दीपक मनाङगेसहित चार सय जना राप्रपामा प्रवेश

काठमाडौं : चर्चित डन दीपक मनाङगेसहित चार सय जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । बिहीबार राप्रपाका अध्यक्ष कमल थापाले मनाङगेसहित चार सय युवालाई खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन्। राप्रपाका सह प्रवक्ता मोहन श्रेष्ठका अनुसार नयाँ बजारको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले मनाङगेसहितका युवालाई स्वागत गरेका हुन्।

राप्रपाका केन्द्रीय सदस्य भुजुङ गुरुङले भने, ‘मनाङ क्षेत्रका चार सय ६० बढी युवा राप्रपामा प्रवेश गरेका छन् ।’

मनाङगे राजधानीको ठमेल क्षेत्रमा गुण्डागर्दीमा सक्रिय भएको भन्दै गतवर्ष महानगरीय परिसर काठमाडौंले उनीमाथि कारबाही चलाएको थियो । प्रहरीले संगठित अपराधमा संलग्न भएको भन्दै पुर्पक्षका लागि कारागार पठाए पनि उनी महिना दिनमै छुटेका थिए ।

बिहीबार मात्र राप्रपा प्रवेश गरेका मनाङगेविरुद्ध विशेष अदालतमा समेत मुद्दा चलिरहेको छ । अपराधिक गतिविधि सञ्चालन गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्धा छ ।

यस अघि दीपक कांग्रेसको राजनीतिमा सक्रिय थिए । नेपाली कांग्रेसको युवा संगठन तरुण दलको जिल्ला अध्यक्ष समेत भएका मनाङगे त्यसअघि भने पशुपति शम्शेर राणाको सहयोगीका रुपमा राप्रपामै सक्रिय थिए ।

राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकतापछि बनेको राप्रपामा मनाङगे पुन प्रवेश गरेका हुन् । मनाङगे सँगै कलाकार डिबी गुरुङ, राजीव गुरुङसँगै एमाले, कांग्रेस र माओवादीका कार्यकर्ता राप्रपामा प्रवेश गरेको केन्द्रीय सदस्य गुरुङले जानकारी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष थापाले यथास्थितिमा संविधान संशोधनको विधेयकलाई समर्थन गर्न नसकिने बताएका छन् । थापाले करिब ७० लाख युवामध्ये ५० लाख बिदेसिएकोमा चिन्ता व्यक्त गर्दै विकासका योजना ल्याएर स्वदेशमै युवालाई रोजगारी दिनुपर्ने बताए ।

सोही कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारले मुलुकमा शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । अर्का नेता डा प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक अस्थिरता र अन्योलताले विकास निर्माणका काम हुन नसकेकोमा दुःख व्यक्त गरे ।