सिकारु ट्याक्सी नदीमा खस्दा आमा छोरा बेपत्ता

म्याग्दी — सदरमुकाम बेनीमा ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दी खोलामा खसेर आमा छोरा बेपत्ता भएका छन् । दुर्घटनामा परि मंगला गाउँपालिका–२ घर भइ पर्वतको जलजला गाउँपालिका–२ बगरफाँट बस्ने २५ वर्षीया शोभा अधिकारी र उनका ८ वर्षीय छोरा सागर खाती बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

शुक्रबार विहान १० बजेर ५० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय पछाडिपट्टीको मैदानमा चलाउन सिक्ने क्रममा शोभाले चलाएको ट्याक्सी म्याग्दी नदीमा खसेको हो।
 
सवारी चालक प्रशिक्षण केन्द्र न्यू बेनी ड्राइभिङ इस्टिच्युटबाट ड्राइभिङ प्रशिक्षक बिना नै छोरालाई साथमा राखेर ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दी खोलामा खसेर दुर्घटना भएको हो। बेपत्ता अधिकारी आमा–छोराको पर्वत प्रहरीको समेत सहयोगमा खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए।
 
‘ड्राइभिङ इस्टिच्युटले प्रशिक्षक नराखी सिकारुलाई ट्याक्सी चलाउन दिएको र सिक्न थालेको १५ दिनमा नै बच्चालाई साथमा राखेर सिक्न खोज्दा दुर्घटना भएको देखिन्छ।’ बुढाले भने, ‘ड्राइभिङ्ग इन्सिच्यूटका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं।’
source:kantipurdaily