उनी भन्छन् ।

‘हेभी गाडी’ भए पनि शक्तिशाली हाइड्रोलिक इन्जिन, तुरुन्तै गति लिनसक्ने क्षमता आदिका कारण टिप्परमा युवाहरूको आकर्षण छ । यस्तो गाडी अपरिपक्व चालकको हातमा पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै हुने सडक तथा सवारी साधनका जानकारहरू बताउँछन् ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथूका अनुसार नेपालमा अधिकांश टिप्परका चालक २२ देखि ३० वर्ष उमेर समूहका छन् । “दुई–चार वर्ष गाडी चलाएपछि विदेशिने चलन छ” उनी भन्छन्, “अर्कोतिर थोरै तलबभत्तामा काम लगाउन पाइने हुँदा यहाँका गाडी मालिकहरू अल्लारेलाई गाडीको साँचो जिम्मा लगाइदिन्छन् ।”

टिप्पर लगायत अन्य यातायातका साधनमा रहेको सिण्डिकेटको कारण दुर्घटना गराउने चालकलाई कारबाही गर्न सजिलो छैन । पूर्व एआईजी शर्मा भन्छन्, “दुर्घटना गराउने चालकलाई छुटाउन मात्रै होइन, सानोतिनो गल्तीमा समातिएको लाइसेन्स लिन समेत चालक नभएर समिति आउँछ ।” 

भूकम्पपछिको पुनर्निर्माणसँगै पूर्वाधार निर्माणका गतिविधि बढेपछि अचेल शहर–बजार, पहाड, तराई सबैतिर टिप्पर छ्यापछ्याप्ती देखिन्छन्, सँगै दुर्घटना पनि बढेको छ । हाछेथूका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक करीब आठ हजार टिप्पर गुड्छन् ।

राजमार्ग र बस्ती
वरिष्ठ इन्जिनियर कमलराज पाण्डे सडक निर्माणमा सुरक्षालाई बेवास्ता गर्दा दुर्घटना बढेको बताउँछन् । “राज्यले बाटो बनाउने र कर उठाउने मात्रै काम गर्‍यो” उनी भन्छन्, “अनुपयुक्त सडक संरचना र प्रभावकारी अनुगमन नहुँदा दुर्घटना बढ्दै गएको हो ।”

पछिल्लो पटक मुस्ताङमा भएको टिप्पर दुर्घटनाको उदाहरण दिंदै उनी भन्छन्, “मालवाहक टिप्परमा मजदूर बोक्नै मिल्दैन, बोकियो, तर सुरक्षा अपनाइएन ।” २२ असारमा मुस्ताङको स्याङ्बोचेमा टिप्पर दुर्घटना हुँदा २० मजदूरको ज्यान गएको थियो ।

कालीगण्डकी करिडोरमा काम गरिरहेका उनीहरू खाना खाएर बालुवा बोकेको टिप्पर चढी कार्यस्थलतर्फ जाँदै थिए । धेरै मुलुकमा खाली ट्रक, टिप्परले मजदूर बोके पनि सुरक्षा हेल्मेट लगाउनुपर्ने अनिवार्य व्यवस्था रहेको पाण्डे बताउँछन् ।

सडक पूर्वाधार, ट्राफिक चिह्नको अभाव र अप्ठ्यारो भौगोलिक अवस्थाबीच तालमेल नमिल्नुले पनि दुर्घटना जोखिम बढेको छ । शहरको भीडभाड, नियमको बेवास्ता र राजमार्ग वरपरका बाक्लो बस्ती पनि दुर्घटनाका कारण हुन् ।

पछिल्लो समय राजधानी काठमाडौंसँगै मुलुकभरका अधिकांश शहरमा सडक विस्तारको लहर चलेको छ । “तर, शहरी सडक जतिसुकै फराकिलो र चिल्लो बनाए पनि राजमार्गको कोटिमा राख्नुहुँदैन” इन्जिनियर पाण्डे भन्छन् ।

मान्छे, साइकल, दुईपाङ्ग्रेदेखि ठेलागाडा र जनावर समेत सँगसँगै हिंड्ने हाम्रा शहरी सडकका मोडमा ओभरटेक नगर्ने, निश्चित गतिमा गाडी चलाउने, लेन अनुशासन कायम गर्ने गरेमा दुर्घटना कम हुने उनको भनाइ छ ।

मानवशास्त्री सुरेश ढकाल नेपालमा सडक सुरक्षाबारे आवश्यक बहस र छलफल हुन नसकेको बताउँछन् । स्कूलदेखि नै सडक सुरक्षाका पाठ पढाइनु आवश्यक रहेको बताउने उनी सडक सुरक्षा बारे स्थानीय र प्रदेश सरकारलाई समेत गम्भीर हुन सुझव दिन्छन् ।

लण्डनमा गुडिरहेको शहरी सडक अनुकूलको टिप्पर । तस्वीर: सीटील्याव डट कम

शहरका लागि बेग्लै
हाम्रा गाउँ–शहरमा ६७०० सीसी इन्जिन र ३१ टनसम्म भारवहन क्षमता भएका टिप्पर गुडिरहेका छन् । एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) नभएका, ठूलो पांग्रा भएका, ६ सिलिण्डर सहित हाइड्रोलिक इन्जिनयुक्त यस्ता टिप्परहरू शहरी बाटोमा गुडाउन प्राविधिक रूपले उपयुक्त छैनन् ।

‘ग्राउण्ड क्लियरेन्स’ बढी भएका कारण टिप्परका चालकले दायाँबायाँ वा अगाडि करीब दुई मीटरसम्म सतहमा केही नदेख्ने पूर्व ट्राफिक प्रहरी प्रमुख शर्मा बताउँछन् । उनी भन्छन्, “टिप्पर चालकले नजिकको दृश्य नदेख्ने तथा मोटरसाइकल, स्कूटरले जथाभावी ओभरटेक गर्ने प्रवृत्तिले पनि जोखिम बढाएको छ ।”

भारी सवारी साधन सम्बन्धी अष्ट्रेलियाका विशेषज्ञ रोबर्ट जेजी स्मेड्लीको ‘इन्टरनेशनल जर्नल अफ हेभी भेइकल’ मा प्रकाशित लेख अनुसार शहरी सडकका लागि बनाइएका टिप्परमा यूरो–६ इन्जिन, चालकले दायाँबायाँ र टायरसम्म सजिलै देख्न सक्ने ढोका, चारैतिरको दृश्य देख्न सकिने ‘३६० डिग्री क्यामेरा’, आकस्मिक ब्रेक प्रणाली, अगाडि र पछाडि रहेका गाडीको दूरी थाहा हुने सेन्सर लगायत विशेषता हुनुपर्छ । तर, हाम्रा शहरमा गुडिरहेका टिप्परमा यस्तो विशेषता त परको कुरा राम्रोसँग मर्मतसम्भार पनि गरिएका हुँदैनन् ।

स्वीडेनको हेभी गाडी निर्माता कम्पनी ‘स्क्यानिया’ ले सन् २०१६ देखि उत्पादन थालेको माथि उल्लिखित विशेषतायुक्त १२ चक्के टिप्पर शहरमा गुड्न थालेसँगै टिप्परकै कारण हुने दुर्घटनामा चार प्रतिशतले कमी आएको tradetrucks.com.au ले उल्लेख गरेको छ । अमेरिकाको फ्लोरिडा, न्यूयोर्क, जर्मनीको बर्लिन, अष्ट्रेलियाको सिड्नी, मेलबर्न लगायत विकसित देशका प्रमुख शहरहरूमा रातको १० देखि बिहान ५ बजेसम्म मात्रै टिप्पर गुडाउन पाइन्छ  ।

खानी, विद्युत् आयोजना लगायतका पूर्वाधार निर्माणस्थलसम्म पुग्ने अफरोडका लागि बनाइएका टिप्परहरू हामीकहाँ भने भित्री शहरमा गुडिरहेका छन् ।

त्यसोभए दुर्घटनाको प्रमुख कारण बनेको टिप्पर शहरमा चलाउन किन दिइयो ? यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल ऐन/कानूनकै अभावमा प्रतिबन्ध लगाउन नसकिएको बताउँछन् । उनी भन्छन्, “कुन सवारी कहाँ चलाउने भन्ने निश्चित मापदण्ड नै छैन ।”
---------------------------------------------------------------------


उपत्यकामा राति मात्रै
टिप्परका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले २७ असारमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसो टिप्पर चलाउन प्रतिबन्ध लगाएको छ ।

गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार उपत्यकामा राति ८ बजेपछि मात्रै टिप्पर चल्न पाउने भनिए पनि बिहान कति बजेसम्म भन्ने तोकिएको छैन ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख हाछेथू राति चल्ने गाडीको अनुगमनका लागि आवश्यक मात्रामा सीसी क्यामेरा, ट्राफिक चिह्न र पूर्वाधारको अभाव कायमै रहेकाले यी टिप्परको अनुगमन गर्न सहज नहुने बताउँछन् ।

source:himalkhabar