उपत्यकामा चार नयाँ सहरको अध्ययन अन्तिम चरणमा

काठमाडाैँ उपत्यका विकास प्राधिकरणले चारवटा नयाँ सहर निर्माण गर्न अध्ययनलाई तीव्र बनाएको छ । ती चार सहरमध्ये दुईवटाको नक्सा अध्ययनको काम अन्तिम चरणमा छ भने दुईवटा सहरको स्थलगत अध्ययन भइरहेको छ । काठमाडाैँ, भक्तपुर, ललितपुरलाई समेट्ने गरी ल्यान्ड पुलिङ प्रणालीमा प्राधिकरणले नयाँ सहर निर्माणको कार्य अगाडि बढाएको हो ।

प्राधिकरणले काठमाडाैँ र भक्तपुर जिल्लालाई समेटर काठमाडौं इशान (पूर्व–उत्तर), भक्तपुर जिल्लामा काठमाडौं आग्नेय (पूर्व–दक्षिण), ललितपुर जिल्लामा काठमाडाैँ नैऋत्य (दक्षिण–पश्चिम) र काठमाडौं जिल्लामा काठमाडाैँ उत्तर नयाँ सहर विस्तार गर्न लागेको हो । उक्त सहरमध्ये भक्तपुर जिल्लाको काठमाडाैँ आग्नेय (पूर्व–दक्षिण) सहरको अध्ययन सकेर नापीको पनि ८० प्रतिशत काम सकिएको प्राधिकरणका सहरी योजनाकार भागवतभक्त खोकालीले बताए ।

उनका अनुसार ललितपुर जिल्लाको काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) सहरको नक्सा अध्ययनको काम पनि ७० प्रतिशत सकिएको छ । त्यस्तै, काठमाडाैँ र भक्तपुर जिल्लालाई समेटर काठमाडांै इशान (पूर्व–उत्तर) सहरको स्थलगत अध्ययनको कार्य भै रहेको उनले बताए ।

अध्ययनका लागि १८ करोड विनियोजन
सरकारले नयाँ सहरको निर्माण पूर्वअध्ययनका लागि १८ करोड रुपैयाँ विनियोजन गरेको छ । चार नयाँ सहरमध्ये काठमाडांै इशान (ठूलो सहर) अध्ययनका लागि १५ महिना र अन्य सहर अध्ययन गर्न चार महिना तोकिएको छ । सहरको स्थलगत अध्ययनको कार्य गत चैतदेखि सुरु भएको हो । काठमाडौं इशान सहर विस्तारको जिम्मा फिनल्यान्डको हेलिको एन्ड अर्किटेक्स र नेपालको जेके एसोसिएट्सले लिएको छ । त्यस्तै, ललितपुर र भक्तपुर जिल्लामा विस्तार हुन लागेको सहरको परामर्शदाताको रूपमा इआरएमसी, नेस्ट र एडा भन्ने नेपाली परामर्शदाता नियुक्त भएका छन् । काठमाडाैँ  जिल्लामा विस्तार हुन लागेको काठमाडाैँ उत्तर सहरको परामर्शदाता भने नेपाली कम्पनी फुल ब्राइड र टिएएफसी कम्पनी हुन् ।

प्रारम्भिक चरणमा परामर्शदाताले सहरहरूको अध्ययनको कार्य सकेपछि नक्सा अध्ययनको काम हुनेछ । नक्सा अध्ययनपछि मालपोत कार्यालय र स्थलगत रूपमा नक्सा भिडाइन्छ । तत्पश्चात परामर्शदाताले प्राधिकरणलाई नयाँ गुरुयोजना प्रस्तुत गर्नेछन् । विकसित र पूर्वाधारसहितको सहर निर्माण गर्न प्राधिकरणले नयाँ सहर विस्तारको काम अगाडि सारेको हो ।

काठमाडाैँ  इशान (पूर्व–उत्तर)
प्राधिकरणले निर्माण गर्न लागेका चार सहरमध्ये काठमाडौं इशान सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको सहर हो । करिब १ लाख रोपनी क्षेत्रफल रहने यो सहर पूर्वमा भक्तपुरको नगरकोट जाने सडक तेलकोट, भञ्ज्याङसम्म फैलिएको छ । पश्चिममा जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटोसम्म छ । उत्तरमा साँखु बजार र साँखु जाने मुलसडक र दक्षिण भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान – खरिपाटी, देकोबिमा इतापाके जग्गा एकीकरण आयोजना सिन्टिटार जग्गा एकीकरण आयोजना र दिव्यश्वर जग्गा एकीकरण आयोजनाबाहेकको क्षेत्रहरू मात्र) सम्म ओगटेको छ ।

काठमाडौं आग्नेय (पूर्व–दक्षिण)
काठमाडाैँ आग्नेय (पूर्व–दक्षिण) काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लामा विस्तार गरिनेछ । १० हजार रोपनीमा रहेको यो सहर कटुन्जे, गुन्डु, दधिकोट, सिरुटार, बालकोट क्षेत्रमा फैलिएको छ । पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिरअगाडि सूर्यविनायक वनलाई बाहिर पार्दै फेदको बाटोसम्म पुगेको छ । पश्चिममा खहरे खोला–बालकोट–विरुवासडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमानासम्म फैलनेछ । उत्तरमा अरनिको राजमार्गको सिमाना र दक्षिणमा भक्तपुरमा जिल्लाको सिलामगाल, रानीकोट जंगल छेउ अनन्तलिंगेश्वर फेदी, तर्खाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म यो सहर फैलिएको छ ।

काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम)
काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) ललितपुर जिल्लामा विस्तार गर्न लागिएको नयाँ सहर हो । यस सहरको क्षेत्रफल १० हजार रोपनी रहेको छ जुन साबिक खोकना (१,२,३,४,५,६,७,८) र बुङमती (१ नम्बर वडाको भैँसेपाटी छम्पी जाने मुख्यबाटोबाट बस्तीतर्फ मात्र र १,२,३,४,५,६ को सबै) सबै गाविसका जग्गाहरू समेटेको छ । यो सहर पूर्वमा छ्यासीकोटदेखि साबिकको सैँबुको गाविसको सिमाना हुँदै फर्सिडोल, बागमती नदीको झोलुंगे पुलसम्म पुगेको छ । पश्चिममा बागमती नदी सिमानासम्म फैलिएको छ । उत्तरमा साबिक सैबु गाविसको सिमाना र दक्षिणमा बागमती नदीसम्म फैलिएको छ ।

काठमाडाैँको उत्तर
काठमाडाैँ जिल्लामा हरित सहरको रूपमा विस्तार गर्न लागिएको काठमाडाैँको उत्तर सहर १० हजार रोपनीमा फैलिएको छ । यो सहरले पूर्वमा सामाकोसी–टोखा–रोड हुँदै बाइपासलाई समेट्नेछ । पश्चिम काभ्रेस्थली बाइबास जाने मूल सडक, उत्तर सपना तीर्थ मालुंग हुँदै काभेस्थली र दक्षिण ग्रिनल्यान्ड चोकदेखि मनोरथ हुँदै, महादेव खोला काभ्रेस्थलीको मुलसडक पुलसम्म फैलनेछ ।

 
source:nayapatrikadaily