सरकार र डा.केसी पक्षबीचको वार्ता सहमति नजिक

काठमाडौँ — सरकार र अनशनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ । सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा जारी वार्ता निष्कर्ष उन्मुख रहेको वार्तामा सहभागी एक सदस्यले बताएका छन् ।

 

उनका अनुसार अहिले केही प्राविधिक विषयमा छलफल जारी छ।बिहीबार नै सहमति बनेमा २७ औं दिनदेखि जारी डा.केसीको अनशन तोडिने छ।
 
बुधबारको वार्तामा सरकारी पक्षले छलकपट गरेको भन्दै केसी पक्षका वार्ताकारहरुले वार्ता छाडेका थिए। उनीहरुले बिज्ञप्ति जारी गरेर सरकार संवेदनहीन बनेकोसमेत आरोप लगाएका थिए।
 
डा. केसीको अनशन २७ औं दिनमा निरन्तर रहेको छ। सरकारी वार्ता टोलीमा संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराललगायत तीन जना छन् भने डा. केसी पक्षका संयोजक डा. अभिषेक सिंह, डा. जीवन क्षेत्रीलगायत पाँच जना वार्तामा संलग्न छन्।
source:kantipurdaily